सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
गाउँपालिकामा आर्थिक वर्ष २०८०–०८१ मा सञ्चालित ९० कार्यदिनको ढाका सिलाई बुनाई तालिमको प्रशिक्षकका रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ घुस माग गरेकी थिइन् ।
उक्त रकम उनले आफ्ना छोरा सुनिलको बैंक खाताको क्युआर कोडमा हाल्न लगाएको छानबिनबाट पुष्टि भएको अख्तियारले जनाएको छ । पदीय जिम्मेवारीको दुरुपयोग गरी अर्का प्रतिवादी सुनिलसँगको मिलेमतोमा उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ रिसवत लिएको ठहर अख्तियारले गरेको छ ।
यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकाले सोही दफाको उपदफा (१) को देहाय (क) अनुसार कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी लिइएको छ । यस्तै प्रतिवादी सुनिल नाछिरिङ राईले पनि उपाध्यक्ष राईसँग मिलेमतो गरी सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस रकम लिएर प्रयोगमा ल्याएको पाइएको छ ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर भएकाले सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) अनुसार कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
