२०८३ भदौ २९ , सोमबार 14, September 2026, Monday

आगामी शैक्षिकसत्रदेखि देशभर ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ लागू

सरकारले विद्यालय शिक्षालाई थप व्यावहारिक, सीपमूलक र रोजगारमुखी बनाउने उद्देश्यले आगामी शैक्षिकसत्रदेखि ‘बुक फ्रि फ्राइडे’ (किताबमुक्त शुक्रबार) र ‘स्किल इन एजुकेसन’ (शिक्षामा सीप) अवधारणा देशभर लागू गर्ने तयारी गरेको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरोकारवालाहरूसँग सुझाव सङ्कलन गर्ने क्रममा सिरहा र सप्तरीमा आयोजित कार्यक्रममा सो जानकारी दिएका हुन् ।

बदलिँदो समय, प्रविधिको विकास र श्रमबजारको आवश्यकतालाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी जीवनोपयोगी सीपसँग जोड्न नयाँ पाठ्यक्रम प्रारूप तयार पारिँदै, मन्त्री पोखरेलले स्पष्ट पारेका छन् ।

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि गठन गरिएको कार्यदलले अहिले देशका सातै प्रदेशमा पुगेर विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूसँग व्यापक अन्तरक्रिया र सुझाव सङ्कलन गरिरहेको छ ।

हालसम्मको सङ्कलनबाट कृत्रिम बौद्धिकता, सूचना प्रविधि, नैतिक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र जीवनोपयोगी सीपहरूलाई पाठ्यक्रममा अनिवार्य रूपमा समेट्नुलर्ने सुझाव प्रमुख रूपमा आएका छन् ।

पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणअन्तर्गत २८ जिल्लामा जारी यो अभियान भदौ ३० गतेसम्म सञ्चालन गर्ने र त्यसपछि ७७ वटै जिल्लामा विस्तार गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार