अन्तर्राष्ट्रिय सहायता कटौतीसँगै खडेरीको मारमा परेको सोमालियामा बाल कुपोषणको संकट थप गम्भीर बनेको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष ’युनिसेफ’का अनुसार सन् २०२६ को पहिलो ६ महिनामा गम्भीर कुपोषणका कारण उपचारमा भर्ना हुने बालबालिकाको संख्या ३२ प्रतिशतले बढेको छ । युनिसेफका अनुसार यस वर्ष सोमालियामा करिब १९ लाख बालबालिका कुपोषणको जोखिममा छन् ।
अन्तर्राष्ट्रिय सहायता घटेपछि २०० भन्दा बढी स्वास्थ्य तथा पोषण केन्द्र बन्द भइसकेका छन् । सहायता निरन्तर घट्दै गएमा देशभर थप ६१८ स्वास्थ्य केन्द्र बन्द हुन सक्ने युनिसेफले चेतावनी दिएको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरले सहायता कटौतीका कारण स्वास्थ्य तथा पोषण सेवा, खानेपानी, शिक्षा र बाल संरक्षणमा पहुँच प्रभावित भएको बताएका छन् । सोमालिया अहिले गम्भीर खडेरीको सामना गरिरहेको छ ।
खडेरीका कारण पशुधन मर्नुका साथै बाली नष्ट हुँदा लाखौं मानिसको जीविकोपार्जन प्रभावित भएको छ । जनवरीदेखि अप्रिलसम्म मात्रै करिब पाँच लाख मानिस खडेरीका कारण विस्थापित भएको सहायता संस्थाहरूको अनुमान छ । हाल सोमालियाको करिब एक करोड ९० लाख जनसंख्यामध्ये एकतिहाइ मानिस गम्भीर खाद्य अभावको सामना गरिरहेका छन् । यसैबीच, गम्भीर कुपोषण नियन्त्रणका लागि केही क्षेत्रमा उपलब्ध हुने आर्थिक सहयोगमा यस वर्ष ८० प्रतिशतभन्दा बढी कमी आएको ‘डाक्टर्स विदाउट बोर्डर्स’ ‘एमएसएफ’ले जनाएको छ ।
सहायता कटौतीका कारण खानेपानीको पहुँचसमेत प्रभावित भएको छ । युनिसेफका अनुसार ग्रामीण तथा पशुपालक क्षेत्रमा पानीको मूल्य चार गुणासम्म बढेको छ । इन्धन तथा मलको मूल्यवृद्धि र आगामी महिनामा सम्भावित शक्तिशाली ‘एल निनो’ प्रभावका कारण बाढीको जोखिम बढ्ने तथा मानवीय संकट थप गहिरिन सक्ने चेतावनीसमेत दिइएको छ । युनिसेफका अनुसार पाँच वर्षमुनिका बालबालिका, किशोरी तथा महिलासहित करिब १० लाख मानिसले आवश्यक पोषण सेवाबाट वञ्चित हुनुपर्ने जोखिममा छन् ।
