जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ । हाल देशभर साधारणतया बादल लागेको छ ।
कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी प्रदेशको तराई भू–भागका केही स्थानमा, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
