२०८३ भदौ ११ , बिहीबार 27, August 2026, Thursday

क्षणभरमै भोटेकोशीको बाढीमा बिलायो ढुङ्गे बजार

किस्पाङ–५, नयाँपुल नुवाकोटस्थित ‘त्रिशूली थ्री बी’मा कार्यरत ३२ वर्षीय सुरज श्रेष्ठ बिहान ९ बजे विद्युत् आयोजना निर्माणस्थलबाट निस्किँदा बाढी आउने कुनै सङ्केत पाएका थिएनन् । करिब तीन किलोमिटरमुनि ढुङ्गे बजारतर्फ नपुग्दै बाढीले पछ्याएको दृश्य देखेपछि उनी सहकर्मी गणेश प्रसाईंसँगै उकालो लागे ।

बाढीको दृश्य र आवाजले त्रसित बनेका उनीहरू दुवै जना करिब चार किलोमिटर वनै वनको यात्रा गरेपछि बट्टार बजार आइपुगे । उनीहरू दुवै जना त्रिशूली थ्री ‘बी’मा कार्यरत अन्य सहकर्मीको अवस्थाबारे बुझ्न विदुरस्थित श्री नं.१ मैथली ब्यारेक अगाडि अपराह्न १ बजेदेखि नै पर्खिएका थिए, तर साँझ ७ बजेसम्म पनि उनीहरूले आशाका कुनै खबर पाएनन् ।

चार दर्जनभन्दा बढी व्यक्ति राति करिब ८ बजेसम्म ब्यारेक अगाडि सम्पर्कमा नरहेका आफन्त तथा परिवारजनबारे नेपाली सेनाका अधिकारीसमक्ष जानकारी गराएका छन् । मैथली ब्यारेकका अनुसार त्रिशूली बजार वरिपरिका क्षेत्रबाट बुधबार साँझ ६ बजेसम्म ३९ जनाको उद्धार गरिएको छ । उनीहरूको गणमै प्राथमिक उपचार गरिएको छ ।

सघन उपचारको आवश्यकता भएकालाई काठमाडौँ पठाइएको छ । भोटेकोशी नदीमा आएको बाढीबाट रसुवापछि सबैभन्दा बढी क्षति नुवाकोटमा भएको आकलन गरिएको छ । सशस्त्र प्रहरी १ नं. गुल्म, ढुङ्गे बजार विदुर–१ का प्रहरी सहायक निरीक्षक रूपेश रायका अनुसार ढुङ्गे बजारका करिब ४५ वटा घर त्रिशूलीको बाढीमा पुरिएका छन् ।

उनले भने, ‘करिब ९ बजेर १० मिनेटबाट माइकिङ सुरु गर्यौं । ढुङ्गे बजार खाली गराउँदै पुलपारि त्रिशूली बजारबाट फर्किनै लाग्दा हामी अगाडि अगाडि बाढी पछाडि पछाडि आयो । केही सेकेन्डकै अन्तरमा पुल बगाएर लग्यो । साढे दुईतले भवन केही समयभित्रै पुरिए ।’ त्रिशूली बजारमाथि त्रिभुवन मावि र मदरसासमेत बाढीले पुरिएको छ ।

विदुर–२, सिलट्याङ्कीका ४९ वर्षीय किशोरी विश्वकर्मा घरको भुइँतलामा बसिरहँदा अचानक बाढी आएपछि निस्किन खोजे, तर उनी बेपत्ता भएका छन् । बिहानै घरायसी सामान किन्न बट्टार बजार निस्केका विश्वकर्माका ३० वर्षीय छोरा मिलन विश्वकर्माले भने, ‘बुवा रुख समातेर बाँच्नुभयो । अगाडि अगाडि रहेकी आमाको खबर छैन । बहिनी भने बिहानै कलेज हिँडेकी भएर बाँचिन् ।’

बाढीले ढुङ्गे हुँदै त्रिशूली बजार, वेत्रावतीबाट टिमुरेसम्म भोटेकोशी र त्रिशूली नदीको उत्तरपूर्वका करिब पाँचदेखि आठ सय मिटरसम्मका बस्ती बगाएको छ । ढुु्ङ्गे बजारमाथिको भाग सम्पर्कविहीन छ । ढुङ्गे बजारमुनिको सिमचौर (सुकुमवासी) बस्तीसमेत बाढीले बगाएको छ । प्रभावितस्थल ढुङ्गे बजार पुगेका बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीले बजारभन्दा माथि सम्पर्कबिच्छेद रहेको र तत्काल स्थलमार्ग हुँदै राहत तथा उद्धारका कार्य गर्न लगभग असम्भव रहेको बताए ।

ढुङ्गे बजारदेखि माथि करिब ४५ किलोमिटर पक्की सडक क्षतिग्रस्त छ भने १९ वटा मोटरेबल पुल बगेका छन् । माथिका घर, होटेल, विद्यालय, पसल नराम्ररी प्रभावित भएका छन् । प्रहरी नायब महानिरीक्षक रेग्मीले भने, ‘मानवीय क्षतिको आकलन र अनुमान छैन । भौतिक क्षति अत्यधिक भएको छ ।’ स्थलमार्गबाट हुने राहत र उद्धार कार्यमा निरन्तरको वर्षाका कारण कठिनाइ उत्पन्न भएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ११ गते बिहीबार