कर्णाली नदीबाट भदाली खोलामा छिरेको बाढीले बर्दियाको राजापुर नगरपालिका–१ हिमालीपुरका चार घर डुबानमा परेका छन् । नदीमा जलस्तर बढ्दै गएका कारण तटीय क्षेत्रमा रहेका अन्य परिवारलाई पनि सचेत गराइएको राजापुर–१ का वडाध्यक्ष बाबुराम चौधरीले बताए ।
घर डुबानमा परेपछि सोमबार कल्ल सोनाहु, कल्ला सोनाहा, छेदुवा सोनाहा र राजेन्द्र सोनाहाको परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । चनौरामा कटान भइरहेको र जलस्तर अझै बढे सिंगो वडामा बाढी पस्ने जोखिम रहेको स्थानीय शंकर थारुले बताए । कर्णालीमा जलस्तर बढ्दै गए यो गाउँमा बाढी पसेर दर्जनौं घर डुबानमा पर्ने उनले बताए ।
कर्णाली तटीय क्षेत्रको टिउनीलगायत ठाउँ पनि बाढीको उच्च जोखिममा रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । दौलतपुर घाटमा निर्माण भएको झलुंगे पुलदेखि दक्षिणमा नदी कटान भइरहेको राजापुर–४ का वडाध्यक्ष बिदुर पोखरेलले बताए । तटबन्धको काम केही ठाउँमा अधुरो भएकोले जोखिम रहेको उनले बताए ।
सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय राजापुरका ईन्जिनियर नविन जोशीले त्यस ठाउँमा जंगल भएको र बाटो नहुँदा तटबन्ध निर्माण गर्न समस्या भएको बताए । कर्णालीमा सोमबार बिहानसम्म ८ दशमलव ५ मिटर पानी बगिरहेको ईन्जिनियर जोशीले बताए । पानी नराकिएकाले जलस्तर बढ्दै गएको छ । कर्णालीमा १० मिटर माथि बहालव पुगे राजापुर नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा पर्ने जोखिम हुन्छ ।
आयोजना प्रमुख सुदिन मुक्तानले कर्णाली नदी बढ्नासाथ भलाली खोलाले बर्षेनी डुबान हुने गरेको बताए । ०७१ फागुनमा आयोजनाको गुरुयोजना अनुसार कर्णाली र यसको भंगालो गेरुवा नदीमा तटबन्ध पूर्णरुपमा सम्पन्न गर्न १२ अर्ब ८० करोड ७४ लाख बजेट स्वीकृत भएको थियो । पाँच वर्षभित्र ७१ किलोमिटर तटबन्ध निर्माण सम्पन्न गर्नुपर्ने योजनाको काम सुस्त गतिमा भइरहेको छ ।
०८३ असारसम्म करिब २२ किमी तटबन्ध निर्माण भएको आयोजना कार्यालयले जनाएको छ । नदी कटानबाट यस भेगको खेती योग्य जमिन जोगाउन र बाढीबाट हुने डुबान रोक्न तटबन्ध निर्माणका लागि सरकारले यहाँ आयोजनाको कार्यालय नै स्थापना गरेको थियो । माग अनुसार बजेट निकासा नहुँदा तटबन्धको काम ढिलाइ भएको आयोजना प्रमुख मुक्तानले बताए ।
