पहिरोमा फसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर पुन र वडा नम्बर १ दोवाका ४१ वर्षीय ललित पुन आइतबार करिब १२ घण्टा पहिरोको बीचमा फसे।
चार दिनदेखिको लगातारको झरीपछि आइतबार बिहानैदेखि प्रेमबहादुरको घर वरपर निरन्तर पहिरो खसेर घेरिएको थियो। दिउँसो ३ बजेपछि नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीले उद्धार गरेर बेनी ल्याएपछि पुनद्वयले आफूहरूले नयाँ जीवन पाएको अनुभव सुनाए।
“मेरो घर डाँडामा छ, दुईतिर खोल्सा छन्। दायाँ र बायाँ पहिरो खसिरह्यो। तल र माथि भिर भएकाले अन्य जाने बाटो भएन। अब यत्तिकै त होला नि हाम्रो जीवन भन्ने त्रासमा बसिरह्यौं,” प्रेमले भने, “फोन गरे पनि कतै लाग्दैनथ्यो। छट्पटीमै १२ घण्टा बित्यो। दिउँसो पानी बन्द भयो, आकाश पनि खुल्यो र त्यसपछि हेलिकप्टर आउन थालेपछि बाँच्ने आश पलायो। उद्धार भएपछि नयाँ जीवन पाएको महसुस गरेका छौं।”
घरमा एक्लै बस्ने प्रेमबहादुरकहाँ दोवाका ललित खोपारा लेकको भेडागोठबाट घर फर्कने क्रममा बास बसेका थिए। “गोठबाट चार महिनापछि घर फर्कंदै थिएँ। रात परेर पाहुना बसेकै ठाउँ पहिरोले घेरिएपछि घरपरिवार र आफन्तलाई भेट्न नपाइने भयो भनेर चिन्तित बनेको थिएँ,” ललितले भने, “दिनभरि छट्पटीमै बित्यो। तर दिउँसो उद्धार गरेर बेनी ल्याएपछि कतिबेला परिवारलाई भेटौं भन्ने लागेको छ। घरमा फोन पनि लाग्दैन, जाने बाटो पनि नभएकाले बेनीमै बसेको छु।’
हेलिकप्टरबाट उद्धार गरेर बेनी ल्याइएका पुनद्वयले जिल्ला प्रशासन कार्यालयमा पुगेर जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायलाई धन्यवाद दिए। मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा काम गर्ने प्रेमले नेपाली सेनाको घारखोलामा रहेको पोस्टका कमान्डरलाई फोन गरेर आफूहरू पहिरोमा फसेको जानकारी गराएका कारण उद्धारमा सहज भएको बताए।
पछिल्लो झरी र आइतबारको पहिरोले अन्नपूर्ण गाउँपालिका–५ का गिवाङ, पाउद्वार, घिरवाङ, धोस्केखोर र किन्दु गाउँलाई प्राकृतिक नाकाबन्दीमा पारेको छ। पहिरोले सडक र पैदलमार्ग बगाएपछि कोही गोठमा त कोही गाउँमै थुनिएका थिए। आइतबार पाउद्वार र गिवाङबाट ७८ जनालाई हेलिकप्टरबाट उद्धार गरेर शिख, घार र बेनी ल्याइएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए।
सोमबार पनि पहिरोमा फसेकाहरूको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ। अन्नपूर्ण गाउँपालिका–७ औलाका डिलप्रसाद फगामीका अनुसार बस्तीमाथिबाट निरन्तर पहिरो खसिरहेकाले स्थानीयवासीले घर छाडेर स्वास्थ्य चौकीको भवन र पाखाका गोठमा आश्रय लिएका छन्। करिब एक सय घरपरिवार रहेको औलाका बासिन्दा उद्धारको प्रतीक्षामा रहेको उनले बताए।
जिल्लामा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ पुगेको छ भने तीन जना सम्पर्कविहीन छन्। अन्नपूर्ण गाउँपालिकामा चार र मालिका गाउँपालिकामा दुई जनाको शव भेटिएको छ। म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार बेनी नगरपालिकामा एक र अन्नपूर्ण गाउँपालिकामा दुई जना सम्पर्कविहीन छन्।
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्र भएकाले विद्युत्, सञ्चार र सडक अवरुद्ध हुँदा घटनास्थलबाट जानकारी प्राप्त गर्न, सुरक्षाकर्मी पुग्न तथा उद्धार र बेपत्ताको खोजी गर्न ढिलाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए।
चार दिनदेखिको लगातारको झरीका कारण आएको बाढीपहिरोले म्याग्दीमा विद्युत्, सडक र सञ्चार सुविधा अवरुद्ध बनेका छन्। बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–पाखापानी र बेनी–बागलुङ सडक अवरुद्ध भएका छन्।
