२०८३ भदौ १२ , शुक्रबार 28, August 2026, Friday

रसुवा बाढी : सल्यानका ५५ जना सम्पर्कविहीन

बाढी प्रभावित क्षेत्रमा रहेका सल्यानका ६० जनामध्ये ५५ जना मजदुर सम्पर्कविहीन भएका छन् । बाढीमा परी दुई जना घाइते भएका छन् भने तीन जना परिवारको सम्पर्कमा आएका छन् । विभिन्न आठ पालिकाका ६० जना कामको सिलसिलामा रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा पुगेका थिए । बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले पीडित परिवार तथा आफन्त चिन्तित बनेका छन् ।

स्थानीय प्रशासन र पालिकाहरूले खोजी तथा उद्धारका लागि पहल गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित बनगाड कुपिण्डे नगरपालिका–६ का बासिन्दा भएका छन् । बनगाड कुपिण्डे–६, गैरीगाउँका ३६ वर्षीय गिरिलाल बुढाथोकी गम्भीर घाइते अवस्थामा साथीको फोनमार्फत सम्पर्कमा आएको बताइएको छ । बाढीमा परी गिरिलालको परिवारका अन्य सदस्य बेपत्ता भएका छन् ।

उनकी ३५ वर्षीया श्रीमती सुनिता बुढाथोकी, १८ वर्षीया छोरी डिला बुढाथोकी, १६ वर्षीया छोरी निर्मला बुढाथोकी, १४ वर्षीय छोरा निराजन बुढाथोकी र १२ वर्षीय छोरा केशव बुढाथोकी बेपत्ता छन् । सोही वडाका २४ वर्षीय गगन बस्नेत, ३६ वर्षीय चित्रबहादुर पुन, उनकी २९ वर्षीया श्रीमती पविना राणा पुन र तीन वर्षीय छोरा जितेन्द्र पुन पनि बेपत्ता छन् । यस्तै, बनगाड कुपिण्डे–६, गगनकटेराका २९ वर्षीय ढाकवीर ऐरी घाइते अवस्थामा सम्पर्कमा आएका छन् ।

उनकी २८ वर्षीया श्रीमती बिना ऐरी र पाँच वर्षीया छोरी दिपिका ऐरी भने बाढीपछि बेपत्ता छन् । त्यसैगरी, रसुवा क्षेत्रमा कामको सिलसिलामा पुगेका कुमाख गाउँपालिकाका नागरिक पनि सम्पर्कविहीन भएका छन् । कुमाख गाउँपालिका–३, गुरुवासेका ६० वर्षीय दुर्गाबहादुर राणा, ४३ वर्षीय निमप्रकाश राणा, ४० वर्षीय गणेश राणा, २५ वर्षीय नवीन राणा, ५५ वर्षीय झ्यासे राणा, २७ वर्षीय नन्दराम राणा र २४ वर्षीय चित्रबहादुर राणा हालसम्म सम्पर्कविहीन छन् ।

सोही पालिका–१, भितिवनका ५० वर्षीय खर्सल राणा र वडा नं.१, साधनमुढाका ४५ वर्षीय शेरबहादुर विक भने परिवारको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए । यस्तै, सिद्धकुमाख गाउँपालिका–४, मेलाचौरका अन्दाजी ३१ वर्षीय हिरालाल घर्ती मगर पनि सम्पर्कविहीन छन् । सोही पालिकाका ४१ वर्षीय दुर्ग बहादुर बस्नेत सम्पर्कविहीन छन् ।

शारदा नगरपालिका, त्रिवेणी गाउँपालिका र बागचौर नगरपालिकाका नागरिक पनि बाढीमा परेका छन् । शारदा नगरपालिका–१३, सल्लेरीका ३२ वर्षीया प्रमिला बुढाथोकी, २८ वर्षीया लक्ष्मी बुढाथोकी, १७ वर्षीय प्रविण बुढाथोकी, ३९ वर्षीया रिता बुढाथोकी र ४४ वर्षीय रिमबहादुर बुढाथोकी सम्पर्कविहीन छन् । त्रिवेणी गाउँपालिका–५ का प्रेम महतरा, पोषण महतरा, रुपलाल विक, निमकुमार विक, प्रकाश बिक, दुर्गा बुढाथोकी, वडा नं.४ का मोहन रेउले, दिपक रावत, वडा नं.३ का रोहित बुढाथोकी, वडा नं.२ का दिला घर्ती र शिव बुढाथोकी सम्पर्कविहीन छन् ।

बागचौर नगरपालिका–८, गैरागाउँकी ३८ वर्षीया प्रमिला बुढाथोकी र टिमुरेस्थित प्लान्ट क्वारेन्टाइनमा कार्यरत बागचौर नगरपालिका–१०, पिपलनेटाका आयुष खड्का पनि सम्पर्कविहीन छन् । कपुरकोट र कालीमाटी गाउँपालिकाका नागरिकको विवरण पनि सार्वजनिक भएको छ । कपुरकोट गाउँपालिका–६ का ५५ वर्षीय हिमलाल सार्की, ३५ वर्षीय रामबहादुर सार्की, १९ वर्षीय तिलक सार्की, २७ वर्षीय किरण विक, ४२ वर्षीय मानबहादुर विक, ३३ वर्षीय लालबहादुर सार्की, २७ वर्षीय प्रकाश सार्की, ४३ वर्षीय लक्ष्मण सार्की, ३५ वर्षीय भीमबहादुर ठकुरी सम्पर्कविहीन छन् ।
त्यस्तै कपुरकोट गाउँपालिका–६ कै ४४ वर्षीय खिमबहादुर दमाई र ६१ वर्षीय टेकबहादुर बस्नेत, २७ वर्षीय विशाल रोका, ३३ वर्षीय दिल बहादुर सिंह, २९ वर्षीय पातीराम महतरा र ४५ वर्षीय दरिभान दमाई सम्पर्कविहीन छन् । कालीमाटी गाउँपालिका–३ का ३८ वर्षीय भुपेन्द्र रावत र ४५ वर्षीय भुपेन्द्रबहादुर खत्री पनि हालसम्म सम्पर्कमा आएका छैनन् । बाढीमा परी सम्पर्कविहीन बनगाड कुपिण्डे–६ गोगन कटेराका दीपक यरी नुवाकोटस्थित नेपाली सेनाको त्रिशूली व्यारेकमा सकुशल भेटिएका छन् । सुरक्षा निकाय र स्थानीय प्रशासनले प्रभावित क्षेत्रका प्रशासनसँग समन्वय गरी खोजी तथा उद्धार कार्य जारी राखेका छन् ।

प्रभावित क्षेत्रमा जाँदै त्रिवेणी गाउँपालिका प्रतिनिधि

भोटेकोसी नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि सल्यानको त्रिवेणी गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थागत रूपमा एक लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । आफ्नै गाउँपालिकाका ११ जना नागरिक बाढीपछि सम्पर्कविहीन भएपछि गाउँपालिकाले आर्थिक सहयोगसँगै उनीहरूको खोजीका लागि प्रतिनिधिमण्डल नै प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ । बिहीबार बसेको गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले विपद्पीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ५० हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

उक्त रकम एक दुई दिनभित्र कोषमा जम्मा गरिने गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले जानकारी दिए । बैठकले भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएका त्रिवेणी गाउँपालिकाका ११ जना नागरिकको अवस्था पत्ता लगाउन गाउँपालिकाको प्रतिनिधिमण्डल प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा पठाउने निर्णयसमेत गरेको छ । अध्यक्ष रावतका अनुसार प्रतिनिधिमण्डल शुक्रबार बिहान करिब ८ बजे प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्ने तयारीमा छ । गाउँपालिकाका प्रतिनिधिसँगै सम्पर्कविहीन नागरिकका आफन्तलाई समेत खोजी कार्यमा सहभागी गराइने उनले बताए ।

प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार