२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

मनसुनी र पश्चिमी वायुको प्रभाव, देशभर भारी वर्षा

हाल देशमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने बङ्गालको खाडीमा विकसित बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपास अवस्थित छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने र आगामी २४ घण्टामा उत्तरउत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुँदै जाने सम्भावना रहेको छ ।

वर्तमानमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली कायम छ । यसैगरी, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, कर्णाली प्रदेशका पहाडी भूभाग, मधेश प्रदेशका केही स्थान र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको पूर्वानुमान गरिएको छ ।

यस दौरान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने जोखिम रहेको छ । साथै, मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ ।

आज राति पनि देशभर अधिकांश स्थानमा बादलुको प्रभाव कायम रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा तराई भूभागमा अधिकांश स्थानमा तथा कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ । रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना कायमै रहनेछ ।

विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको जोखिम रहेको छ भने मधेश प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा राति पनि हावाहुरी चल्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रबार