२०८३ भदौ १२ , शुक्रबार 28, August 2026, Friday

रसुवा बाढी : बर्दियाका ९० जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बर्दियाका ९० जना व्यक्ति सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालय बर्दिया र सम्बन्धित स्थानीय तहमा परिवारजनले गराएको जानकारी अनुसार ९० जना सम्पर्कविहीन भएको खुल्न आएको हो । प्रशासनका अनुसार उनीहरू बर्दियाबाट रोजगारी तथा अन्य कामका लागि प्रभावित क्षेत्रमा पुगेका थिए ।

सम्पर्कविहीन हुनेमा बारबर्दिया नगरपालिकाका २५ जना, बाँसगढी नगरपालिकाका १८ जना, राजापुर नगरपालिकाका १६ जना, ठाकुरबाबा नगरपालिकाका १३ जना गेरुवा गाउँपालिकाका १४ जना, गुलरिया नगरपालिकाका दुई जना, मधुवन नगरपालिकाका एक जना र ठेगाना नखुलेको एक जना सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए ।

उनका अनुसार जिल्लाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको विवरण संकलन गरी प्रभावित क्षेत्रको सुरक्षा समितिलाई पठाइएको जानकारी छ । बर्दियाबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लामा श्रम तथा रोजगारीका लागि गएका व्यक्तिका परिवारजनले आफ्ना आफन्तसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छन् । सम्पर्कविहीनमध्ये अधिकांश हाइड्रोपावर र कन्ट्रक्सनको काममा गएको प्रारम्भिक अनुसन्धानबाट खु्लेको छ ।

प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार