२०८३ असोज ८ , बिहीबार 24, September 2026, Thursday

मुक्तिनाथको महिमा बोकेर मेची-महाकाली निस्किँदै भव्य रथयात्रा

वैदिक सनातन धर्म, संस्कृति तथा नेपालको प्राचीन तीर्थपरम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्षको ‘श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा’ कोजाग्रत पूर्णिमादेखि सुरु हुने भएको छ ।

मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा)को सत्संकल्पअनुसार हरेक वर्ष दुई चरणमा आयोजना हुँदै आएको रथयात्रा रामनवमीका अवसरमा नवलपरासीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधामदेखि श्रीमुक्तिनाथ भगवानको सन्निधिसम्म तथा कोजाग्रत पूर्णिमादेखि हरिबोधिनी एकादशीसम्म मेचीदेखि महाकालीसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

श्रीमुक्तिनाथमा सञ्चालन हुने ६ महिने (षाड्मासिक) श्रीमुक्तिनाथ महोत्सव तथा महायज्ञ सम्पन्न भएपछि कोजाग्रत पूर्णिमाका दिन रथयात्राको औपचारिक शुभारम्भ गरिनेछ । देशका विभिन्न तीर्थस्थल तथा धार्मिक क्षेत्रमा विविध धार्मिक अनुष्ठानसहित सञ्चालन हुने यात्रा हरिबोधिनी अर्थात् ठूली एकादशीका दिन विधिवत् समापन हुनेछ ।

रथयात्राका लागि निमन्त्रणा दिन जनकपुरधाम पुगेका रथयात्रा व्यवस्थापन समितिका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले पत्रकार भेटघाटमा मुक्तिनाथ धार्मिक तीर्थस्थल मात्र नभई नेपालको आध्यात्मिक, सांस्कृतिक तथा प्राकृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण धरोहर भएको बताए । उनले रथयात्रा धार्मिक अनुष्ठानमा मात्र सीमित नभई नेपालको मौलिक सांस्कृतिक सम्पदालाई जोड्ने राष्ट्रिय अभियानका रूपमा अघि बढाइएको बताए ।

उनका अनुसार मुक्तिनाथ, शालिग्राम र कालीगण्डकीसँग जोडिएको हजारौँ वर्ष पुरानो आध्यात्मिक विरासतलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु यात्राको प्रमुख उद्देश्य हो । ‘मुक्तिनाथ, पवित्र कालीगण्डकी र समग्र मुक्तिक्षेत्रको महिमालाई देश–विदेशसम्म पु¥याउँदै सनातन धार्मिक चेतना, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्नु यात्राको मूल उद्देश्य हो,’ प्रवक्ता प्रपन्नाचार्यले भने ।

आयोजकका अनुसार श्रीमुक्तिनाथ महोत्सवको सुरुआत विसं २०५४ देखि हुँदै आएको हो । हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा रहेको मुक्तिनाथ क्षेत्र हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र विशिष्ट तीर्थपरम्पराको संगमका रूपमा परिचित छ । विशेषगरी कालीगण्डकी क्षेत्रमा पाइने शालिग्रामको वैष्णव परम्परामा विशेष धार्मिक महत्व रहेको आयोजकको भनाइ छ ।

महोत्सव तथा रथयात्रालाई धार्मिक कर्मकाण्डमा मात्र सीमित नराखी समाजमा नैतिक जीवनपद्धति, सदाचार, दया, करुणा र कर्तव्यबोधको विकास गराउने माध्यमका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ । मुक्तिनाथ तथा शालग्राम परम्पराको प्रचार–प्रसारबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटकको आगमन बढ्ने र त्यसबाट स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

मेचीदेखि महाकालीसम्मका मठमन्दिर, धार्मिक संस्था तथा स्थानीय समुदायलाई जोड्ने गरी देशभर तयारी तीव्र पारिएको छ । आयोजकका अनुसार हालसम्म ५० भन्दा बढी जिल्लामा रथयात्रा आयोजक समिति गठन भइसकेका छन् भने बाँकी जिल्लामा पनि समिति गठनको प्रक्रिया जारी छ । आयोजक समितिले सम्पूर्ण सनातन धर्मावलम्बी, साधुसन्त, धार्मिक संघसंस्था तथा सर्वसाधारणलाई रथयात्रामा सहभागी भई आध्यात्मिक जागरण, धार्मिक सद्भाव र राष्ट्रिय एकताको अभियानलाई सफल बनाउन आह्वान गरेको छ ।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहीबार