२०८३ असोज १० , शनिबार 26, September 2026, Saturday

हुम्लाको हिल्सामा हिमपात, एक फिटसम्म हिउँ जम्यो

हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को हिल्सा, न्यालु लगायत उच्च क्षेत्रमा शुक्रबार साँझदेखि हिमपात भइरहेको छ । जिल्लामा शुक्रबार बिहानदेखि सुरु भएको वर्षाका कारण साँझदेखि उच्च भूभागमा हिमपात भइरहेको छ ।

चीनसँगको सिमानाका हिल्सामा होटल व्यवसाय गर्दै आएकी स्थानीय लामु लामाका अनुसार हिल्सा, न्यालु, नारा लेखलगायत उच्च स्थानमा शनिबार बिहान पनि हिमपात भइरहेको छ । अहिले हिल्सामा करिब एक फिटसम्म हिउँ जमेको छ ।

हिल्सामा हिउँ परिरहेका कारणा आवतजावतमा गर्न समस्या भएको लामाको भनाइ छ । पाँच हजार मिटर उचाइका अग्ला क्षेत्रमा हिमपात हुँदा उत्तरी हुम्लामा चिसो अचानक अत्यधिक बढेको यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए ।

सुरुमा पानी परिरहेको थियोे, अहिले हिमपात भइरहेको छ । हिमपात हुँदा चिसो अत्यधिक बढेको प्रमुख जैसीले बताए । यस्तै सदरमुकाम सिमकोट नजिकैका बोक्सी हिमाल, पञ्चमुखी, रलिङ हिमाल र चाङ्ला क्षेत्रमा पनि हिमपात भएको छ । यो वर्षको पहिलो हिमपात भएको हो ।

गत वर्ष असोज २४ गते पहिलो हिमपात भएको थियो, भने यो वर्ष असोजको पहिलो साता ९ गते हिमपात भएको हो । शुक्रबारदेखि हिमाली जिल्ला हुम्लामा निरन्तर वर्षा र हिमपात भए पनि हालसम्म क्षति भने अहिलेसम्म नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिबार