चीनको तिब्बततर्फ बनेको ठूलो प्राकृतिक ताल फुटेपछि रसुवाको भोटेकोशी र त्रिशूली नदीमा पुनः भीषण बाढीको जोखिम बढेको छ । बाढीको पूर्वसूचनासँगै नेपाल प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा ‘हाई अलर्ट’ जारी गर्दै जारी उद्धार तथा राहत कार्य तत्कालका लागि स्थगित गर्न निर्देशन दिएका छन् ।
प्राप्त जानकारी अनुसार तिब्बततर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगमस्थल छेउमा बनेको ठूलो ताल फुटेको सूचना नेपालतर्फ आएको हो । ताल फुटेर भोटेकोशीतर्फ लेदोसहितको पानीको बहाव तीव्र रूपमा बढ्न थालेपछि नदीको तल्लो तटीय क्षेत्रमा उच्च जोखिम सिर्जना भएको छ ।
प्रहरीद्वारा ‘हाई अलर्ट’ जारी, उद्धार कार्य रोकियो
बाढीको जोखिम बढेसँगै नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत ‘अलर्ट’ जारी गरेको छ । प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी र सर्वसाधारणलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान विशेष अपिल गरेको छ ।
अचानक पानीको बहाव बढ्न सक्ने र मानवीय क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै हाललाई नदी किनारमा सञ्चालन भइरहेका सम्पूर्ण उद्धार कार्यहरू स्थगित गरिएको नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत जनाएको छ ।
प्राधिकरणको चेतावनी, ‘तुरुन्त सुरक्षित स्थानमा जानू’
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एक जरुरी सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । प्राधिकरणका उपसचिव एवं प्रवक्ता शान्ति महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएकै क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको र थप बाढी आउन सक्ने जोखिम रहेकाले भोटेकोशी एवं त्रिशूली नदी किनारमा उद्धार एवं राहतमा खटिनुभएका एवं विविध कारणले जोखिम क्षेत्रमा रहनुभएका सबैलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरिन्छ ।’
ताल फुटेपछि त्यसबाट आउने थप पानीको बहावले भोटेकोशी र त्रिशूली नदी आसपासका बस्तीमा कटान र डुबानको जोखिम बढाउने अनुमान गरिएको छ । स्थानीय प्रशासनले यसबारे थप विवरण संकलन गरिरहेको जनाएको छ भने तटीय क्षेत्रका बासिन्दालाई नदी किनारतर्फ नजान र सुरक्षित स्थानमै रहन कडा निर्देशन दिएको छ ।

