२०८३ असोज ३ , शनिबार 19, September 2026, Saturday

एन्फा मुख्यालयमा सिआइबीको छापा, केही कागजात नियन्त्रणमा

अखिल नेपाल फुटबल संघ (एन्फा)मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छापा मारेको छ । एन्फामाथि अनुसन्धान गरिरहेको सिआइबीले केही कागजात नियन्त्रणमा लिएर त्यहाँ रहेका पदाधिकारीसँग पनि सोधपुछ गरिरहेको छ ।

एन्फा कार्यालयमा सिआइबीको टोलीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशीलाई पनि सोधपुछ गरेको छ । फिफाले एन्फामाथि प्रतिबन्ध लगाएको झण्डै चार महिना पुगेको छ । राष्ट्रिय खेलकुद परिषद्ले सुरुमा एन्फालाई निलम्बन गरेको थियो । तर पछि सर्तसहित निलम्बन फुकुवा गरे पनि फिफाले विनाशर्त निलम्बन फुकुवा गर्नुपर्ने भन्दै एन्फामाथि प्रतिबन्ध लगायो ।

एन्फाका वर्तमान पधाधिकारीहरूले फुटबल गतिविधि नगरी भ्रष्टाचारमा लिप्त भएको भन्दै खेलाडी तथा सरोकारवालाहरूले आलोचना गर्दै आएका छन् । बिहीबार मात्रै एन्फा महासचिव किरण राईले पत्रकार सम्मलेन गर्दै अब खेलकुदका गतिविधि सञ्चालन गर्ने बताएका थिए । उनले सोमबारदेखि कार्यालय सञ्चालन गर्ने बताएका थिए । तर, त्यसअघि नै सिआइबीले कार्यालयमा पुगेर कागजात नियन्त्रणमा लिएको हो ।

सिआइबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले सिआइबीले यस विषयमा अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘हामीले एन्फाको विषयमा अनुसन्धान गरिरहेका थियौँ । त्यसकै सिलसिलामा एन्फा कार्यालयमा गएका हौँ । केही कागजातहरू नियन्त्रणमा लिएर अनुसन्धान गर्नेछौँ । केही पधाधिकारीहरूमाथि सोधपुछ गरेका छौँ । अहिले कसैलाई नियन्त्रणमा लिएका छैनौँ । अहिले पनि हाम्रो अनुसन्धान जारी छ ।’

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिबार