२०८३ भदौ ३१ , बुधबार 16, September 2026, Wednesday

चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला

भोटेकोशी बाढीपछि पुरिएको चिलिमे हाइड्रोमा बुधबार चार वटा शव फेला परेका छन् । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले गरेको खोज तथा उद्धारका क्रममा चार वटा शव फेला परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार सुरुङ क्षेत्रमा जारी खोज तथा उद्धार कार्यका क्रममा शवहरू फेला परेका हुन् । सुरुङको अवरोध हटाएर भित्रसम्म पुग्न सफल भएपछि उद्धार टोलीले शव भेट्टाएको जनाएको छ ।

सुरक्षाकर्मी, प्राविधिक टोली र सम्बन्धित निकायको सहभागितामा प्रभावित क्षेत्रमा हराइरहेका व्यक्तिको खोजी तीव्र पारिएको छ । फेला परेका शवहरूको पहिचान तथा थप विवरण संकलन गर्ने काम भइरहेको जनाइएको छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार तीन वटा सग्लो शव र एउटा मानव अङ्ग भेटिएको जानकारी दिए । उनका अनुसार सुरुङको ७० मिटर भित्र छिरेर गोताखोरले ती शवहरु निकाल्ने काम भइरहेको छ ।

उनका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले एउटा शव निकालेको छ भने अन्य शव निकाल्ने काम भइरहेको छ । निरन्तरको प्रयासपछि उद्धार टोली सुरुङको १५० मिटर भित्र पुगिसकेको र त्यहाँबाट थप भित्र जाने प्रयास गरिरहेको बताइएको छ ।

भदौ १० गते आएको विनाशकारी बाढीपछि चिलिमेसहित रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका क्षतिग्रस्त सुरुङ तथा संरचनाभित्र मानिसहरू फसेको हुनसक्ने आशंकामा निरन्तर खोजी तथा उद्धार कार्य सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : २०८३ भदौ ३१ गते बुधबार