२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

अरूको कुरा काटेरै महिलाले किनिन् दुई वटा घर !

सामान्यतया मानिसहरूले छिमेकीका कुरा काट्नुलाई फुर्सदको काम वा बेकारको बानी मान्छन् । तर, त्यही ‘गसिप’ कसैको जीवनमा लाखौँ कमाइको माध्यम बन्यो भन्दा विश्वास गर्न गाह्रो हुन सक्छ । कोलम्बियाकी एक ६७ वर्षीया महिलाले यस्तै अनौठो काम गरेर सबैलाई चकित बनाएकी छन् ।

ती महिलाले मानिसहरूका व्यक्तिगत कुरा र छिमेका गुप्त विवरणहरू लुकीचोरी सुन्ने र आवश्यकता परेमा पैसाको बदलामा अरूलाई उपलब्ध गराउने दाबी गरेकी छन् । अझै अचम्मको कुरा त के छ भने, उनले यही अनौठो कामबाट यति धेरै पैसा कमाइन् कि दुई वटा घरसमेत खरिद गर्न सफल भइन् ।

यी महिलाको नाम मिरयम बताइएको छ । उनी आफूलाई ‘प्रोफेसनल गसिप’ अर्थात् मानिसका गुप्त विवरणहरू सङ्कलन गर्ने महिलाका रूपमा चिनाउँछिन् । सानैदेखि वरपरका मानिसका कुरा सुन्न र जान्न धेरै रुचि भएकाले समयक्रममा त्यही रुचि आफ्नो पहिचान बनेको र त्यसलाई कमाइको माध्यममा बदलेको उनको भनाइ छ ।

मिरयमको काम गर्ने तरिका पनि निकै फरक छ । रिपोर्टअनुसार उनी अक्सर आफ्नो घरबाहिर बस्छिन् र वरपरका मानिसहरूको कुराकानी ध्यानपूर्वक सुन्छिन् । उनको हातमा एउटा नोटबुक हुन्छ, जसमा उनी महत्त्वपूर्ण कुराहरू टिपोट गर्छिन् । उनी कुरा सुन्नमा मात्र सीमित हुन्नन्; नाम, मिति र अन्य विवरणहरूसमेत नोट गर्छिन् ।

कतिपय अवस्थामा त उनीसँग तस्वीरहरू समेत हुन्छन् । यसो गर्नाले आफूले भनेका कुराहरू सम्झिन र तिनको सत्यता पुष्टि गर्न सजिलो हुने उनको दाबी छ । रिपोर्टअनुसार मिरयमले साना वा सामान्य गसिप (कुरा) सेयर गरेबापत पाँच हजारदेखि १० हजार कोलम्बियन पेसोसम्म लिने गर्छिन् । यदि कुरा धेरै खास वा सनसनीपूर्ण छ भने उनी बढी रकम माग गर्छिन् ।

मिरयमले बताए अनुसार एकपटक उनले सात लाख कोलम्बियन पेसोसम्म पाएकी थिइन् । सो रकम एक व्यक्तिको अनैतिक सम्बन्ध (अफेयर) को कुरा अरू कसैलाई नभनिदिने सर्तमा उनलाई दिइएको थियो । धेरै पटक मानिसहरू आफैँ उनीकहाँ आएर कुनै खास कुरा अरूलाई थाहा नदिन आग्रह गर्दै पैसा दिने गरेको उनको दाबी छ ।

सबैभन्दा अचम्मको कुरा उनको कमाइलाई लिएर छ । यही अनौठो कामबाट भएको कमाइले आफूलाई दुई वटा घर किन्न मद्दत गरेको मिरयमको दाबी छ । उनले एक भिडियो अन्तर्वार्ताका क्रममा आफ्नो कमाइको केही अंशसमेत देखाएकी थिइन् । उनी आफ्नो दोस्रो घरमा साथीहरूसँग समय बिताउँछिन्, जहाँ कुराकानीका क्रममा उनलाई वरपरका नयाँ–नयाँ खबरहरू प्राप्त भइरहन्छन् । अर्थात् साथीहरूसँग बस्नु पनि उनका लागि सूचना सङ्कलनकै एउटा माध्यम बन्छ ।

मिरयमलाई आफ्नो यो काममा निकै विश्वास छ । उनी आफूलाई टोलकी ‘गसिप क्विन’ मान्छिन् । ‘जहाँ मानिसहरू हुन्छन्, त्यहाँ कुराकानी हुन्छ नै; त्यसैले गसिपको सिलसिला कहिल्यै सकिँदैन,’ उनी भन्छिन् । उनको यो कामको सिको गर्दै अहिले त्यस क्षेत्रमा अन्य मानिसहरू पनि यसरी नै सूचना बेचेर पैसा कमाउन थालेको उनको दाबी छ ।

मिरयमको यो कथा सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूको प्रतिक्रिया पनि फरक–फरक आएको छ । केही मानिसहरूलाई यो कमाइको तरिका निकै रमाइलो र अनौठो लागेको छ भने केहीले यसलाई मानिसहरूको व्यक्तिगत जीवनमा हस्तक्षेप (गोपनीयताको हनन) मानिरहेका छन् । कसैको व्यक्तिगत जानकारी पैसा लिएर अरूलाई दिनु कत्तिको नैतिक हो भन्ने प्रश्न उठेको छ, विशेष गरी जब कुरा सम्बन्ध र परिवारसँग जोडिएको हुन्छ ।

यद्यपि, मिरयम भने आफूले बिनाप्रमाण कुनै पनि कुरा अघि नबढाउने दाबी गर्छिन् । यो सम्पूर्ण कथा एउटा भाइरल अन्तर्वार्ता र रिपोर्टहरूमा मिरयमले गरेका दाबीहरूमा आधारित छ । यसले उनका सबै दाबी वा दुई वटा घर किनेको कुरा स्वतन्त्र रूपमा सत्य नै हो भन्ने पुष्टि भने गर्दैन । तैपनि, उनको कथाले सामाजिक सञ्जालको जमानामा मानिसको रुचिलाई कसरी अनौठो ‘बिजनेस आइडिया’ मा बदल्न सकिन्छ भन्ने एउटा रोचक उदाहरण प्रस्तुत गरेको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रबार