२०८३ असोज १० , शनिबार 26, September 2026, Saturday

हिमपातमा सम्पर्कविहीन जुम्लाका १३ भेडा गोठाला सुरक्षित

हिमपातका कारण सम्पर्कविहीन भएका जुम्लाका १३ जना भेडा गोठाला सम्पर्कमा आएका छन् । चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका उनीहरूले जिल्ला प्रशासन कार्यालयमा फोन गरेर आफूहरू सुरक्षित रहेको जानकारी गराएका हुन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक शालिकराम खनालका अनुसार सम्पर्कविहीन भनिएका १३ जनाले नै आफूहरू सुरक्षित रहेको जानकारी दिए । ‘उहाँहरूले जिल्ला प्रशासन कार्यालयमा फोन गरेर हामी सुरक्षित छौँ भन्नुभएको रहेछ । हामीले अहिले मात्र खबर पायौँ,’ खनालले भने ।

उनका अनुसार चन्दननाथका आठ जना सम्पर्कविहीन भन्ने थियो, अरू केही तातोपानीका पनि सम्पर्कविहीन भएका रहेछन् । हिमपातका कारण बाहिर निस्कन सक्ने अवस्था नरहेको भन्दै उनीहरूले तत्काल उद्धार गर्न आग्रह गरेका छन् ।

‘उहाँहरूले फोन गरेर बाहिर हिउँ परिरहेको छ, हामी भित्र बसेका छौँ, जति सकिन्छ हामीलाई छिटो उद्धार गर्नुपर्यो भन्नुभएको छ,’ खनालले भने । उनीहरूको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय जुम्ला र कर्णाली विपद् व्यवस्थापन गुल्म जुम्लाबाट सात जना प्रहरी, एक जना नगर प्रहरी र दुई जना स्थानीयसहितको खोज तथा उद्धार टोली परिचालन गरिएको छ ।

प्रहरीका अनुसार अहिले पानी परिरहेका कारण उद्धारमा कठिनाइ हुन सक्ने देखिएको छ । स्थलमार्गबाट उद्धार गर्न सकिने अवस्था भए टोलीले उद्धार गर्ने र त्यसबाट सम्भव नभए हेलिकप्टरको व्यवस्था गरेर भए पनि उनीहरूको उद्धार गर्ने तयारी भइरहेको सूचना अधिकारी खनालले बताए ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिबार