१२ वर्षको उमेरमै आफ्नै स्मार्टफोन हुने बालबालिकामा स्मार्टफोन नहुने आफ्ना दौँतरीहरूको तुलनामा ‘इटिङ डिसअर्डर’ (खानपान सम्बन्धी समस्या)का लक्षणहरू विकास हुने सम्भावना बढी हुने एक नयाँ अध्ययनले देखाएको छ ।
अध्ययनका प्रमुख लेखक डा.जेसन नागाटा भन्छन्, ‘स्मार्टफोनले युवाहरूको खल्तीमै बाहिरी आवरणमा केन्द्रित सामग्रीहरूको संसार राखिदिन सक्छ, जसले उनीहरूलाई अस्वस्थ खानपानको बानी विकास गराउने तस्वीर र सन्देशहरूको सिकार बनाउँछ ।’
लेखक डा.नागाटाका अनुसार स्मार्टफोन दिनु भनेको एउटा डिभाइस दिनु मात्र होइन भन्ने कुरामा अभिभावकहरू सचेत हुनु महत्त्वपूर्ण छ । यसले डिजिटल संसारका विभिन्न सामग्रीसम्म बच्चाको पहुँचलाई परिवर्तन गर्न सक्छ ।’
मेडिकल जर्नल ‘जामा नेटवर्क ओपन’मा शुक्रबार प्रकाशित यो अनुसन्धान अमेरिकाभरका करिब नौ हजार किशोरकिशोरीहरूमा गरिएको विस्तृत सर्वेक्षणमा आधारित छ । आफ्नो बच्चालाई फोन दिने वा नदिने भन्ने कुरा मात्र नभई, कुन उमेरमा दिने भन्ने कुराले पनि ठूलो अर्थ राख्ने डा.नागाटाको भनाइ छ ।
फोन बोक्ने साना बालबालिकालाई समस्या हुन सक्छ
स्क्रिन र सामाजिक सञ्जालमा समय बिताउँदा बालबालिकामा डिप्रेसन, आत्मसम्मानको कमी र लागुऔषध तथा मद्यपानको प्रयोगजस्ता धेरै नकारात्मक असरहरू देखा पर्न सक्छन् । डा.नागाटाको प्रयोगशालाले गरेको विगतको अनुसन्धानले स्क्रिन टाइम र ‘बिन्ज इटिङ’ (अत्यधिक खाने बानी) बिचको सम्बन्ध पत्ता लगाएको थियो ।
युनिभर्सिटी अफ क्यालिफोर्निया, सान फ्रान्सिस्कोका बालरोगका सह–प्राध्यापक समेत रहेका नागाटाका अनुसार, यसअघिका धेरैजसो अध्ययनले युवाहरूले आफ्नो डिभाइसमा कति समय बिताउँछन् भन्ने कुरा मात्र हेरेका थिए ।
यस नयाँ अनुसन्धानमा भने बालबालिकाले कुन उमेरदेखि फोन चलाउन थाल्छन् र त्यसरी चलाउँदा भविष्यमा खानपान सम्बन्धी समस्या (डिसअर्डर्ड इटिङ)को विकासमा कस्तो असर पर्न सक्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्न उनी चाहन्थे ।
अनुसन्धानको अनुमान अनुसार, विश्वभरका करिब २२ प्रतिशत बालबालिका र किशोरकिशोरीमा खानपान सम्बन्धी समस्याको लक्षण देखिन्छ । सामान्य खानपान सम्बन्धी समस्या र गम्भीर प्रकारको ‘इटिङ डिसअर्डर’बीचको मुख्य भिन्नता भनेकै यसको गम्भीरता र कुनै व्यक्तिले रोग निदानको मापदण्ड पूरा गर्छ वा गर्दैन भन्ने कुरामा भर पर्छ ।
यी दुवै अवस्थामा खाना र तौलप्रति अत्यधिक ध्यान दिने, शरीरको आकार र बनोटबारे गलत धारणा राख्ने, खाना कम खाने वा क्यालोरी सन्तुलन गर्न बान्ता गर्ने वा धेरै व्यायाम गर्ने जस्ता व्यवहार समावेश हुन सक्छन् ।
अमेरिकी बालबालिकाको मस्तिष्क विकास र स्वास्थ्यसम्बन्धी ठूलो तथा दीर्घकालीन अध्ययन ‘एडोलेसेन्ट ब्रेन कग्निटिभ डेभलपमेन्ट स्टडी’बाट संकलित तथ्यांक प्रयोग गर्दै नागाटा र उनको टोलीले १२ वर्षका ७० प्रतिशत बालबालिकासँग आफ्नै फोन भएको पत्ता लगायो ।
तीमध्ये २४ प्रतिशतमा १४ वर्षको उमेर पुग्दासम्म कम्तीमा एउटा इटिङ डिसअर्डरको लक्षण देखिएको थियो । यसको तुलनामा, १२ वर्षको उमेरमा स्मार्टफोन नहुने किशोरकिशोरीमध्ये दुई वर्षपछि १६ प्रतिशतभन्दा कममा मात्र यस्तो समस्या देखिएको थियो ।
अभिभावकले कसरी मद्दत गर्न सक्छन् ?
यो उमेर शारीरिक र भावनात्मक रूपमा विकासको अत्यन्त महत्त्वपूर्ण समय हो । नागाटाका अनुसार, किशोरावस्थाको सुरुवाती चरणमा शरीर र यसको बनावटमा ठूला परिवर्तनहरू आउँछन्, त्यसैले बालबालिकाले एकअर्कासँग आफ्नो तुलना गर्नु स्वाभाविक हो ।
स्मार्टफोन र सामाजिक सञ्जाल हुनुअघि यस्ता तुलना मुख्यतया आफ्ना दौँतरीहरूबिच मात्र हुन्थ्यो । नी भन्छन्, ‘तर जब तपाईं मिलाइएका, सम्पादन गरिएका र फिल्टर गरिएका तस्बिर राख्ने इन्फ्लुएन्सरहरूसँग आफ्नो तुलना गर्न थाल्नुहुन्छ, त्यसले आफ्नो शरीरप्रतिको असन्तुष्टि र कम आत्मसम्मान बढाउन सक्छ । र, यो नै इटिङ डिसअर्डरको जोखिमको कारण बन्न सक्छ ।’
अध्ययनका अनुसार, १२ वर्षको उमेरमै स्मार्टफोन हुने बालबालिकाले आफ्नो आत्मसम्मानलाई तौलसँग जोड्ने सम्भावना दुई गुणा बढी थियो । त्यस्तै, कम क्यालोरी भएका खानेकुरा खाने वा धेरै व्यायाम गर्ने जस्ता तरिका अपनाएर तौल नियन्त्रण गर्न खोज्ने सम्भावना डेढ गुणा बढी पाइएको थियो ।
युनिभर्सिटी अफ नर्थ क्यारोलिना एट च्यापल हिलका मनोविज्ञान तथा स्नायुविज्ञानका विशिष्ट प्राध्यापक एवम् विन्स्टन सेन्टर अन टेक्नोलोजी एन्ड ब्रेन डेभलपमेन्टका सह–निर्देशक डा. मिच प्रिन्स्टाइनका अनुसार, स्मार्टफोन दिन ढिलाइ गर्दा किशोरकिशोरीहरूलाई शरीरको आवरणसम्बन्धी तनावबाट कम्तीमा केही समयका लागि भए पनि जोगाउन सकिन्छ ।
यस अध्ययनमा संलग्न नरहेका प्रिन्स्टाइनको भनाइमा, नयाँ अनुसन्धानहरूले फोन र अन्य डिभाइसमाथिको पहुँच ६ महिना वा एक वर्षले मात्र ढिला गरिदिँदा पनि बालबालिकाको मानसिक स्वास्थ्यमा फाइदा पुग्ने देखाउन थालेका छन् ।
जब बच्चाहरूले आफ्नै फोन पाउँछन्, तब अभिभावकले उनीहरूलाई बिस्तारै–बिस्तारै मात्र सामाजिक सञ्जाल चलाउन दिनुपर्ने उनको सुझाव छ । उनी भन्छन्, ‘हामी उनीहरूलाई जे चाह्यो त्यही हेर्न र जति समय मन लाग्यो त्यति नै समय चलाउन मिल्ने गरी पूर्ण रूपमा खुल्ला गरिएको फोन दिन चाहँदैनौँ ।’
नागाटाका अनुसार धेरैजसो प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूले एकाउन्ट बनाउनका लागि न्यूनतम उमेर १३ वर्ष तोकेका छन् । यद्यपि, उनको विगतको अनुसन्धानले ११ र १२ वर्षका करिब दुई तिहाइ बालबालिकाको टिकटक र इन्स्टाग्राम जस्ता प्लेटफर्ममा एकाउन्ट रहेको देखाएको थियो ।
बच्चालाई कुन उमेरमा स्मार्टफोन दिनु उपयुक्त हुन्छ भन्ने विषयमा यस पछिल्लो अध्ययनले कुनै जादुयी समाधान भने नदिएको उनी बताउँछन् । तर यदि अभिभावकहरूले साना बालबालिकालाई आफ्नै फोन दिइहाले पनि उनीहरूले ‘अतिरिक्त सुरक्षा घेरा’ अपनाउनुपर्ने हुन सक्छ ।
जस्तैः बालबालिकाले डाउनलोड गर्न सक्ने एपहरू सीमित गरिदिने र उनीहरूको गतिविधि निगरानी गर्न सहज होस् भनेर सुत्ने कोठामा फोन लैजान नदिने । नागाटा भन्छन्, ‘अभिभावकहरू आफ्ना बालबालिकाको डिजिटल जीवनमा संलग्न रहनु अत्यन्तै महत्त्वपूर्ण छ ।’
उनी फोन प्रयोगसम्बन्धी आधारभूत नियमहरू बनाउन, बच्चाहरूले अनलाइनमा के हेरिरहेका छन् भन्नेबारे खुलेर कुराकानी गर्न र उनीहरूको खानपान वा उनीहरूले आफ्नो शरीरको बारेमा गर्ने कुराकानीमा कुनै परिवर्तन आए नआएको विषयमा ध्यान दिन सुझाव दिन्छन् । तपाईंले खाना खाने टेबलमा फोन ल्याउन अनुमति दिएको नहुन सक्छ, तर त्यसबारे छलफल गर्नका लागि त्यो एउटा राम्रो समय र स्थान बन्न सक्छ ।
