२०८३ असोज ११ , आइतबार 27, September 2026, Sunday

मधेसमा वर्षा र हावाहुरीको वितण्डा, कति भयो क्षति ?

मधेस प्रदेशका विभिन्न जिल्लामा अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र हावाहुरीका कारण पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरीका विभिन्न स्थानमा घरगोठ तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।

धनुषामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने चार जनाको सकुशल उद्धार गरिएको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार पर्साको ठोरी गाउँपालिका–५ आठघरे टोलमा हावाहुरीका कारण कान्छी स्याङवोको एकतले टिनको छानो भएको घरको जस्तापाता उड्दा घरमा पूर्ण क्षति पुगेको छ ।

यस्तै बाराको कलैया उपमहानगरपालिका–२ कबहीमा अमिन मियाँको इँटाको गारो तथा खपटाको छाना भएको घरको पूर्वपट्टिको गारो र छाना आंशिक रूपमा क्षति भएको छ । रौतहटमा पनि वर्षाका कारण विभिन्न स्थानमा भौतिक क्षति भएको छ । राजपुर नगरपालिका–९ वैरियामा विभिन्न व्यक्तिका घरमा क्षति पुगेको छ ।

रौतहटकै कटहरिया नगरपालिका–१ भसेढवा टोलमा लक्ष्मण राय यादवको दुई तले कच्ची घर वर्षाका कारण भत्किएर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । मौलापुर नगरपालिका–४ पतौरामा भैँसीको गोठ तथा गरुडा नगरपालिका–८ गम्हरियामा एउटा घरसमेत वर्षाका कारण क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

सर्लाहीका विभिन्न स्थानमा पनि वर्षा र हावाहुरीले कच्ची घर, गोठ तथा अन्य संरचनामा क्षति पुर्याएको छ । विष्णु गाउँपालिका–५ फेन्हारा, मलंगवा नगरपालिका–५ भाडसर, कौडेना गाउँपालिकाका वडा नम्बर ३ र ६ तथा चन्द्रनगर गाउँपालिका–१ लगायतका क्षेत्रमा आंशिक तथा पूर्ण क्षति पुगेको प्रहरीले जनाएको छ ।

महोत्तरीको मनरा शिसवा नगरपालिका–१ चौरिया टोलमा चन्द्रकाला मण्डलको बाँसले बनेको फुसको छानो भएको एककोठे घर भासिएपछि बस्न नसक्ने अवस्थामा पुगेको छ । धनुषामा अविरल वर्षा तथा हावाहुरीका कारण विभिन्न स्थानमा भौतिक क्षति भएको छ । लक्ष्मीनिया गाउँपालिका–३ अगिलेसवा क्षेत्रमा समेत वर्षा र हावाहुरीका कारण क्षति पुगेको छ ।

यसैबीच, मिथिला नगरपालिका–११ आपगाछीमा पहिरो खस्दा राजन श्रेष्ठको घर पुरिएको छ । घर पहिरोले पुरिएपछि उद्धार गर्न नेपाल प्रहरीको टोली तथा जेसीबी परिचालन गरिएको थियो । उक्त घटनामा परिवारका चार जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । तर पहिरोमा पुरिएकी करिब ३५ वर्षीया कमला श्रेष्ठलाई भने मृत अवस्थामा उद्धार गरिएको छ ।

उनको शव कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि सरकारी अस्पताल बर्दिबास, महोत्तरी पठाइएको प्रहरीले जनाएको छ । सप्तरीमा पनि वर्षाका कारण विभिन्न स्थानमा पानी प्रवेश गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित बीओपी बरसाइनको परिसर तथा आसपासका केही घरआँगनमा पानी प्रवेश गरेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिकाका वडा नं. ७, ११ र १२ अन्तर्गत कोशी बाँधको दक्षिण तथा उत्तर क्षेत्रमा बसोबास गर्ने करिब २०० घरधुरीका घरआँगनमा समेत पानी प्रवेश गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रभावित क्षेत्रमा जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी इकाइबाट टोली परिचालन गरिएको छ ।

प्रहरीले घटनास्थलमा उद्धार, क्षतिको विवरण सङ्कलन तथा आवश्यक समन्वय गरिरहेको जनाएको छ । लगातारको वर्षा तथा हावाहुरीबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै मधेस प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले माइकिङ, प्रहरी गस्ती तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

प्रहरीले नदी तथा खोलाको किनार, डुबान तथा पहिरोको जोखिम भएका क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । विपद्को अवस्था सिर्जना भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत प्रहरीले अनुरोध गरेको छ । विषम परिस्थितिमा तत्काल उद्धार तथा सहयोगका लागि सम्बन्धित प्रहरी कार्यालयबाट उद्धार टोली परिचालन गरी निरन्तर काम भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार अविरल वर्षाका कारण प्रदेशका विभिन्न जिल्लामा क्षतिको विवरण सङ्कलन तथा उद्धारको काम जारी रहेकाले थप क्षतिको विवरण आउन सक्नेछ । वर्षा अझै जारी रहेकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार