राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा रोकिएपछि पनि केही दिन पहिरोको जोखिम कायमै रहने जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले लगातारको वर्षाका कारण जमिन भिजिसकेकाले वर्षा रोकिए पनि तत्काल पहिरोको जोखिम नहट्ने बताइन् । उनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै केही दिन सतर्कता अपनाउन आग्रह गरिन् ।
उनका अनुसार अहिले मुख्य जोखिम नदीको बहाव बढेर हुने कटान र पहिरो हो । नदी कटानका कारण बस्तीसमेत जोखिममा पर्न सक्ने उनले बताइन् । ‘विशेषगरी अहिलेको जोखिम भनेको नदी कटान हो । यसले बस्तीहरू पनि जोखिममा परेका छन् । कटानसँगै पहिरोको जोखिम पनि बढेको छ,’ उनले भनिन् ।
उनका अनुसार घाम लागे पनि भोलि–पर्सिसम्म पहिरो जाने सम्भावना रहन्छ, किनभने माटो धेरै भिजिसकेको छ । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक खुलाउन सडक विभागले २५० भन्दा बढी हेभी इक्विपमेन्ट विभिन्न स्थानमा प्रि–पोजिसनिङ गरी तयारी अवस्थामा राखेको महतले जानकारी दिइन् ।
उनका अनुसार पानी कम हुँदै गएपछि सडक खुलाउने कामलाई तीव्रता दिइनेछ । कतिपय स्थानमा पहिरो पन्छाएर सडक सञ्चालनमा समेत आइसकेको उनले बताइन् । ‘धेरै ठाउँमा राजमार्ग र भित्री सडकहरू पहिरोले अवरुद्ध भएका छन् । सडक विभागले २५० भन्दा बढी इक्विपमेन्ट प्रि–पोजिसनिङमा स्ट्यान्डबाई राखेको छ,’ उनले भनिन् ।
उनका अनुसार पानी अलिकति कम भयो र घाम लाग्न थाल्यो भने सडक खुलाउने कामले पनि तीव्रता लिन्छ । उनले कतिपय ठाउँमा सडक सुचारु भइसकेको जानकारी दिइन् । महतका अनुसार सडक खुलाउने तथा विपद् व्यवस्थापनका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ । उपकरणसँगै आवश्यक जनशक्तिलाई समेत परिचालन गर्ने तयारी गरिएको उनले बताइन् ।
तत्कालको जोखिम भने अझै नटरेको प्राधिकरणले जनाएको छ । आइतबार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्ने तथा बाढी र पहिरोको जोखिम कायमै रहने महतले बताइन् । लगातारको वर्षाका कारण जमिन कमजोर भइसकेकाले वर्षा कम भएपछि समेत नदी तथा खोला किनार, पहिरो प्रभावित क्षेत्र र जोखिमयुक्त सडकमा सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
