कालीकोटको आकाश खुलेसँगै जनजीवन सहज बन्दै गएको छ । मौसममा सुधार आएसँगै विगत केही दिनदेखि प्रभावित बनेको सर्वसाधारणको दैनिक जनजीवन पुनः सामान्य बन्न थालेको हो ।
अग्ला पहाडहरुमा बाँधिएको कुईरो सफा हुँदै जाँदा पहाड सुन्दर देखिन थालेका छन । कर्णाली नदी क्षेत्रमा जम्मा भएको तुँवालो, कुहिरो हटेको छ । बादलका थुम्काले प्राकृतिक सुन्दरता पनि थपिएको छ ।
वर्षाले निरास भएका मानिसमा मौसममा सुधार हुँदा सफा देखिने फाँटले खुसी छाउँदै गएको छ । मौसम खराब हुँदा अवरुद्ध भएका विभिन्न राजमार्ग तथा सडक खण्ड सफा गर्ने काम तीव्र रूपमा भइरहेको छ ।
मौसम सफा भएसँगै हवाई उडान पनि नियमित रूपमा सञ्चालन हुने आशामा नागरिक उत्साहित भएका छन् । जसका कारण यात्रा गर्न बाँकी रहेका यात्रुलाई ठुलो राहत मिल्ने उनीहरुमा भरोसा छ । लगातारको वर्षाले प्रभावित बनेका कृषकहरू मौसम खुलेसँगै आफ्ना बालीनाली सम्हाल्न र खेतीपातीको काममा व्यस्त हुन थालेका छन् ।
यस्तै, बजार तथा व्यापारिक केन्द्रहरूमा पनि सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । किसान बारीमा पसेर पानीले बिगार गरेको खेतीलाई सम्हाल्न थाल्नुभएको छ । रास्कोट–२ का शान्ताकुमारी रोका मगर, सुक्ला न्यौपानेले बर्षाले ढालेको मकै सम्हाल्न लागेको बताएकी छन् ।
