नेपाल मौसम विज्ञान विभागले काठमाडौं उपत्यकासहित पूर्वी भूभागमा वर्षा कम हुँदै जाने जनाएको छ । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली क्रमशः पश्चिमतर्फ सर्दै गएपछि पूर्वी क्षेत्रमा वर्षाको मात्रा घट्दै गएको विभागले जनाएको हो ।
मौसमविद् रोजन लामिछानेका अनुसार पश्चिमी भूभागमा भने आज र भोलि पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । उनका अनुसार पूर्वी क्षेत्रमा बादल लाग्ने तथा हल्कादेखि सामान्य वर्षा हुने सम्भावना रहे पनि ठूलो पानी पर्ने सम्भावना कम हुँदै गएको छ ।
‘पूर्वमा बादल लाग्ने र हल्का वर्षा हुने सम्भावना छ । तर पश्चिममा भने आज र भोलि पनि भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ,’ लामिछानेले बताए । उनका अनुसार पश्चिमी क्षेत्रमा भोलि साँझसम्म वर्षाको सम्भावना रहनेछ ।
भोलि दिउँसो वा साँझदेखि भने पूर्वी भूभागमा मौसममा उल्लेखनीय सुधार आउने सम्भावना छ । केही स्थानमा बादल लाग्ने र हल्का वर्षा भए पनि ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् लामिछानेले बताए ।
काठमाडौंमा पनि वर्षा कम हुँदै
वर्षा गराउने प्रणाली पश्चिमतर्फ सर्दै गएसँगै काठमाडौं उपत्यकामा पनि वर्षा कम हुँदै गएको छ । मौसमविद् लामिछानेका अनुसार काठमाडौंमा अब तत्काल लगातार वर्षा हुने सम्भावना छैन ।
काठमाडौं उपत्यकामा केही समय आकाश खुल्ने र पुनः बादल लाग्ने अवस्था देखिए पनि अघिल्ला दिनको जस्तो लगातार वर्षा नहुने विभागको भनाइ छ । सोमबारदेखि काठमाडौं उपत्यकासहित पूर्वी भूभागमा मौसम अझ खुल्दै जाने सम्भावना रहेको छ ।
गुल्मीमा १२ घण्टामै ११४ मिलिमिटर वर्षा
पछिल्लो १२ घण्टामा गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा मापन भएको छ । मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा २४७ मिलिमिटर वर्षा भएको छ ।
पश्चिमी क्षेत्रमा वर्षाको मात्रा बढेसँगै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा भइरहेको छ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
भारी वर्षाका कारण पश्चिमी क्षेत्रमा बाढी तथा पहिरोको जोखिमसमेत बढेको छ । विभागको पूर्वानुमानका आधारमा २५ जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । उच्च जोखिममा रहेका जिल्लामा सवारी साधन सञ्चालनमा समेत कडाइ गरिएको छ ।
ती जिल्लामा राति र दिउँसो दुवै समयमा सवारी साधन पूर्णरूपमा बन्द गरिएको जनाइएको छ । त्यस्तै सुन्तला रङले संकेत गरिएका २९ जिल्लामा रातिको समयमा सवारी साधन बन्द गर्ने र दिउँसोको समयमा अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोस्टले आवश्यक निर्णय लिने व्यवस्था गरिएको छ ।
पहेँलो रङले संकेत गरिएका २३ जिल्लामा भने सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले पश्चिमी भूभागमा अझै वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
