२० वर्षअघि तीन दिनकी सुत्केरी हुँदा श्रीमान् बेपत्ता भएको पीडा भोगेकी म्याग्दीको मालिका गाउँपालिका–४ छापकी ४५ वर्षीया नरमाया घर्तीको जीवन फेरि अँध्यारिएको छ । नाकको गम्भीर स्वास्थ्य समस्या झेलिरहेकी नरमायाका २३ वर्षीय छोरा भुपेन्द्र रेग्मी भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएपछि छोराको खोजी र आफ्नै उपचारको दोहोरो पीडामा परेकी छन् ।
रसुवामा निर्माणाधीन जलविद्युत् आयोजनामा कामदार रहेका भुपेन्द्रले भदौ ९ गते साँझ आमालाई फोन गरेका थिए । ‘असोजमा उपचारका लागि काठमाडौँ जाने, दसैँअघि बिहे गर्ने र पोखरा गएर बस्ने योजना सुनाएका थिए,’ नरमायाले भनिन्, ‘१० गतेदेखि छोरासँग सम्पर्क भएको छैन ।’ नरमायालाई नयाँ नम्बरबाट फोन आउँदा कतै छोराले गर्यो कि ? भन्ने आस लाग्छ ।
छोराको खोजीका लागि स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनी, आयोजना र सरकारी निकायमा गुहार मागेकी नरमायालाई काठमाडौँदेखि घर फर्कने आँट आएको छैन । ‘छोराको अवस्था टुङ्गो नलागी कसरी घर जानु ?’ नरमायाले प्रश्न गरिन्, ‘तीन दिनको सुत्केरी हुँदा श्रीमान् बेपत्ता हुनुभयो । भोटेकोशीको बाढीले मेरो भरोसा खोस्यो, झनै पीडा थपिदियो ।’
खेतीकिसानी गरेर जीवन निर्वाह गर्दै आएकी नरमायाका श्रीमान् नन्दबहादुर रेग्मी बेपत्ता भएको २० वर्ष पुगेको छ । नन्दबहादुर दरवाङको एक किराना पसलमा बजार प्रतिनिधिको काम गर्थे । नन्दबहादुर बेपत्ता हुँदा नरमायाकी छोरी तीन दिनकी थिइन् । अवस्था पहिचान नभएपछि आफन्त र गाउँलेहरूको सल्लाहमा नन्दबहादुरको धार्मिक विधिअनुसार काज किरिया भइसकेको छ ।
नरमायाले आर्थिक अभावका कारण अदालतबाट श्रीमान्को न्यायिक मृत्यु प्रमाणित गराउन नसकेको बताइन् । नन्दबहादुरले नागरिकता बनाएका थिएनन् । उनीहरूबीच कागजी रूपमा विवाह दर्ता पनि भएको थिएन । प्रक्रिया पूरा गर्न नसक्दा नरमाया सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाट पनि वञ्चित छन् ।
कक्षा ८ सम्म पढेका भुपेन्द्रले बहिनीलाई ज्याला, मजदुरी गरेर कक्षा १० सम्म पढाए । गत जेठमा नाकमा समस्या देखिएपछि भुपेन्द्रले आमालाई दुई महिना गण्डकी अस्पतालमा उपचार गराएका थिए । भुपेन्द्रले पोखराबाटै आमालाई घर पठाएर मजदुरी गर्न रसुवा गएका थिए । नरमायाको नाकको समस्या अझै पहिचान भएको छैन ।
मासिक रु २१ हजारको औषधि सेवन गर्नुपर्छ । नरमायालाई थप उपचारका लागि असोजमा काठमाडौँ लैजाने भुपेन्द्रको योजना थियो । स्थानीय ओखरबोट माविका शिक्षक नवीन पुनले नरमायाको जीवनमा एकपछि अर्को बज्रपात परेको बताए । ‘नरमायालाई चिकित्सकले ब्रेन ट्युमरको आशङ्का गरेर थप उपचारका लागि काठमाडौँ वा भारत जान भनेपछि पैसा जुटाउन रसुवा पुगेका भुपेन्द्रलाई बाढीले बेपत्ता बनायो,’ उनले भने ।
नरमायासामु बेपत्ता छोरा खोज्नेमात्र नभएर आफ्नो उपचार कसरी गर्ने भन्ने चुनौती सृजना भएको उनले बताए । बागलुङमा विवाह भएकी नरमायाकी छोरीको बच्चा सानो भएकाले दाजुको खोजी र आफ्नो उपचारका लागि स्रोत जुटाउन हिँडेकी आमालाई सघाउन सकेकी छैनन् । शिक्षक पुनको अगुवाइमा नरमायाको उपचारका लागि सहयोग सङ्कलन अभियान सञ्चालन भएको छ ।
‘एक हप्ताको अवधिमा सामाजिक सञ्जालमार्फत गरेको अपिलबाट नरमायाको खातामा करिब रु दुई लाख ५० हजार जम्मा भएको छ । प्रतिबद्धता जनाएका सबैले सहयोग गरेमा करिब रु आठ लाख जुट्ने अनुमान गरेको छु,’ पुनले भने, ‘रोग पहिचान र उपचार गरिदिन पाए हुन्थ्यो तर अस्पतालमा कुरुवा बसिदिने परिवारका सदस्य र आफन्तसमेत नभएर अप्ठ्यारो परेको छ ।’
