भोटेकोशी त्रिशूली बाढीपछि खोज, उद्धार तथा राहतको समन्वय गरिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खोजी अभियानलाई टुङ्ग्याउने योजनामा छलफल भइरहेको जनाएको छ । बाढीको २१औँ दिनसम्म पनि उद्धारकर्मीहरू विभिन्न जलविद्युत् आयोजनाका सुरुङजस्ता संरचना तथा भूमिगत विद्युत् गृहमा फसिरहेको ठानिएका मानिसहरूको खोजी गरिरहेका छन् ।
विपद् प्राधिकरणले नदीको तटीय क्षेत्र तथा बाढीले क्षति पुर्याएका घर, विद्यालय, कार्यालयजस्ता संरचनाहरूमा भने खोजी करिब सकिएको जनाएको छ । उद्धार टोली हालसम्म पनि रसुवामा रहेको चिलिमे जलविद्युत् आयोजनाको भूमिगत पावरहाउससम्म पुग्न सकेको छैन । नेपाली सेनाले अहिले भारतीय विशेषज्ञहरूसहितको टोलीसँग मिलेर उक्त विद्युत् गृहसम्म जाने सुरुङमा बाटो बनाइरहेको छ ।
बुधवारसम्म चिलिमेको विद्युत्गृहसम्म उद्धार टोली पुग्ने ठानिएको संलग्न अधिकारीहरूले बताएका छन् । सुरुङ संरचनामा खोजी सकिएपछि यो अभियान पनि अन्त्य गर्ने योजनामा छलफल हुने प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले जानकारी दिए । ‘नेपाली सेनाको नेतृत्वमा भइरहेको सुरुङको खोजी अब पूरा भयो भन्ने खालको सूचनालाई पनि आधार मान्छौँ । त्यसपछि खोजी र उद्धारका अन्तर्राष्ट्रिय मान्यताहरू छन्, त्यसलाई पनि र स्थानीय परिस्थितिलाई पनि आधार मानेर अघि बढ्ने भन्ने कुरा भएको छ,’ उनले भने ।
‘आजको मितिसम्म हामीले कुनै निर्क्योल निकालेको अवस्था चाहिँ होइन । यसमा हामी काम गर्दैछौँ र सायद एकदुई दिनमा केही आउँछ होला,’ उनले थपे । जलविद्युत् आयोजनाका सुरुङमा जारी खोजीकार्यले अझै केही दिन निरन्तरता पाउन सक्ने प्राधिकरण प्रमुखको भनाइ छ । ‘केही आशाका साथ काम भइरहेका सुरुङको अवस्था के हुन्छ भनेर पनि हामी हेर्दैछौँ,’ उप्रेतीले भने ।
सम्पर्कविहीनबारे ‘केही दिनभित्र निर्णय लिइने’
खोजी अभियानको अन्त्यसँगै बाढीपछि सम्पर्कविहीन रहेका मानिसहरूलाई मृत घोषणा गर्न सकिनेबारे छलफल भइरहेको प्राधिकरण प्रमुख उप्रेतीले जानकारी दिए । ‘हराएको र मृतक घोषणा गर्ने विषयमा पनि छलफल जारी रहेको उनले बताए । ‘अहिलेको कार्यविधि र नियमावलीमा संशोधन गरेर जाने र हराएका वा बेपत्ता भएका व्यक्तिको सामान्य प्रक्रियाभन्दा फरक तरिकाले हेर्ने कि भन्ने कुरा पनि छलफलमा आएको छ,’ उनले भने ।
उनका अनुसार स्थानीय सरकारको प्रमाणीकरण, जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित परिवारको स्वघोषणामा त्यस्तो निर्णय लिनेबारे छलफल जारी छ । ‘सीधै भन्दा पनि स्थानीय तहबाट आएको पत्र वा सम्बन्धित परिवारको स्वघोषणा, जिल्ला विपद् व्यवस्थापन समितिबाट आएको पत्रृलगायते सबैलाई आधार मानेर निर्णय लिने भन्ने छ,’ उप्रेती भन्छन् । अबको केही दिनभित्रै यसबारे निर्णय लिइने उनले बताएका छन् । प्राधिकरणका अनुसार हालसम्म पाँच हजार १३० जना मानिसहरू बाढीपछि सम्पर्कविहीन छन् । बाढीमा ज्यान गुमाएका एक हजार ३९५ जनामध्ये करिब १०० जनाको मात्रै शव पहिचान भएको छ ।
सुरुङमार्गको खोजीमा प्रगति के छ ?
खासगरी सुरुङ संरचना भएका जलविद्युत् आयोजनाहरूमा खोजीकार्यको नेतृत्व गरिरहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत सरकार र सम्बन्धित आयोजनाहरूको निर्णयका आधारमा खोजीकार्य अन्त्य हुने बताउँछन् । ‘हामीले नेपाल सरकारको निर्देशन बमोजिमको काम गरिरहेका छौँ । सम्बन्धित आयोजनाको प्राविधिकसँगको समन्वयमा काम भइरहेको छ,’ बस्नेत भन्छन्, ‘आयोजनाले पनि सरकारलाई त्यही अनुसारको सिफारिस दिन्छ नि ।’
अहिले उद्धार अभियानको पहिलो उद्देश्य चिलिमे आयोजनामा विद्युत्गृहसम्म पुग्ने रहेको बस्नेतले बताए । बाढीको २१ दिनसम्म पनि उद्धारकर्मीहरू करिब २५० मिटर लामो सुरुङभित्र आयोजनाको विद्युत् गृह रहेको स्थानसम्म पुग्न सङ्घर्ष गरिरहेका छन् । उद्धारस्थलमा रहेका आयोजनाका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार मङ्गलवार उद्धारकर्मीहरू १७५ मिटर भित्रसम्म पुगेका छन् ।
‘त्यहाँभन्दा भित्रको सुरुङ पानीले भरिएको भएर अगाडि बढ्न सक्नुभएन,’ उनले भने, ‘भित्र कति पानी छ भन्ने कुरा अझैसम्म थाहा भएको छैन । अलिकति उकालो भएको भएर त्यहाँभन्दा उता सहज होला भन्ने अपेक्षा छ ।’ नेपाली सेनाले रसुवागढी जलविद्युत् आयोजना, अपर त्रिशूली १, अपर त्रिशूली ३ ए, अपर त्रिशूली ३ बी र लाङटाङ जलविद्युत् आयोजनास्थलबाट सम्पर्कविहीन मानिसहरूको खोजीमा आफ्नो जनशक्ति र स्रोत साधन केन्द्रित गरेको छ ।
सैनिक प्रवक्ता बस्नेतका अनुसार रसुवागढीमा विद्युत्गृहको छैटौँ तलामा रहेको नियन्त्रण कक्षसम्म उद्धारकर्मीहरू पुगे पनि त्यसभन्दा तल बाढीले पुरेका तलाहरूबाट हिलो र भग्नावशेष हटाउने प्रयास भइरहेको छ । बाढीको ११औँ दिनमा त्रिशूली ३ एको पुरिएको पावरहाउस क्षेत्रबाट दुई जना मानिसहरूको जीवितै उद्धार भएको थियो । त्यहाँसम्म पुग्न उद्धार टोलीले बाढीले पुरेको ठाउँ करिब ४० फीटसम्म खनेर प्रवेशमार्ग पहिल्याएको थियो ।
दुई जनाको उद्धार सकिएपछि पहिरोले पुनः पुरेको उक्त मार्गलाई पन्छाएर पावरहाउसका अन्य क्षेत्रमा खोजी गर्ने प्रयास भइरहेको नेपाली सेनाका प्रवक्ताले बताएका छन् । त्रिशूली ३ बीको विद्युत्गृहसहितका संरचना बाढीले पुरेका कारण त्यसलाई करिब ३० फीटसम्म खनेर मानिसहरूको खोजी गर्ने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ । ‘त्यसमा खोतलेर जगहरू पनि फेला परिसकेको छ । अरू केही फेला परेको छैन,’ सैन्य प्रवक्ता बस्नेत त्रिशूली ३ बीबारे भन्छन् । सबैभन्दा लामो सुरुङ संरचना रहेको अपर त्रिशूली १ मा मानिसहरू जान नसकिएका ठाउँमा ड्रोनको सहायतामा समेत खोजीकार्य चलिरहेको सेनाले जनाएको छ ।
