यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि त्यसको नकारात्मक असर देशको पर्यटकीय राजधानी पोखराको पर्यटन र समग्र अर्थतन्त्रमा समेत पर्न थालेको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ । पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनको शनिबार उद्घाटन कार्यक्रममा सहभागी उद्योगी तथा पर्यटन व्यवसायीले विपद् प्रभावित क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्य सुरक्षित र सञ्चालनमा रहेको सन्देश अन्तरराष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याए ।
विपद्का कारण पूरै देश नै असुरक्षित बनेकोजस्तो नकारात्मक सन्देश बाहिर गएको उल्लेख गर्दै उनहरूले पोखरा सुरक्षित रहेको र भ्रमणका लागि उपयुक्त गन्तव्य भएको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले प्राकृतिक विपत्तिको असर पोखराको पर्यटन क्षेत्रमा गम्भीर रूपमा पर्न थालेको बताए । विपद्सम्बन्धी नकारात्मक सन्देशका कारण पर्यटक आगमन प्रभावित हुनसक्ने भन्दै उनले पोखराको अर्थतन्त्रमा पर्न सक्ने असरबारे समयमै चिन्तन गर्नुपर्नेमा जोड दिए ।
‘प्राकृतिक विपत्तिपछि अहिले पर्यटक आउन सकेका छैनन् । लामो समय पर्यटक आएनन् भने पोखराको अर्थतन्त्रमा कस्तो असर पर्ला ? यसबारे चिन्तनमनन गर्दै समाधानका लागि अहिल्यै लाग्नुपर्छ । ढिला गर्ने छुट हामीलाई छैन,’ उनले भने । नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले विपद् प्रभावित क्षेत्रबाहेक नेपालका अधिकांश पर्यटकीय गन्तव्य खुला र सुरक्षित रहेको सन्देश अन्तरराष्ट्रिय क्षेत्रमा प्रभावकारी रूपमा प्रवाह गर्नुपर्ने बताए । ‘विपद्को प्रत्यक्ष असर नपरेका क्षेत्रमा समेत पर्यटन गतिविधि घट्दा असर परेको छ । पोखरासहित नेपालको पर्यटन क्षेत्रको विकास तथा अन्तरराष्ट्रिय प्रचारप्रसारमा सक्रिय भूमिका खेल्नुपर्ने खाँचो छ,’ उनले भने ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय समुदायसँग समेत सहयोग मागिएको बताए । उनले महासङ्घले विश्वका ७० वटा उद्योग तथा वाणिज्य सङ्घलाई पत्र पठाएर नेपालको विपद् पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेको जानकारी दिए । ‘विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि राज्यलाई ठूलो आर्थिक स्रोत आवश्यक छ । त्यसका लागि हामीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा सहयोगका लागि आह्वान गरेका छौँ । विदेशमा रहेका उद्योग तथा वाणिज्य सङ्घसँग समेत सहयोगका लागि पहल भइरहेको छ,’ अध्यक्ष श्रेष्ठले भने ।
उनले देशमा ठूलो विपत्ति परेको बताउँदै यस्तो अवस्थामा सबै व्यवसायी तथा निजी क्षेत्रले मानवीय भावनाका साथ खुलेर सहयोग गर्नुपर्ने बताए । अध्यक्ष श्रेष्ठले नेपालमा विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै दीर्घकालीन रूपमा विपद् न्यूनीकरणका लागि पूर्वतयारी र योजनाबद्ध विकासमा जोड दिनुपर्ने बताए। नदी तथा खोला किनारमा भइरहेको अव्यवस्थित बस्ती विस्तार, हिमताल र अन्य प्राकृतिक जोखिमलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो । निजी क्षेत्र अहिले चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उहाँले व्यवसायीलाई निरुत्साहित गर्नेभन्दा लगानी र उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउन सरकारसँग आग्रह गरे ।
लक्ष्मी विद्या पदकबाट तीन विद्यार्थी सम्मानित
कार्यक्रमका अवसरमा लक्ष्मी ग्रुप प्रालिद्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य सङ्घद्धारा सञ्चालित ‘लक्ष्मी विद्या पदक–२०८२’ बाट व्यवस्थापन सङ्कायअन्तर्गत कास्की जिल्लामा उत्कृष्ट नतिजा हासिल गर्ने तीन विद्यार्थी सम्मानित भएका छन् । स्नातकोत्तर तह (एमबिएस)मा जनप्रिय बहुमुखी क्याम्पसकी ज्योति तामाङ, स्नातक तह (बिबिए)तर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी समीक्षा तिमिल्सिना तथा बिबिएसतर्फ जनप्रिय बहुमुखी क्याम्पसका सन्तोष थापा सम्मानित भए ।
उनीहरूलाई माला, दोसल्ला, ताम्रपत्र, विद्यापदक तथा नगद पुरस्कार प्रदान गरिएको थियो । हालसम्म लक्ष्मी विद्या पदकबाट ७६ विद्यार्थी सम्मानित भइसकेका छन् । महाधिवेशन अन्तर्गत आज सङ्घको नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यतालिका छ । नेतृत्वका लागि उत्तममान बुद्धाचार्य, शोभा गौतम, बलराम आचार्य र अर्जुन पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
