२०८३ भदौ ७ , आइतबार 23, August 2026, Sunday

बाढीपहिरोले पढाइ अवरुद्ध, पहिरोको जोखिममा छात्रावास

बाढीपहिरोले स्थानीयवासीको घरबारी बगाएपछि सुरक्षित स्थानका रूपमा पीडितहरूलाई विद्यालयमा बसोबासको व्यवस्था गरिँदा विद्यार्थीहरूको पठनपाठन रोकिएको छ ।

जाजरकोटमा गत साउन २९ गते आएको अविरल वर्षासँगैको पहिरोले भेरी नगरपालिका–२, रिसाङमा चार जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए ।

पहिरोबाट विस्थापित परिवारलाई केही समयका लागि त्रिभुवन आधारभूत विद्यालय रिसाङ, विष्णु प्रावि दारनेटा, नरज्योति प्राथमिक विद्यालय कल्याणपुरमा राखिएको छ । यहाँका विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ ।

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले विकल्प केही नभएपछि विद्यालयलाई तत्काल अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्दा विद्यार्थीको पठनपाठनमा समस्या भएको बताए ।

नजिकको बस्तीसमेत जोखिममा रहेकाले एक मात्र सुरक्षित स्थलका रूपमा विद्यालय प्रयोग गरिएको उनको भनाइ छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले कुनै पनि बस्ती पहिरोबाट सुरक्षित नरहेकाले तत्कालका लागि विद्यालयमा पीडितहरूलाई राखिएको बताए ।

भेरी नगरपालिका शिक्षा तथा खेलकुुद शाखा प्रमुख प्रमोद विष्टले विद्यार्थीको पठनपाठन यतिन्जेल अवरुद्ध भए पनि आगामी सातादेखि विद्यालयमा पठनपाठन नियमित हुने बताए । गाउँमा बाढीपहिरोको त्रास छ । धेरैको मृत्युसमेत भएको छ ।

त्रिभुवन आधारभूत विद्यालय रिसाङका प्रअ कर्णबहादुर शाही यतिबेला पठनपाठनको वातावरण नभएको र उनीहरूलाई केही दिन सामाजिक मनोपरामर्श दिएर मात्र विद्यालयमा पर्काउनुपर्ने बताउँछन् । भेरी नगरपालिका १, २, ३ र ४ नम्बर वडामा गएको बाढीपहिरोले त्यहाँका करिब चार सय घरपरिवार विस्थापित भएका थिए ।

पहिरोको जोखिममा छात्रावास

यस्तै हुम्लाको ताँजाकोट गाउँपालिका–५ को मदानादेव माविको जगनजिकै दुई पटक गएको पहिरोबाट उच्च जोखिममा रहेको विद्यालयको छात्रावासमा अहिलेसम्म पनि विद्यार्थीहरू बस्न बाध्य छन् । जोखिम भए पनि अन्य विकल्प नहुँदा विधार्थीहरू यहीँ बस्न बाध्य भएका हुन् ।

गत बुधबार गएको पहिरोले केही भाग बगाएको भए पनि शनिबार बिहान गएको पहिरोले छात्रावास भवनको जग नजिकै बगाएपछि जोखिम बढेको छ । पानी पर्न सुरु भएपछि कतिबेला के हुन्छ भन्न सकिँदैन ।

छात्रावासका वार्डेन जीवन ढकालका अनुसार भवनको सुरक्षाका लागि लगाइएको ग्याबिन वाल र घेरबारसमेत बगाएको छ । एक वर्षअघि निर्माण सम्पन्न भएको छात्रावासमा कक्षा ६ देखि १० सम्मका विद्यार्थी लगायत ४६ जना बस्दै आएका छन् ।

छात्रावास जोखिममा रहेको जानकारी वडाध्यक्ष, प्रहरी, अभिभावक, विद्यालय व्यवस्थापन समिति सबैलाई जानकारी गरिसकेको र केही समयका लागि विद्यार्थीहरूलाई अन्यत्र बासको लागि आग्रहसमेत गरेको उनले बताए ।

शनिबार बिहान छात्रावास भवनको छेउमै पहिरो गएपछि जोखिम देखिएकै अवस्थामा रहेका विद्यार्थीहरू पनि डराएको उनले बताए । यहाँको दुईतले २० कोठे भवन र शौचालय पहिरोको जोखिममा छ ।

भत्किएका विद्यालय पुनःनिर्माण

यता रुकुम पश्चिममा भूकम्पले भत्किएका २७ वटा सामुदायिक विद्यालय भवन पुनःनिर्माण गरिएको छ । २०८० कात्तिक १७ गते जाजरकोट भूकम्पबाट क्षतिग्रस्त भएका भवनहरूको कर्णाली प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालयमार्फत पुनःनिर्माण गरिएको हो ।

पूर्वाधार विकास कार्यालय चौरजहारीका प्रमुख रामचन्द्र बिसीका अनुसार रुकुम पश्चिममा पुनःनिर्माणका लागि छनोट भएका ४३ विद्यालयमध्ये २७ विद्यालय भवन पुनर्निर्माण भएका छन् । बाँकी १६ विद्यालय चालु आवमा पुनःनिर्माणको प्रव्रिmयामा रहेका छन् ।

क्षतिग्रस्त भवन पुनःनिर्माण कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ बमोजिम आव २०८१–०८२ र २०८२–०८३ मा विनियोजित बजेटबाट यी भवन पुनर्निर्माण भएका हुन् ।

कार्यालय प्रमुख बिसीले यी दुई आर्थिक वर्षमा रुकुम पश्चिमका छ वटै स्थानीय तहमा भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाको पुनःनिर्माण कार्यक्रम अन्तर्गत ३८ करोड ५० लाख रुपियाँ प्रदेश सरकारले विनियोजन गरेको जानकारी दिए ।

सोही रकमबाट २७ वटा सामुदायिक विद्यालय भवन, पाँच वटा स्वास्थ्य संस्थासमेत निर्माण भएका हुन् । सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले भूकम्पले ढलेका विद्यालयका भवनहरू पुनःनिर्माणसँगै शैक्षिक अवस्था लयमा फर्किन थालेको बताए ।

प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार