चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ । निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रोनाल्डो शनिबार बिहान विषहजारी पोस्ट नजिकै मृत अवस्थामा भेटिएको हो ।
घटनास्थलको निरीक्षण र आवश्यक परीक्षणपछि मात्रै हात्तीको मृत्युको वास्तविक कारण पत्ता लाग्ने उनले बताए । रोनाल्डोको मृत्यु करेन्ट लागेर भएको हुन सक्ने प्रारम्भिक सूचना आए पनि निकुञ्जले भने यसको पुष्टि गरिसकेको छैन । घटनाबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको छ ।
करिब ३५ वर्षको रोनाल्डो लामो समयदेखि चितवनको बरन्डाभार क्षेत्रमा सक्रिय जंगली भाले हात्तीका रूपमा परिचित थियो । विशेषगरी सौराहास्थित हात्ती प्रजनन केन्द्रमा रहेका ढोई हात्तीको प्रजननका क्रममा रोनाल्डो नियमित रूपमा केन्द्रमा आउने गथ्र्यो ।
प्रजनन केन्द्रका अनुसार २०८३ असारसम्म केन्द्रमा जन्मिएका ६९ वटा छावामध्ये ३८ वटा रोनाल्डोका सन्तान हुन् । यस आधारमा चितवनमा हात्तीको वंशवृद्धिमा रोनाल्डोको महत्वपूर्ण योगदान रहेको देखिन्छ ।
रोनाल्डो कहिले एक सातासम्म त कहिले दुई–तीन दिनसम्म प्रजनन केन्द्रमा बसेर पोथी हात्तीसँग संसर्ग गर्ने गरेको बताइन्छ । रोनाल्डो ३८ वटा छावाको बाबू भएको निकुञ्जले जनाएको छ । ऊ केन्द्रमा आएका बेला अन्य जंगली भाले हात्ती कमै देखिने गरेको कर्मचारीहरूको अनुभव थियो ।
यही कारण केन्द्रका कर्मचारीहरूले रोनाल्डोलाई ‘ज्वाईं राजा’ समेत भन्ने गरेका थिए । प्रजननका दृष्टिले महत्वपूर्ण भए पनि रोनाल्डो मानिसका लागि जोखिमपूर्ण जंगली हात्तीका रूपमा पनि परिचित थियो । विभिन्न समयमा भएका हात्ती आक्रमणका घटनामा उसको नाम जोडिँदै आएको थियो ।
उपलब्ध विवरण अनुसार १६ वर्षको अवधिमा रोनाल्डोको आक्रमणबाट २२ जनाको मृत्यु भएको बताइन्छ । यद्यपि पछिल्लो समय भने रोनाल्डो पहिलेको तुलनामा कम आक्रामक भएको कर्मचारीहरूले बताएका थिए । प्रजनन केन्द्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरू नजिक पुगेर तस्बिर खिच्दा समेत उसले खासै वास्ता नगर्ने गरेको उनीहरूको भनाइ थियो ।
तर बरन्डाभार क्षेत्रबाट गाउँबस्ती प्रवेश गर्दा रोनाल्डोले बालीनालीमा क्षति पुर्याउने गरेको स्थानीय बताउँछन् । उसले घर तथा अन्य भौतिक संरचनामा समेत क्षति पुर्याएको स्थानीयको अनुभव छ । सौराहामा रहेको हात्ती प्रजनन केन्द्र सन् १९८७ मा स्थापना भएको हो ।
भारतबाट १६ तथा म्यानमार र थाइल्यान्डबाट दुई–दुई वटा हात्ती उपहारमा ल्याएर स्थापना गरिएको केन्द्रमा २०५४ सालदेखि हात्तीको प्रजनन सुरु गरिएको थियो । २०५७ सालमा जंगली हात्तीको आक्रमणमा केन्द्रको घरपालुवा भाले हात्ती ‘धीरेन्द्रप्रसाद’ मारिएको थियो । त्यसपछि ऐरावतगज र शेरप्रसादलाई समेत जंगली हात्तीले आक्रमण गरेर मारेका थिए ।
त्यसयता केन्द्रमा घरपालुवा भाले हात्ती राख्ने क्रम रोकिएको थियो । त्यसपछि केन्द्रका ढोई हात्तीको प्रजननका लागि रोनाल्डो, धुव्रे र गोविन्दजस्ता जंगली भाले हात्तीमा निर्भर रहनुपरेको थियो । तीमध्ये रोनाल्डोले प्रजननमा ठूलो योगदान पुर्याएको केन्द्रका अधिकारीहरू बताउँछन् । केन्द्रमा जन्मिएका दर्जनौँ छावा रोनाल्डोकै सन्तान रहेको बताइन्छ । नेपालले विभिन्न देशलाई हात्ती उपहार दिने क्रममा रोनाल्डोबाट जन्मिएका हात्तीहरू समेत समावेश गरेको केन्द्रको विवरणमा उल्लेख छ ।
