रुकुम पश्चिममा गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ । आइतबार बिहान सानीभेरी गाउँपालिका–८, एकान्तकुना नजिक सिम्ली बजारतर्फबाट आएको भे१ज १४४२ नम्बरको विद्युतीय गाडीले ठक्कर दिँदा आमाछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार निवासी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवाली रहेका छन् ।
प्रहरीका अनुसार स्वस्तिकाका श्रीमान् लक्ष्मी सनराइज बैंकको मुसिकोट शाखामा कार्यरत छन् । उनलाई भेटेर फर्कने क्रममा छोरीलाई शौचालय लैजान गाडीबाट ओर्लिएका बेला गाडीले ठक्कर दिएको हो । प्रहरीले दुवै जनाको शव जिल्ला अस्पतालमा राखिएको जनाएको छ ।
ठक्कर दिने गाडी घटनास्थलमै रहेको छ भने चालक सानीभेरी गाउँपालिका–३, चौखे निवासी अमर विकलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
