तिब्बत–नेपाल सीमामा भदौ १० गतेको हिमपहिरो र त्यसबाट उत्पन्न बाढीको तीव्र बहावले हिमाली क्षेत्रमा विपद् पूर्वसूचना प्रणालीमा रहेका गम्भीर कमजोरीलाई उजागर गरेको विज्ञले बताएका छन् । सुनामीजस्तै आएको पानी, लेदो र गेग्य्रानको तीव्र बहावबाट एक हजार ४१० भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । पाँच हजार ६५१ जना अझै सम्पर्कविहीन छन् ।
फ्रान्सको नेसनल रिसर्च इन्स्टिच्युट फर सस्टेनेबल डेभलपमेन्ट र युनिभर्सिटी अफ ग्रेनोबल आल्प्सकी अनुसन्धान वैज्ञानिक क्रिस्टिन कुकले यो घटना मुख्यतः यसको विशाल परिमाणका कारण असामान्य रूपमा विनाशकारी बनेको बताएकी छन् । ‘सुरुआती चट्टान खस्ने घटना पछिल्ला दशकमा विश्वकै ठूला पहिरोमध्ये एक हो,’ चाइना डेलीसँगको कुराकानीमा कुकले भनिन् ।
समग्र प्रक्रिया अरू ठूला हिमाली विपद्सँग मौलिक रूपमा फरक नभए पनि पहिरोको असाधारण आकारले यो घटनालाई अलग बनाएको उनको भनाइ छ । ‘चट्टान र हिउँको निकै ठूलो परिमाण जमिनबाट खस्दा निस्किएको भग्नावशेषमा अत्यधिक ऊर्जा थियो । त्यहाँ बहावका निम्ति पानी उपलब्ध गराउन सक्ने पग्लिनयोग्य हिउँ पनि ठूलो मात्रामा थियो,’ उनले भनिन् ।
कुकले यो घटनालाई भारतको उत्तराखण्डमा सन् २०२१ को चमोली विपद् र २०२३ मा जर्जियाको शोभीमा भएको घटनासँग तुलना गरेकी छन् । चमोलीको पहिरो यो घटनाभन्दा करिब १० गुणा सानो थियो । शोभीको पहिरो करिब १०० गुणा सानो रहेको उनले जनाएकी छन् । अस्ट्रियाको युनिभर्सिटी अफ ग्राजका भू–वैज्ञानिक ज्याकब स्टाइनरले यो घटनाको सबैभन्दा आश्चर्यजनक पक्षमध्ये एक तल्लो तटीय क्षेत्रमा परेको प्रभाव भएको बताए ।
‘त्यति ठूलो र विशाल लहरका निम्ति यसको स्रोत क्षेत्र तुलनात्मक रूपमा सानो हुनु नै मुख्य भिन्नता हो,’ स्टाइनरले भने । उनका अनुसार, अहिलेसम्मको अध्ययनले यो हिमनदी मात्र भत्किएको घटना नभई एउटा सिंगो पहाड नै खसेको संकेत गर्छ । ‘हिमनदी पहाडको माथि मात्र बसेको थियो, त्यसैले पहाडसँगै हिमनदी पनि भत्कियो,’ उनले भने ।
उनले अगाडि भने, ‘पूरै संरचना तल खस्यो र त्यहाँ अत्यधिक सामग्री थियो । धेरै चट्टान र हिउँ पनि थियो । त्यति ठूलो परिमाणको सामग्री यति छिटो बाढीमा परिणत भयो भन्नु आश्चर्यजनक छ ।’ कुकले पनि यसमा सहमति जनाउँदै हिमपहिरो कसरी यति तीव्र गतिमा बग्ने पानीको बहावमा परिणत भयो भन्ने विषयमा अझै प्रश्न रहेको बताइन् ।
‘हामीलाई यस्तो प्रक्रिया हुन्छ भन्ने थाहा छ, तर बहाव तलतिर बग्दै जाँदा यसको आन्तरिक संरचनामा ठ्याक्कै के भइरहेको हुन्छ भन्ने निश्चित रूपमा बुझ्न निकै गाह्रो छ,’ उनले भनिन् । उनका अनुसार, बहाव तलतिर जाँदा खसेको केही हिउँ पग्लिएर त्यसमा थप पानी मिसिएको थियो । बहावले नदीबाट समेत पानी सोसेको थियो । लेदो र चट्टान मिसिँदा बहावको परिमाण अझ बढेको थियो । ‘मुख्य कुरा के हो भने उपत्यका पर्याप्त भिरालो र साँघुरो भएकाले बहावमा निरन्तर परिवर्तन भइरहे पनि त्यसलाई अगाडि बढ्न पर्याप्त गति मिल्यो,’ उनले भनिन् ।
पर्माफ्रस्टमा आएको परिवर्तन
स्टाइनरले पहाड भत्किनुअघि हिमनदीको क्षयीकरण र पर्माफ्रस्ट अर्थात् लामो समयसम्म जमेर रहने माटो वा चट्टानमा आएको परिवर्तनले त्यस क्षेत्रको स्थायित्व कमजोर बनाएको हुन सक्ने बताए । हिमनदी घटेपछि पहिले हिउँले ढाकिएका चट्टानहरू क्षयीकरणको जोखिममा परेका हुन सक्छन् । पर्माफ्रस्ट पग्लिँदा चट्टानहरूलाई समातेर राख्ने संरचनात्मक आधार कमजोर भएको हुन सक्ने उनको भनाइ छ ।
स्टाइनरले योसँग जोडिएको अर्को महत्त्वपूर्ण दीर्घकालीन जोखिमतर्फ पनि ध्यानाकर्षण गराए । ‘केही जोखिमका हकमा पहिरो जाने क्रम बढिरहेको छ । तर, विभिन्न जोखिमबीचको अन्तरक्रिया र बहुविपद्का घटना बढिरहेको संकेत पनि देखिन्छ,’ उनले भने । विपद्को असाधारण तीव्रताले पूर्वसूचना प्राप्त गर्ने विद्यमान क्षमताको सीमा समेत उजागर गरेको कुकले बताइन् । ‘यो घटना हालका पूर्वसूचना प्रणालीमा रहेका सीमाबारे एउटा दुःखद पाठ हो,’ उनले भनिन् ।
हालका पूर्वसूचना प्रणाली प्रायः नदीको जलस्तर तथा बहावको अनुगमनमा निर्भर हुन्छन् । तर, अत्यन्त ठूलो बाढी आउँदा उपयोगी तथ्यांक पठाउनुअघि नै नदीमा जडान गरिएका उपकरण नष्ट हुन सक्छन् । भविष्यमा यसको सम्भावित विकल्पका रूपमा भूकम्पीय अनुगमन प्रणाली प्रयोग गर्न सकिने कुकले बताइन् । ‘सिस्मोमिटरहरूले टाढाको दूरीबाट समेत पहिरो र बाढीका कारण उत्पन्न हुने भूकम्पीय कम्पन रेकर्ड गर्न सक्छन् । यिनीहरूले केही सेकेन्डमै घटनालाई ‘देख्न’ सक्छन् र केही मिनेटभित्रै चेतावनी जारी गर्न सकिन्छ,’ उनले भनिन् ।
यस्ता प्रणाली अझै व्यापक रूपमा कार्यान्वयनमा आइनसके पनि वैज्ञानिकले यो विषयमा काम गरिरहेको उनले उल्लेख गरिन् । स्टाइनरले यो विपद्ले अन्तर्राष्ट्रिय सीमापार पूर्वसूचना जारी गर्दा उत्पन्न हुने विशेष जटिलतालाई पनि उजागर गरेको बताए । कुनै अधिकारीले सेन्सरबाट प्राप्त तथ्यांक जाँच गर्ने र त्यसपछि अर्को देशका सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्ने प्रक्रियामा आधारित चेतावनी प्रणालीले विपद्को तीव्रतासँग प्रतिस्पर्धा गर्न पर्याप्त समय नपाउन सक्ने उनले औँल्याए ।
‘विपद्हरू धेरै तीव्र छन्, त्यसैले हामी त्योभन्दा पनि द्रुत हुनुपर्छ,’ उनले भने । देशहरूले दुवै पक्षका निम्ति पहिले नै उपलब्ध उपग्रह तथ्यांकको अझ बढी प्रयोग गर्नुपर्नेमा स्टाइनरले जोड दिए । ‘प्रकृति बदलिरहेको छ र यो निकै तीव्र गतिमा बदलिरहेको छ । हामीले आफ्नो गति साँच्चै बढाउनुपर्छ, नत्र यस्ता घटनाहरू अझ बारम्बार दोहोरिन सक्छन्,’ उनले भने ।
