२०८३ भदौ २२ , सोमबार 7, September 2026, Monday

जहाँ पाक्छ निःशुल्क खाना !

ललितपुरको ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका–८ लुभु । गोदावरी खोलाबाट देब्रे लागेपछि झण्डै ५०० मिटर हिंडेपछि पुगिने एउटा वस्तीमा अलि फरक दृश्य देखिन्छ । वरिपरि नयाँ घर बनिरहेका छन् । वस्ती बाक्लो बन्दै गए पनि एउटा जग्गा खाली छ । त्यो खाली जमिनमा असरल्ल ठूला–साना ढुङ्गा छन् । तिनै ढुङ्गामाथि दुई वटा चियादानी र एउटा कुकर राखिएको छ । एउटा चियादानीमा पानी उम्लिरहेको छ भने अर्कोमा चिया पाकिरहेको छ ।

कुकरमा सिट्ठी लागिरहेको छ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको बेला यहाँ स्थानीयले निःशुल्करुपमै दैनिक खाना पकाइरहेका छन् । ‘यसरी खाना पकाएको धेरै भयो । खुला जमिनमा २४ घण्टा आगो बलिरहन्छ । यसैमा खाना पकाएर घरमा लगेर खान्छौं,’ हुम्ला घर भइ लुभु–८ भाडाको घरमा बस्दै आएकी अनिता जैशीले भनिन् । घर नजिकै रहेको खाली जग्गामा खेर गइरहेको ग्यासको सदुपयोग गरेको उनी बताउँछिन् ।

निःशुल्क ग्यास सदुपयोगको अनुभव सुनाउँदै उनले भनिन्, ‘बिहान बेलुका दाल, गेडागुडी पकाउँछु । मैले मात्र होइन साँझ र बिहान वरिपरि घर भएका धेरै परिवारले दाल–भात पकाउनु हुन्छ ।’ घरमा खाना पकाउन प्रयोग हुने ग्यास जस्तै प्राकृतिक रूपमा निस्किएको ग्यासले स्थानीयको भान्साको काम गरिरहेको छ । भान्सामा मात्र सीमित नभई कतिपयको लागि यो ग्यास आयस्रोतको बाटो पनि बनेको छ । उनी भन्छिन्, ‘हामी साँझ बिहान मात्रै पकाउँछौं, एक जना दिदीले त दिनभरि मकै पोलेर राम्रो आम्दानी गर्नु हुन्छ ।’

चार जनाको परिवारलाई बिहान बेलुका दाल, भात र तरकारी पकाउन पुग्ने उनको भनाइ छ । राजधानीमै रहेर पनि यो ठाउँमा सरकारको नजर नपुगेको जैशी बताउँछिन् । ‘बजारमा ग्यास किन्न पनि पाइँदैन । राजधानी सहरमै यस्तो ग्यास छ । थोरै मान्छेलाई वा एक २०० परिवारलाई त पुग्ने थियो तर किन सरकारले सदुपयोग नगरेको हो भन्ने लाग्छ,’ जैशीले भनिन् । उनीजस्तै अरू स्थानीय पनि बिहान–बेलुका भाँडाकुँडा बोकेर यही ठाउँमा पुग्छन् ।

कसैका लागि यो वर्षौदेखिको परिचित ठाउँ हो भने कसैका लागि प्रकृतिले दिएको अनौठो उपहार । ललितपुर सानागाउँका ५६ वर्षीय बाबुकाजी महर्जन यो ग्यासमा खाना पकाउन आउनेहरूको संख्या समयअनुसार बढिरहेको बताउँछन् । ‘घरमा ग्यास किन्नु पर्छ । यहाँ प्रकृतिले दिएको ग्यास छ । यसको राम्रोसँग अध्ययन गरेर प्रयोग गर्न सके स्थानीयलाई ठूलो सुविधा हुन्थ्यो,’ उनी भन्छन् । महर्जन यो ग्यास ४५ वर्षदेखि खेर गइरहेको सुनाउँछन् । बाल्यकालदेखि नै आगो उस्तै बलिरहेको उनको भनाइ छ ।

महर्जन थप्छन्, ‘न घाम न पानी, न हुरी न आँधी यो आगो निरन्तर बलिरहेको छ । पहिले यहाँ पूरै घारी थियो, अहिले घर बन्न थालिसके । यसरी ग्यास निरन्तर बलिरहँदा बस्तीका लागि जोखिम पनि भयो नि !’ यही आगोले एउटा ठूलो प्रश्न पनि उठाएको छ, जमिनमुनिबाट निरन्तर निस्किरहेको यो ग्यास आखिर के हो ? यसको मात्रा कति छ ? र यसलाई स्थानीय ऊर्जा स्रोतका रूपमा प्रयोग गर्न सकिन्छ कि सकिँदैन ? स्थानीयले वर्षौदेखि प्रयोग गर्दै आए पनि यसको वैज्ञानिक सम्भाव्यताबारे भने पर्याप्त अध्ययन भएको देखिँदैन ।

वडाध्यक्ष विश्वराज श्रेष्ठ यसबारेमा विभिन्न संस्थाले अध्ययन गरिसकेको बताउँछन् । ‘आगो निस्किएको धेरै भयो । अध्ययन पनि धेरै भयो । तर ग्यास निकाल्न मिल्दैन भन्ने निष्कर्ष सार्वजनिक भए । जग्गा धनी पनि यहाँ छैनन् । त्यही भएर अलि अप्ठ्यारो भएको छ । म यसबारेमा एकपल्ट फेरि खानी तथा भूगर्भ विभागमा बुझ्छु,’ उनले थपे । वडाध्यक्ष श्रेष्ठको यो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा नै लुभुमा ग्यासको सम्भाव्यता र सदुपयोगको लागि पहल गरे पनि अझै केही हुन नसकेको उनको भनाइ छ ।

‘हामी आउनुभन्दा अगाडि नै एउटा इँटा कारखाना थियो । त्यसको लागि बोरिङ खन्ने क्रममा यो निस्किएको हो । २०७२ सालको भूकम्पमा चिया पकाउने, खाना पकाउनेको भिड हुन्थ्यो । विभिन्न अध्ययनले व्यावसायिक उत्पादन हुँदैन भनेपछि बन्द गर्न खोजेको त्यो पनि हुँदैन । पाइप राखेर मिलाएका थियौं । तर मान्छेहरु गएर बिगारिदिन्छन्,’ उनले गुनासो गर्दै भने । खानी तथा भूगर्भ विभागले यहाँको ग्यास स्टोर गर्न नमिल्ने भनेपछि केही नगरेको महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ बताउँछन् ।

‘खानी तथा भूगर्भ विभागमा यसबारेमा पहिले नै कुरा भएको थियो । तर यहाँबाट निस्किएको ग्यास भण्डारण गर्न मिल्ने खालको छैन भनेपछि त्यसै छाडेको हो,’ उनले भने । लुभुको वडा नं ८ मा यो पुरानो आगो भए पनि आसपास बोरिङ खन्दा ग्यास निस्कने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘अस्ति पनि डिप बोरिङ गर्दा खोलाको किनारमा ग्यास निस्किएको थियो । यो ठाउँमा किन यस्तो हुन्छ भनेर गहिरो अध्ययन गर्न आवश्यक छ ।’ खानी तथा भूगर्भ विभाग, पेट्रोलियम परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काका अनुसार जमिनबाट प्राकृतिक रूपमा ज्वलनशील ग्यास निस्कनु भूगर्भीय प्रक्रियासँग सम्बन्धित हुन सक्छ ।

कुनै स्थानमा ग्यास बलिरहेको देखिनु मात्रै त्यसलाई व्यावसायिक रूपमा उत्खनन गर्न सकिने पर्याप्त प्रमाण नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘व्यवसायिक उत्पादन र उत्खननका लागि विस्तृत भूगर्भीय अध्ययन, ग्यासको रासायनिक परीक्षण, भण्डारको अनुमान र आर्थिक तथा प्राविधिक सम्भाव्यता अध्ययन आवश्यक हुन्छ ।’ विसं २०७२ मा भूकम्प गएपछि काठमाडौं उपत्यकाको धेरै ठाउँमा यस्तो ग्यास निस्किएको उनी बताउँछन् ।

उनी भन्छन्, ‘बालुवा भएको ठाउँठाउँमा पानी सित घुलेर यस्तो ग्यास बसेको हुन्छ । २०७२ सालको भूकम्पमा तलको पानी र बालुवा घुलेर यो ग्यास निस्किएको हो । कुनै ठाउँमा इनार खन्दा यस्तो ग्यास निस्कन्छ । लुभुमा पनि अहिले त्यस्तै ग्यास निस्किएको हुनसक्छ । यो प्राकृतिक भन्दा पनि बायोजेनिक ग्यास हो । दैलेखतिर पाउने जस्तो थर्मोजेनिक ग्यास चाहिँ होइन ।’ बायोजेनिक ग्यास वैज्ञानिक रूपमा प्रयोग गर्न नमिल्ने उनी बताउँछन् । पेट्रोलियम परियोजनाका निमित्त प्रमुख खड्काका अनुसार काठमाडौँ उपत्यकाको बाक्लो वस्तीमा भेटिएको बायोजेनिक ग्यास व्यावसायिक रूपमा प्रयोग गर्न मिल्दैन ।

उनी भन्छन्, ‘यसको प्रयोगले समस्या ल्याउँछ ।’ यस्तो ग्यास उपत्यकाका विभिन्न ठाउँमा निस्किरहेको उनको भनाइ छ । ‘काठमाडौंको टेकुमा पनि निस्किएको थियो । केही समय टेकुमा पनि स्थानीयले उपयोग गरे तर अहिले बन्द छ । कुनै ठाउँमा पहिलेदेखि निस्किएको होला त्यो त हामीलाई भन्दा पनि स्थानीयलाई थाहा हुन्छ ।’ खड्काका अनुसार उपत्यकामा कालीमाटी भएको ठाउँ ग्यास उत्सर्जन गर्ने स्रोत हो । त्यहाँँबाट निस्किएको ग्यास बालुवाको माथिल्लो तहमा थोरै थोरै बसेको हुन्छ । कुनै ठाउँमा इनार खन्दा, कुनै ठाउँमा नदी किनार र खोंचहरुमा निस्कन्छ ।

अनुसन्धान गर्न स्थानीयको माग

नगरपालिकाले मात्रै होइन, संघीय तहका सम्बन्धित निकायले समेत लुभुको ग्यासको वैज्ञानिक अध्ययन गर्नुपर्ने स्थानीयको माग छ । बाबुकाजी महर्जन भन्छन्, ‘मैले ४६ वर्षदेखि लगातार ग्यास बलिरहेको देखेको छु । यो ग्यासको अनुसन्धान गरेर उपयोग गर्न सरकारलाई अनुरोध गर्दछु ।’ लुभुको जमिनमुनि कति ग्यास छ भन्ने कुरा अहिले अनुमान गर्न सकिँदैन ।

महर्जन भन्छन्, ‘जमिनबाट निस्किएको ग्यासमा वषौंदेखि स्थानीयको खाना पाकिरहेको छ । यो विषयलाई सरकारले गम्भीर रूपमा लिनुपर्छ ।’ महालक्ष्मी नगरपालिकाले व्यवसायिक ग्यास उत्पादन गर्न नसके पनि यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा संरक्षण गर्न सक्छ । तर यो विषयमा नगरपालिकाको ध्यान पुगेको देखिँदैन । नगरपालिकाको सानो लापरवाहीले वस्ती बढ्दै जाँदा कहिल्यै ननिभ्ने ग्यासका कारण यो क्षेत्र जोखिममा पर्नसक्ने महर्जनको भनाइ छ ।

स्रोत : रासस
प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार