भोटेकोसीको बाढीले रसुवा र नुवाकोटमा मच्चाएको विनाशपछि सरकारी तथा सार्वजनिक सेवामा कार्यरत ५८ जना हराइरहेको संघीय मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बेपत्तामध्ये आठ जना स्थानीय तहका जनप्रतिनिधि छन् । यस्तै, स्वास्थ्यकर्मी, शिक्षक, अध्यागमन कर्मचारी, भन्सारका कर्मचारी, क्वारेन्टाइनका प्राविधिक र राष्ट्रिय निकुञ्जका कर्मचारी पनि हराइरहेका छन् ।
गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष केसाङ नुर्पु तामाङका अनुसार उपाध्यक्ष प्रतिमा तामाङ, वडाध्यक्ष मामिछिरिङ तामाङ, अर्का वडाध्यक्ष दावा मिङ्मार तामाङ, वडा सदस्यहरू लक्ष्मी परियार, कामी सिदार घले र सोनाम छिरिङ बेपत्ता छन् । पालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षक गरेर २४ जना अझै फेला नपरेको उनी बताउँछन् ।
यता, लेखा अधिकृत केसाङ दिण्डुप तामाङ, आन्तरिक लेखा परीक्षक सहायक पाँचौँ पदमा कार्यरत प्रकाश जिसी र प्रकाश आचार्य पनि अहिलेसम्म फेला परेका छैनन् । यस्तै, गोसाइँकुण्ड गाउँपालिकामै कृषि प्राविधिक सहायक चौथो पदमा कार्यरत नरबहादुर थापा, हेल्थ असिस्टेन्ट खम्बु बोहोरा, मनोसामाजिक परामर्शदाता कोपिला केसी, अहेबहरू विजयकुमार घले, सुस्मिता पाण्डे र कर्मा हिसी घलेको अवस्थाबारे पनि केही पत्ता नलागेको पालिका अध्यक्ष तामाङले बताए ।
तीन महिनाको बच्चासहित अनमि सरिता मल्ल र सामाजिक परिचारिका शान्ति तामाङ पनि फेला परेका छैनन् । पाँच वर्षको छोरासहित कार्यालय सहयोगी ल्हाक्पा तेम्बा लामाको नाम पनि हराइरहेकाहरूको सूचीमा छ । कार्यालय सहयोगीहरू विशाल तामाङ, नाङकाङ घले पनि सम्पर्कविहीन छन् । गोसाइँकुण्डमा मात्र होइन, बाढीले उत्तरगया गाउँपालिकाबाट पनि १५ जनालाई सम्पर्कविहीन बनाएको पालिका अध्यक्ष माधवप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार कार्यपालिका सदस्य ज्ञानु विक, सूचना प्रविधि अधिकृत जनक आचार्य, जनस्वास्थ्य अधिकृत बलराम न्यौपाने र प्रदिप न्यौपानेसहित अनमि दिनिशा शाही, कार्यालय सहयोगी रेखा तामाङ बाढीमा परेका छन् । रसुवा भन्सार कार्यालय टिमुरेमा कार्यरत ठूलो संख्याका कर्मचारी बाढीपछि हराइरहेका छन् । रसुवागढीको अध्यागमन कार्यालय रसुवाका वरिष्ठ अध्यागमन अधिकृत दुर्गाप्रसाद पोखरेलको अवस्था अज्ञात छ । तर, अध्यागमन अधिकृत यादव भण्डारीको भने शव फेला परेको छ ।
यसैगरी, अध्यागमन सहायक पार्वती मानन्धर र कार्यालय सहयोगी छिरिङ ल्हामु तामाङ पनि बाढीपछि फेला परेका छैनन् । बाढीले तहसनहस पार्दा टिमुरेमा रहेको भन्सार कार्यालयका १५ जना हराइरहेको संघीय मामिला मन्त्रालयले जनाएको छ । जसमा भन्सार अधिकृत नकुल शर्माको शव फेला परेको छ । मन्त्रालयले दिएको नामावली अनुसार भन्सार कार्यालय टिमुरेमा कार्यरत गोविन्दबहादुर अधिकारी, नरेशदत्त जोशी र प्रेम सेढाइँ अहिलेसम्म फेला परेका छैनन् ।
यसैगरी, भन्सारकै नायब सुब्बा विकास तामाङ, विष्णुप्रसाद भुसाल, स्विपर रामबहादुर नेपाली पनि बाढीमा परेदेखि कतै फेला परेका छैनन् । इलेक्ट्रिसियनमा कार्यरत राजु वली, पद नखुलेको तर भन्सार कार्यालय टिमुरेमै कार्यरत सुनिल गुरुङ, भीमबहादुर लामा, दिनेशकुमार घिमिरे, अनिता पुरी, हरिबहादुर खड्का र राजेन्द्रकुमार सोनकार पनि बेपत्ता रहेको संघीय मामिला मन्त्रालयका सहसचिव तथा प्रवक्ता एकदेव अधिकारीले जानकारी दिए ।
टिमुरेस्थित प्लान्ट क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक जागेश्वर शर्मा, खरिदार आयुष खड्का र कार्यालय सहयोगी शिवप्रसाद ढकाल पनि बाढीपछि सम्पर्कविहीन छन् । यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर नीलम कार्की, सिनियर गेमस्काउट मैया दाहाल र पूर्णप्रसाद आचार्यलाई पनि फेला पार्न नसकेको मन्त्रालयले जनाएको छ । भोटेकोसी बाढीले रसुवा र नुवाकोटका शिक्षक पनि बगाएको छ । रसुवाको गोसाइँकुण्डका अध्यक्ष तामाङका अनुसार निमावि शिक्षकद्वय रामचन्द्र विक र सन्तोष श्रेष्ठ हराइरहेका छन् ।
यस्तै, प्राविका शिक्षकहरू हिमानसिंह तामाङ, कविता न्यौपाने, कान्छी घले र सोनाम बुट्टीसहित चार जनाको यथार्थ जानकारी पाउन सकिएको छैन । उत्तरगया गाउँपालिका अध्यक्ष अर्याल पनि रमेश लामिछाने, सञ्जिव तामाङ, अजयकुमार यादव, नारायणबहादुर थापा, मनमाया तामाङ र मीननाथ न्यौपाने लगायत छ जना शिक्षक भोटेकासीको बाढीमा परेर हराइरहेको बताउँछन् । उनको पालिकामा दुई वटा विद्यालयबाट २०० बढी विद्यार्थी बाढीपछि हराइरहेका छन् । यस्तै, विद्यालय नर्सका रुपमा कार्यरत ममता श्रेष्ठ र एक बोर्डिङ स्कुलका प्रिन्सिपल सुरज डंगोलको अवस्था अज्ञात रहेको उनले जानकारी दिए ।
