२०८३ भदौ २२ , सोमबार 7, September 2026, Monday

अझै दुई हप्तासम्म वर्षा !

पछिल्ला दिनका देशका विभिन्न भूभागमा पानी परिरहेको छ । कतिपय स्थानमा भारी वर्षा भएको छ । अबका तीन दिन पनि केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमबार (भदौ २२) दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा भारी वर्षाको पूर्वानुमान छ । सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यस दिन राति कोसी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ । मंगलबार (भदौ २३) दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा भारी वर्षाको पूर्वानुमान छ ।

लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मंगलबार राति कोसी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ ।

बुधबार (भदौ २४) दिउँसो वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा भारी वर्षाको पूर्वानुमान छ । लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । ‘हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ,’ विभागले भनेको छ, ‘साथै, उत्तर प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि प्रभाव रहेको छ ।’

सोमबार बिहान पनि देशका केही भूभागमा पानी परेको छ । कतिपय स्थानमा अझै वर्षा भइरहेको विभागले जनाएको छ । यस दिन डडेलधुरा र धनगढीमा वर्षाको सम्भावना ७० प्रतिशत छ । वीरेन्द्रनगर, नेपालगन्ज, घोराही, पोखरा, काठमाडौं, जिरी, ओखलढुंगा, धनकुटा, धरान, ताप्लेजुङ र विराटनगरमा वर्षाको सम्भावना ६० प्रतिशत रहेको विभागले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलले अझै दुई साता वर्षाको सम्भावना औँल्याएका छन् । ‘पानी रोकिने देखिँदैन अझै आर्को हप्तासम्म पनि,’ उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । दुई मौसमी मोडेलमा यो संकेत देखिएको उनले स्पष्ट पारेका छन् ।

यो हप्ताभरि पनि देशका अधिकांश स्थानमा वर्षा हुने उनले उल्लेख गरेका छन् । ‘हिजो (आइतबार) पनि नेपालका धेरै ठाउँमा राम्रै वर्षा भयो । नेपालको मौसम लगभग हरेक दिन उस्तै देखिएको छ,’ उनले लेखेका छन्, ‘यो क्रम आगामी दुई हप्तासम्म जारी रहने सम्भावना छ । यस हप्ताभरि पनि देशका अधिकांश स्थानमा वर्षा हुने देखिन्छ ।’

तर, वर्षा निरन्तर हुने होइन । पानी बेलाबेला पर्ने र रोकिने हुन्छ । सबै ठाउँमा पनि एकनासले वर्षा हुँदैन । सोमबार बिहान ३–४ बजेदेखि काठमाडौं र पूर्वी तराईका केही ठाउँमा एक–दुई घण्टा भारी वर्षा भएको उनले बताएका छन् ।

प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार