२०८३ असोज ११ , आइतबार 27, September 2026, Sunday

वर्षा र हावाहुरीले धानबाली क्षति, किसान चिन्तित

लगातार परेको वर्षा र हावाहुरीका कारण काट्ने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ । वर्षाका कारण दाङको देउखुरीस्थीत गढवा गाउँपालिका–५, चैनपुर निवासी किसान वसन्त खड्काको चार कट्ठा खेतको धान ढलेर भिजेको छ ।

काट्ने अवस्थामा पुगिसकेको धान विगत चार दिनदेखि परिरहेको पानीका कारण ढलेर जाग्ने अवस्थामा पुगेको खड्का बताउँछन् । खेतमा जम्मा भएको पानीलाई निकासको प्रयास गरेपनि निरन्तर परेको पानीका कारण समस्या भएको उनले जानकारी दिए ।

‘समयमै गरेको खेती पाकेर घरमा भित्राउने समयमा पानी पर्दा धान खेतमै खेर जाला भन्ने डर भइसक्यो,’ किसान खड्का भन्छन्, ‘यत्तिकैमा पानी रोकियो भने धान भित्राउन पाइन्छ कि भन्ने आश छ, पानी बढ्यो भने सवै धान खेतमै जाग्ला भन्ने डर छ ।’

खड्का जस्तै चैनपुरकै अर्का किसान विष्णु महराको १४ कट्ठा खेतको धान पनि हावाहुरी र पानीका कारण ढलेर डुबेको छ । पानी नपरेको भए सात–आठ दिनमा काट्ने हुन थालेको धान बर्षाका कारण धान पानी डुबेको बताउँछन् ।

पाक्ने तयारीमा रहेको धान पानीमा डुबेपछि वर्षभरि घरका लागि चाहिने धानका लागि गरेको खेती खेर जाने अवस्थामा भएको छ । ‘धान भिजेपछि दाना मात्र होइन, पराल पनि कुहिने डर छ,’ किसान महराले भने ।

उनका अनुसार पानी रोकिएन भने मेहनत खेर जानका साथै बर्षभरी खानका लागि समेत समस्या पर्ने अवस्था रहेको छ । उनले समयमै धान रोपेपनि काट्ने बेला आएको पानीका कारण ठुलो नोक्सान गरेको छ ।

वर्षा र हावाहुरीका कारण चैनपुर जस्तै देउखुरीका धेरै ठाउँमा काट्ने अवस्थामा पुगेको धानमा क्षति पुगेको गढवा गाउँपालिका–३, खैरेनी निवासी किसान टेकराज रावत बताउँछन् । उनका अनुसार पाकेर काट्ने तयारी अवस्थामा पुगेको धानसँगै पाक्दै गरेको धान र तरकारी बालीमा समेत पानी र हावाहुरीका कारण क्षति पुगेको छ ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार