२०८३ असोज १० , शनिबार 26, September 2026, Saturday

देशका विभिन्न स्थानमा आज धेरै भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा आज धेरै भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै धेरै भारी वर्षाको सम्भावना छ । आज दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा, तथा कोसी र वाग्मती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा, साथै मधेस प्रदेश तथा कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान छ । कोसी र वाग्मती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मधेश प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । विभागले राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने बताएको छ । कोसी र मधेस प्रदेशमा साधारणतया बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा, तथा वाग्मती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै तथा कोसी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा, वाग्मती प्रदेशको तराई भूभागका धेरै स्थानमा र मधेस तथा कोसी प्रदेसको तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागको भनाइ छ ।

देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । बलियो न्यूनचापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासमा छ । यो प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने न्यूनचापीय प्रणालीको रूपमा रहने सम्भावना रहेको विभागले बताएको छ ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिबार