२०८३ भदौ ७ , आइतबार 23, August 2026, Sunday

विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ घर पाएका छन् । गरिबीका कारण आफ्नो लगानीमा घर निर्माण गर्न नसक्ने तीन विपन्न परिवारलाई नगरपालिकाले प्रतिपरिवार रु पाँच लाख लगानी गरेर दुई कोठा भएको एकतले भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएको हो ।

लामो समयदेखि जीर्ण घरमा बसोबास गर्दै आएका हलेसी तुवाचुङ नगरपालिकाका–२ डिकुवाका देशवीर राई र हलेसी तुवाचुङ नगरपालिकाका–६ मङ्गलटारका भया दमाई तथा घरविहीन अवस्थाका वडा नं १० अर्खौले निवासी टेकबहादुर सार्कीलाई नगरपालिकाले घर निर्माण गरेर हस्तान्तरण गरेको छ ।

घर नभएका कारण लामो समयदेखि कष्टकर जीवन बिताइरहेका तीन विपन्न परिवारलाई नगरपालिकाले भूकम्प प्रतिरोधी नयाँ घर उपलब्ध गराएपछि हर्षित भएका छन् । वृद्ध दम्पत्तिमात्र रहेका डिकुवाका देशवीर राईको परिवार यसअघि जीर्ण कटेरोमा बस्दै आएको थियो । लामो समयदेखि असुरक्षित कटेरोमा बस्दै आएका वृद्ध दम्पतीका लागि नगरपालिकाले नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको हो ।

मङ्गलटारका चामे दमाईं र भया दमाईं दाजुबहिनीको पीडा उस्तै रहेको थियो । अपाङ्गता भएका दमाईं दाजुबहिनीका लागि पनि नगरपालिकाले भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको हो । अर्खौलेमा जन्मिएका टेकबहादुरको परिवार अघिल्लो वर्षको भदौमा आफ्नो गाउँ फर्किएका थिए ।

करिब १२ वर्षदेखि गाउँ बाहिर विभिन्न ठाउँमा बस्दै आएका टेकबहादुरको परिवार दिक्तेल बस्दै आएको समयमा १२ वर्षीया छोरी मृत भेटिएपछि गाउँ फर्केर अर्खौलेमा अरुको घरमा आश्रय लिएर बस्दै आएका थिए । गाउँ फर्किएको समयमा सार्की परिवारलाई नगरपालिकाले खाद्यान्न र केही नगदसमेत सहयोग गरेको थियो ।

सार्कीको परिवार गाउँमै बसेर जीविकोपार्जन गर्न चाहे पनि घर नहुँदा समस्यामा परेका कारण नगरपालिकाले नयाँ घर निर्माण गरिदिएको हो । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत तीन परिवारलाई भूकम्प प्रतिरोधी दुईकोठे घर निर्माण गरेर हस्तान्तरण गरिएको नगर प्रमुख विमला राईले जानकारी दिएका छन् ।

‘नगरपालिकाभित्रका नागरिकको सुरक्षित आवासको सुनिश्चितता गर्न तीन विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेका छौँ । आफ्नो घर अभावमा अरुको सहारामा बस्दै आएका सबै परिवारलाई सुरक्षित आवासको सुनिश्चितता कायम गरिनेछ,’ नगर प्रमुख राईले भनिन् ।

राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्लामा अस्थायी रुपमा बसोबास गर्दै आएको अवस्थामा घरटहरा हटाइएपछि विस्थापित नगरवासीलाई घर निर्माण गरिदिने निर्णय गरिएको छ । उनले नगर बाहिर बसेको अवस्थामा सरकारले घरटहरा भत्काइदिएपछि विस्थापित बनेका तीन परिवारले पुनःस्थापनाका लागि आफ्नै नगरपालिकामा घर निर्माण गरिदिन निवेदन दिएका छन् ।

विस्थापित परिवारहरु आफ्नो नगरपालिका फर्किएर स्थायी रुपमा बसोवास गर्न चाहेको खण्डमा उनीहरुका लागि रु पाँच लाख बराबरको लगानीमा भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने नगरपालिकाले जनाएको छ ।

पुनःस्थापित हुन चाहने घरपरिवारका लागि घर निर्माण गर्न उनीहरुको नाममा जग्गा भने हुनुपर्ने बताइएको छ । नगरपालिकाको १३६औँ कार्यपालिकाको बैठकले विपन्न तीन परिवारलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार