पूर्वी पहाडी तथा तराईका क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण कोशी नदीमा पानीको सतह उल्लेख्य रूपमा बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी होम ओलीका अनुसार शुक्रबार बिहान ९ः१५ बजेको मापन अनुसार कोसी ब्यारेज भएर बग्ने पानीको बहाव एक लाख ९० हजार ६८० क्युसेक प्रतिसेकेन्ड पुगेको छ ।
पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै ब्यारेजका कुल ५६ वटा ढोकामध्ये २४ वटा ढोका खुला गरिएको छ । जलस्तर निरन्तर बढेपछि कोसी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ भने रातो झण्डा पनि फहराइएको कन्ट्रोल रुमले जनाएको छ । नदीमा पानीको सतह अझै बढ्न सक्ने अनुमानका साथ प्राविधिकहरूले बहावको निरन्तर अनुगमन गरिरहेका छन् ।
जलस्तर बढेसँगै तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले आग्रह गरेका छन् । मौसम विज्ञान विभागको विशेष बुलेटिन अनुसार आगामी असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकलाई विशेष सजग रहन अपिल गरिएको छ ।
