२०८३ भदौ ३० , मंगलबार 15, September 2026, Tuesday

माइतीको आँगनदेखि सामाजिक सञ्जालसम्म ‘बदलिँदो तीज’

काठमाडौंको पशुपतिनाथ मन्दिरमा सोमबार हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तिजका दिन पूजाअर्चना तथा दर्शन गर्ने आएका भक्तजन भजनकीर्तन गर्दै । तस्वीर : हरिराम भेटुवाल । रासस

तीज भन्ने बित्तिकै धेरैका आँखामा रातो सारी, हरियो चुरा, पोते, नाचगान र दरको सम्झना आउँछ तर तीज केवल एउटा चाडको नाम होइन, नेपाली महिलाको जीवन, सम्बन्ध, संस्कार र समयसँगै बदलिँदै गएको सामाजिक अवस्थाको कथा पनि हो । एक समय थियो, तीज विवाहित चेलीका लागि माइती पुग्ने दुर्लभ अवसर थियो ।

वर्षभरि कर्मघरको काममा व्यस्त हुने बुहारीका लागि माइतीको आँगनमा पुगेर दिदीबहिनी भेट्नु, सुख–दुःख साट्नु र मनका कुरा गीतमार्फत पोख्नु नै तीजको ठूलो खुशी थियो । अहिले भने तीजको स्वरूप फेरिएको छ । यातायात र सञ्चारको सुविधा बढेको छ । माइती पुग्न कसैको बाटो कुरिरहनु पर्दैन । तीज आउनुअघि नै दर खाने कार्यक्रम सुरु हुन्छ ।

साथी तथा दिदीबहिनी रेस्टुरेन्ट र समारोहमा भेटिन्छन् । तीजका तस्वीर र भिडियो सामाजिक सञ्जालमा छरिन्छन् । दोर्दी गाउँपालिका–३ की ७० वर्षीया यशोदा घिमिरेका लागि तीजको सम्झना अझै माइतीसँग जोडिएको छ । उनका अनुसार पहिले तीज विवाहित चेलीका लागि माइती भेट्ने प्रमुख अवसर थियो ।

विवाहपछि टाढाटाढा पुग्ने र वर्षभरिमा माइती आउजाउ गर्न सहज नहुने भएकाले तीजमा माइती जान पाउनु ठूलो अवसर मानिन्थ्यो । त्यतिबेला सवारीसाधनको सुविधा थिएन । टाढा माइती जान घण्टौं हिंड्नुपर्थ्यो । तीज आउन केही दिनअघि नै बाबु, दाजु वा भाइ चेलीलाई लिन कर्मघर पुग्ने चलन थियो । कतिपय चेली आफै पनि माइती जाने गर्थे ।

‘त्यतिबेला अहिले जस्तो सवारीसाधन र सञ्चारका माध्यम थिएनन् । टाढा भएका माइतीसम्म पुग्न घण्टौं हिँड्नु पथ्र्याे । त्यसैले तीजमा माइती भेट्नु नै ठूलो कुरा हुन्थ्यो,’ उनले भनिन् । माइती पुगेपछि दिदीबहिनी तथा चेलीबेटी एकै ठाउँमा जम्मा हुन्थे । नाचगान हुन्थ्यो, सुख दुःखका कुरा हुन्थे ।

घरपरिवारमा भोगेका पीडा, गुनासा र मनका कुरा तीजका गीतमार्फत सुनाउने गरिन्थ्यो । त्यसबेला फोन वा सामाजिक सञ्जाल थिएनन् । टाढा भएका आफन्तसँग प्रत्यक्ष भेटेरै कुरा गर्नु पथ्र्यो । त्यसैले तीज महिलाका लागि मनको भारी बिसाउने अवसर पनि थियो । छोरी–चेली आउने भएपछि माइती पक्ष पनि बाटो हेरेर बस्थ्यो ।

घरमा चेलीका लागि दरको जोहो गरिन्थ्यो । उपलब्ध खाद्य सामग्री जुटाएर विशेष खाना बनाइन्थ्यो । सबैजना भेला भएर खाने, नाच्ने र रमाइलो गर्ने गरिन्थ्यो तर तीज आए पनि सबै बुहारी माइती जान पाउँदैनथे । घरको कामलाई प्राथमिकता दिइने भएकाले कतिपयलाई सासू–ससुराले माइती जान अनुमति नदिने अवस्था थियो ।

बुहारीले घरधन्दा र अन्य काममा बढी समय दिनुपर्ने भएकाले माइतीसँग भेटघाट गर्ने अवसर सीमित हुन्थ्यो । ‘तीज आए पनि सबै बुहारी माइती जान पाउँदैनथे । घरको काम गर्नुपर्छ भनेर कतिपयलाई जान दिइँदैनथ्यो । त्यतिबेला काम नै ठूलो कुरा मानिन्थ्यो,’ उनले भनिन् । बेंसीसहर नगरपालिका–२ भकुण्डेकी ४४ वर्षीया पार्वती क्षेत्रीले भने आफ्नो पुस्तासम्म आइपुग्दा तीज मनाउने तरिकामा विस्तारै परिवर्तन आएको अनुभव गरेकी छन् ।

अघिल्लो पुस्ताको तुलनामा महिलामा चेतना बढ्दै गएपछि चेलीलाई माइती जान दिने र महिलाले पनि चाडपर्व मनाउन पाउनु पर्ने सोच विकास हुँदै गएको उनी बताउँछिन् । ‘पहिलेभन्दा विस्तारै चेतना बढ्दै गयो । माइती जानुपर्छ, चाडपर्व मनाउन पाउनु पर्छ भन्ने कुरा पनि बुझ्न थालियो । त्यसपछि माइती जाने र भेटघाट गर्ने अवस्था अलि सहज हुँदै आयो,’ उनले भनिन् ।

सडक र सवारीसाधनको पहुँच बढेपछि माइती आउजाउ अझ सहज भयो । पहिले बाबु, दाजु वा भाइ चेलीलाई लिन आउनुपर्ने अवस्था भए पनि पछि त्यो चलन क्रमशः कम भयो । फोनको सुविधा आएपछि माइतीबाट फोन गरेर बोलाउने र चेली आफै जाने क्रम बढ्यो । तीजको अघिल्लो दिन दर खाने र भोलिपल्ट व्रत बस्ने परम्परा भने कायम रह्यो ।

विवाहित महिलाले श्रीमानको दीर्घायु तथा परिवारको सुख–समृद्धिको कामना गर्दै व्रत बस्ने, दिनभरि साथीसङ्गीसँग भेटघाट गर्ने र नाचगान गरेर तीज मनाउने गरेको उनी बताउँछिन् । ‘तीजको अघिल्लो दिन दर खाने र भोलिपल्ट व्रत बस्ने चलन थियो । श्रीमानको आयु लामो होस्, सबै राम्रो होस् भनेर व्रत बसिन्थ्यो । दिनभरि साथीसङ्गीसँग भेटेर नाचगान गर्दै सुख दुःख साटेर तीज मनाउँथ्यौं,’ उनले भनिन् ।

बेंसीसहरकी २५ वर्षीया स्वेच्छा श्रेष्ठले भने आफूले देख्दै र भोग्दै आएको तीज अघिल्लो पुस्ताको भन्दा निकै फरक रहेको बताउँछिन् । उनका लागि तीज महिलाको पर्व हो । तीजमा दर खाने, व्रत बस्ने र श्रीमानको दीर्घायुको कामना गर्ने परम्पराबारे उनी जानकार छिन् । ‘तीज भनेको महिलाहरूको पर्व हो भन्ने बुझेकी छु । तीजमा व्रत बस्ने, अघिल्लो दिन दर खाने र श्रीमानको आयु लामो होस् भनेर कामना गर्ने चलन हो भन्ने बुझेकी छु,’ उनले भनिन् ।

उनका अनुसार अहिले तीज आउनुभन्दा महिनौं अघिदेखि नै दर खाने कार्यक्रम सुरु हुन्छन् । साथी तथा महिलाहरू समूह बनाएर पार्टी, समारोह र रेस्टुरेन्टमा जाने, दर खाने र रमाइलो गर्ने चलन बढेको छ । परम्परागत खानासँगै मासु, चिउरा तथा विभिन्न पेयपदार्थसहितका कार्यक्रम पनि हुन थालेका छन् । पहिरन र गरगहनामा प्रदर्शनको प्रवृत्ति बढेको उनको अनुभव छ ।

कसले राम्रो पहिरन लगाउने र कसले बढी आकर्षक देखिने भन्ने प्रतिस्पर्धा देखिन थालेको उनी बताउँछिन् । तीज मनाएका तस्वीर, भिडियो तथा कार्यक्रमका गतिविधि सामाजिक सञ्जालमा पोस्ट गर्ने चलन पनि अहिले बढ्दै गएको छ । यसले तीजलाई घर, माइती र समुदायको सीमाबाट निकालेर सामाजिक सञ्जालको सार्वजनिक संसारमा पुर्याएको छ ।

तीजका गीतको स्वरूपमा आएको परिवर्तनप्रति भने उनको चिन्ता छ । पहिले धार्मिक भावना, मौलिक संस्कार–संस्कृति तथा महिलाका सुख दुःख समेटिएका गीत गाइन्थे । अहिले तीजका नाममा मनोरञ्जन र नाचगानलाई बढी प्राथमिकता दिने गीत आउने गरेको उनको बुझाइ छ । नेपाली मौलिक गीतसँगै विदेशी गीतमा पनि नाचगान गर्ने चलन बढेको उनी बताउँछिन् ।

‘अहिले तीजको नाममा रमाइलो र नाचगानलाई बढी प्राथमिकता दिइएको जस्तो लाग्छ । मौलिक तीजका गीत र परम्परा जोगाउन सबैले सचेत भएर लाग्नुपर्छ,’ उनले भनिन् । उनी सम्भव भएसम्म गाउँघरमै, नभए आफ्नै घरमा साथीहरूसँग भेला भएर तीज मनाउने पक्षमा छिन् । तीजलाई केवल रमाइलो र प्रदर्शनको पर्वभन्दा पनि सुख दुःख साट्ने तथा मौलिक परम्परा र संस्कृतिसँग जोडेर मनाउनु पर्ने उनको धारणा छ ।

तीन पुस्ताका यी अनुभवले तीजको बदलिँदो तस्वीर देखाउँछन् । हिजो तीज माइती पुग्ने र मनका पीडा पोख्ने अवसर थियो । त्यसपछि सडक, सवारीसाधन र फोनसँगै माइती आउजाउ सहज भयो । अहिले तीज रेस्टुरेन्ट, समारोह र सामाजिक सञ्जालसम्म विस्तार भएको छ । माध्यम फेरिए पनि तीजको केन्द्रमा रहेको चेली र माइतीको सम्बन्ध, सुख दुःख साट्ने चाहना र आफ्नो संस्कृतिप्रतिको अपनत्व भने हराउनु हुँदैन ।

तीजलाई समय अनुकूल बनाउँदै लैजाँदा त्यसको मौलिकता जोगाउने चुनौती पनि सँगसँगै आएको छ । माइतीको आँगनबाट सुरु भएको तीजको यात्रा आज सामाजिक सञ्जालसम्म आइपुगेको छ । अबको प्रश्न यही हो–परिवर्तनसँगै अघि बढ्दा तीजको मौलिक आत्मालाई कसरी जोगाउने ?

प्रकाशित मिति : २०८३ भदौ २९ गते सोमबार