चीनतर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली नदी र आसपासका क्षेत्रका सडक पूर्वाधारमा ठुलो क्षति पुगेको छ । सडक विभागका अनुसार धादिङ, नुवाकोट र रसुवामा करिब ५५ किलोमिटर सडक र ३५ वटा पुल पूर्ण रूपमा क्षति भएका छन्, जुन क्षति ३० अर्ब बराबर भएको प्रारम्भिक अनुमान छ ।
सरकारले अवरुद्ध राजमार्ग तथा रणनीतिक सडक तत्काल खुलाउन आपत्कालीन पुनर्निर्माण र बेलिब्रिज व्यवस्थापनको काम तीव्र पारेको छ । विभागका अनुसार क्षतिग्रस्त सडकमा नयाँ ट्रयाक खोल्ने र भत्किएका पुलको ठाउँमा बेलिब्रिज राख्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।
देवीघाटमा बेलिब्रिज जडान हुँदै
नुवाकोटको विदुरस्थित देवीघाटमा बाढीले पुल बगाएपछि ठप्प भएको यातायात सुचारु गर्न नेपाली सेनाले बेलिब्रिज जडानको काम थालेको छ । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार पुलको सिभिल संरचना निर्माणको काम विभागले गरिरहेको छ भने पुल जडानको प्राविधिक काम सेनाले सम्हालिरहेको छ ।
देवीघाटस्थित तादी खोलामा ६० मिटरको एक्रो ब्रिज जडान सुरु भएको सेनाले जनाएको छ । भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले यहाँको करिब ५५ मिटर लम्बाइको पक्की पुल बगाएको थियो । त्यही पुलको अबुटमेन्टमा नयाँ एक्रो ब्रिज जडान सुरु भएको हो । देवीघाटमा पुल तयार भएपछि रसुवातर्फको पहुँच सहज हुने अपेक्षा गरिएको छ ।
यस्तै त्रिशूली बजार र बेत्रावतीमा पनि तत्काल बेलिब्रिज जडान गर्न लागेको छ । यी स्थानमा करिब ४८ मिटर लम्बाइका पुल आवश्यक पर्ने देखिएको छ । विभागले क्षतिग्रस्त ३५ पुलमध्ये तत्काल ३ स्थानमा बेलिब्रिज जडान गरी अस्थायी रुपमा गल्छी–त्रिशुली–स्याफ्रुबेंसी–रसुवागढी सडक खुलाउने तयारी गरिरहेको छ ।
स्याफ्रुबेँसीमा ७५ मिटरको बेलिब्रिज आवश्यक, चीनबाट आउँदै
यस्तै रसुवाको स्याफ्रुबेँसीमा पुल बगाएकाले त्यहाँ करिब ७५ मिटर लामो बेलिब्रिज आवश्यक पर्ने देखिएको छ । विभाग र सेनासँग यस्ता पुल उपलब्ध भए पनि तल्लो खण्डको बाटो नखुलेका कारण सामग्री ढुवानी गर्न समस्या भएको छ । बाटो खुल्नेबित्तिकै सामग्री पु¥याएर जडान थालिने विभागका प्रवक्ता न्यौपानेले जानकारी दिए ।
चीन सरकारले पनि कोराला नाकामा बेलिब्रिजका सामग्रीहरू उपलब्ध गराएको छ । ती सामग्रीलाई सरकारले ल्याएर आवश्यकता अनुसार रसुवागढी वा अन्य क्षतिग्रस्त स्थानमा जडान गर्ने तयारी गरेको छ । न्यौपानेले भने, ‘अहिले मुख्य चुनौती भनेकै बेलिब्रिज लैजाने स्थानसम्म बाटो पु¥याउनु हो । बाटो खुल्नेबित्तिकै क्षतिग्रस्त स्थानहरूमा बेलिब्रिज जडानको कामले गति लिनेछ ।’
अस्थायी सडक बनाउन स्थानीयको अवरोध
अहिले बाढीले थुपारेको लेदो पन्छाएर पुरानो सडमा सवारी सञ्चालन गर्न सहज छैन । यसकारण तत्कालका लागि बेत्रावतीसम्म अस्थायी सडक बनाएर यातायात सञ्चालनमा ल्याउने तयारी भएको छ । तर विदुर नगरपालिका वडा नम्बर १० मा भने स्थानीयको अवरोधका कारण काममा केही ढिलाइ भएको सडक विभागका प्रवक्ता न्यौपानेले बताए ।
‘पुरानो सडकमा तीनदेखि चार मिटरसम्म लेदो र गेग्रान भरिएको छ, जसलाई पन्छाउन महिनौँ लाग्न सक्छ । त्यसैले हामीले वैकल्पिक रूपमा खेतको केही बाटो प्रयोग गरेर तत्काल ट्रयाक खोल्न खोजेका थियौँ,’ न्यौपानेले भने, ‘तर स्थानीयले मुआब्जा नपाएसम्म काम गर्न नदिने अडान राख्नुभएको छ ।’
पुरानो सडकमा तीन–चार मिटरसम्म लेदो र गेग्रान थुप्रिएकाले विभागले वैकल्पिक रूपमा खेतको बाटो प्रयोग गर्न खोज्दा स्थानीयले मुआब्जाको माग गरेका हुन् । यो विवाद सुल्झिए दुई दिनभित्रै बेत्रावतीसम्म सडक जोड्ने विभागको योजना छ । बेत्रावती क्रस गरेपछि धुन्चेसम्मको पहुँच सहज हुनेछ ।
कृष्णभीरमा नयाँ ट्रयाक
यता त्रिशुलीमा आएको बाढीले कृष्णभीरको सडक कटान गरेपछि पृथ्वी राजमार्गको अहिले भित्तो काटेर नयाँ ट्रयाक खोल्ने काम भइरहेको छ । नेपाल जियोटेक्निकल सोसाइटीको प्राविधिक परामर्शमा साढे पाँचदेखि आठ मिटरसम्मको ट्रयाक खोल्ने तयारी छ । अहिले भित्तो काटेर बाटो निकाल्ने काम भइरहेको छ ।
२५२ मिटर ट्«याक खन्ने काम सम्पन्न भएसँगै मेसिन आवतजावत गर्न सक्ने अस्थायी ट्र्याक खुलेको छ । अब केही दिनको मर्मतपछि सवारी सञ्चालनमा आउने सडक विभागले जनाएको छ । यस्तै बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गतकै धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर खण्डमा आज सवारी आवागमन पूर्ण बन्द गरी मर्मत गरिरहेको जनाएको छ ।
