विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थालेको जनाइएको छ । विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)द्वारा जारी प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा जोखिम अझ बढ्न सक्ने चेतावनी दिएको छ ।
डब्लुएमओका अनुसार सन् २०२५ विश्वका नदीहरूका लागि तीन दशकभन्दा बढी अवधिमध्येकै सबैभन्दा सुक्खा वर्षमध्ये एक रह्यो । गत वर्ष विश्वका सबै क्षेत्रमा हिमनदी खुम्चिएका छन् भने धेरै स्थानमा भूमिगत पानीको सतह पनि लगातार घटिरहेको छ । पृथ्वीको ताजा पानीको भण्डारणमा दशकौंदेखि देखिएको गिरावट समेत निरन्तर रहेको प्रतिवेदनले जनाएको छ ।
डब्लुएमओका महासचिव सेलेस्टे साउलोले भू–जल र हिमनदी जस्ता दीर्घकालीन पानी भण्डार घट्दै जानु विशेष चिन्ताको विषय भएको बताए । ‘यस्ता भण्डारले खडेरी वा सुक्खा मौसममा पानीको अभाव तत्काल संकटमा परिणत हुन नदिने ‘बचत खाता’को काम गर्दै आएका छन् । अब हामी त्यो बचत खाता खाली गर्दैछौं, हाम्रा पानीका भण्डार खर्च गरिरहेका छौं,’ उनले भने ।
सन् २०२५ मा विश्वका सबै क्षेत्रमा हिमनदीले लगातार चौथो वर्ष उल्लेख्य मात्रामा बरफ गुमाएका छन् । सन् २०२३ देखि २०२५ सम्म हिमनदीहरूले करिब एक हजार ४०० गिगाटन पानी बराबरको द्रव्यमान गुमाएको अनुमान गरिएको छ । विश्वभर अनुगमन गरिएका करिब दुई तिहाइ कुवामा सन् २०२५ मा ऐतिहासिक अवस्था भन्दा फरक स्थिति देखिएको साउलोले बताए ।
यसबीच एल निनोको सम्भावित प्रभावले पानीसम्बन्धी जोखिम अझ बढाउन सक्ने उनले चेतावनी दिए । करिब चार दशकयताकै शक्तिशाली एल निनो विकसित हुने अपेक्षा गरिएको भन्दै उनले यसका कारण केही क्षेत्रमा खडेरी र अन्य क्षेत्रमा बाढीको जोखिम बढ्ने बताए । डब्लुएमओका अनुसार एल निनोको प्रभाव देखिनुअघि नै विश्वका नदीमा पानीको प्रवाह असामान्य बनेको थियो ।
सन् २०२५ पछिल्लो ३५ वर्षमा नदीहरूका लागि सबैभन्दा सुक्खा तीन वर्षमध्ये एक रह्यो । लगातार सातौं वर्ष विश्वभर सामान्य नदी प्रवाह भएका जलाधारको संख्या अल्पमतमा रह्यो । प्रतिवेदन अनुसार करिब ३६ प्रतिशत नदी बेसिनमा मात्र सामान्य प्रवाह देखिएको थियो भने सोही अनुपातमा सामान्य भन्दा कम र २१ प्रतिशतमा सामान्य भन्दा बढी प्रवाह थियो ।
डब्लुएमओले पानी चक्रको अवस्था बुझ्न र जोखिमको पूर्वानुमान गर्न थप गुणस्तरीय तथ्याङ्क तथा देशहरूबीच सहकार्य आवश्यक रहेको जनाएको छ । साउलोले पानीको चक्रले राजनीतिक सीमा नमान्ने भएकाले साझा तथ्याङ्क, मापदण्ड र पूर्व चेतावनी प्रणाली आवश्यक रहेको बताए । उनले एउटा देशमा हुने हिमनदीसम्बन्धी विपद्ले अर्को देशमा समेत ठूलो क्षति पुर्याउन सक्ने उल्लेख गर्दै हालै चीन र नेपालमा देखिएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे ।
