बझाङमा जिउँदै कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३, पडेसकी ४२ वर्षीया बिमलादेवी रोकाया रहेकी छन् ।
उनलाई जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । रोकायालाई नियन्त्रणमा लिएर हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी टेक जोराले जानकारी दिए ।
उक्त कुकुर करिब दुई सातादेखि बिरामी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यसको शरीरको पछाडिको भाग पाकेको र दुर्गन्ध आउने गरेको प्रहरीले जनाएको छ । बिरामी कुकुरले घर नजिकैको बाटोमा आवतजावत गर्ने मानिसलाई टोक्न थालेपछि रोकायाले पानकोट पुलबाट नदीमा फालेको बताएकी छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।
प्रकाशित मिति : २०८३ असोज २ गते शुक्रबार
