यस वर्ष ढिला गरि वर्षा भए पनि गत वर्षभन्दा बढी रोपाइँ गर्न सफल भएका बाँकेका किसानले आवश्यक परेको बेला मल नपाउँदा उत्पादन निकै घट्न सक्ने चिन्ता व्यक्त गरेका छन् । उनीहरुले जेनतेन रोपाइँ सम्पन्न गरे पनि धानमा गाँज लाग्ने बेला मल आवश्यक भएकोले मल नपाउँदा उत्पादन घट्ने चिन्ताले सताएको बताएका छन् ।
खजुरा रनियापुरका किसान सुल्तान खाँले शुरुमा रोपेको धानमा गाँजा लाग्न थालेकोले अहिले मल चाहिएको जनाउँदै तर मल नपाउँदा यस वर्ष विगत जस्तो धान उत्पादन नहुने चिन्ताले सताएको गुनासो गरे । उनले विगतमा नेपालमा मल नपाउँदा सीमापारीबाट दुई चार बोरा सहजै ल्याउन पाइने भएकोले काम चलेकोमा यस पटक एक बोरा पनि ल्याउन नदिएकोले किसान साह्रै समस्यामा परेको बताए ।
सोही प्रकारको गुनासो डुडुवा कम्दीका किसान नरेश यादवको पनि छ । उनले धानमा गाँज लाग्ने बेला मल अति आवश्यक भएकोले मल नपाउँदा आफुहरु निकै चिन्तामा रहेको बताए । उनले पनि विगतमा यहाँ मल नपाउँदा सीमापारीबाट ल्याएर काम चलाउँदै आएकोमा यस पटक नाकामा अतिनै कडाइ गरिएकोले मल ल्याउनै नपाएको जनाए ।
कृषि ज्ञान केन्द्र बाँकेले पनि जिल्लाका अधिकांश किसानले मल नपाएको गुनासो गरेको जनाउँदै अवस्था यस्तै रहेमा उत्पादन घट्ने जानकारी दिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले गत वर्ष जिल्लामा ९९.५ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ९९.८ प्रतिशत रोपाइ भएको जनाउँदै तर यस वर्ष चाहिएको बेला मल नपाउँदा उत्पादन प्रभावित हुने निश्चित भएको बताइन् ।
उनले बाँकेमा धान उत्पादन हुने जग्गा ३३ हजार ५७० हेक्टर रहेकोमा यस वर्ष ३३ हजार ५०३ हेक्टरमा धान रोपाइँ भएको बताइन् । धान रोपाइँ गरिएको २० देखि २५ दिनभित्र गाँज लाग्ने समयमा र ५० दिनपछि बाला पसाउने बेला मल आवश्यक रहेको जनाउँदै सूचना अधिकारी शर्माले तर अहिले अधिकांश किसानले मल नपाएको गुनासो गरेकोले उत्पादन घट्ने देखिएको बताइन् ।
जिल्लाका अधिकांश किसानले यहाँ मल नपाए पनि सीमापारीबाट ल्याएर काम चलाउँदै आएकोमा यसपटक सो हुन नसकेपछि उत्पादन निश्चित घट्ने देखिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार गत वर्ष जिल्लामा एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लाका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकोले मलको अभाव भएको कृषि सामाग्री कम्पनी लिमिटेड बाँकेका शाखा प्रमुख पुष्पराज श्रेष्ठले बताए ।
उनका अनुसार गत आर्थिक वर्ष २०८२–०८३ मा कृषि सामाग्री कम्पनी लिमिटेड बाँकेबाट चार हजार ८२२ मेट्रिक टन युरिया, दुई हजार ६३३ मेट्रिक टन डिएपी र २०७ मेट्रिक टन पोटास विक्रि गरिएको थियो भने चालु आव २०८३–०८४ को हालसम्म एक हजार १७ मेट्रिक टन युरिया, २९९.४०० मेट्रिक टन डिएपी र २७.३५० मेट्रिक टन पोटास पालिकाहरुमा पठाइसकेको बताए । किसानको मागको तुलनामा यो निकै कम रहेको पनि कृषि सामाग्री कम्पनी लिमिटेड बाँकेले जनाएको छ ।

