२०८३ भदौ ६ , शनिबार 22, August 2026, Saturday

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, चुनौती भने कायमै

खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने जलयातायात प्रभावित भएपछि युरोप र एसियाबिच छोटो दूरीको समुद्री मार्गका रूपमा आर्कटिकको ‘नर्दन सी रुट’ (एनएसआर) प्रति चासो बढेको छ । तर विज्ञहरूले यसको व्यावसायिक सम्भावना निकट भविष्यमा सीमित रहने बताएका छन् ।

जलवायु परिवर्तनका कारण आर्कटिक क्षेत्रमा हरेक वर्ष लामो समयसम्म बरफ पग्लिन थालेपछि चीन र दक्षिण कोरियाका कन्टेनर जहाजहरूले आगामी साताहरूमा रुसी जलक्षेत्र हुँदै एनएसआरको सम्भाव्यता परीक्षण गर्ने तयारी गरेका छन् । यद्यपि, उद्योग विज्ञहरूका अनुसार यसले निकट भविष्यमा विश्वव्यापी समुद्री ढुवानीको ठूलो हिस्सा परम्परागत मार्गबाट विस्थापित गर्ने सम्भावना कम छ ।

यमनका हुथी विद्रोहीहरूले लाल सागर र बाब अल–मन्देब जलसन्धि क्षेत्रमा व्यापारिक जहाजमाथि आक्रमण गरेपछि धेरै ढुवानी कम्पनीले स्वेज नहरको मार्ग प्रयोग गर्न छाडेका छन् । उनीहरूले अफ्रिकाको दक्षिणी भागस्थित ‘केप अफ गुड होप’ हुँदै जहाज सञ्चालन गर्दा एसिया र युरोपबिचको यात्रा समय, इन्धन खर्च र कार्बन उत्सर्जन बढेको छ ।

यसको तुलनामा एनएसआर प्रयोग गर्दा स्वेज नहरको तुलनामा दूरी ३० देखि ४० प्रतिशतसम्म र केप अफ गुड होप हुँदै जाने मार्गको तुलनामा करिब आधा घटाउन सकिने क्रेडिट बीमा समूह ‘कोफेस’ ले जनाएको छ । तर, फ्रान्सको सेन्ट–नाजेरस्थित हायर इन्स्टिच्युट अफ मेरिटाइम इकोनोमिक्स (आइएसइएमएआर) का निर्देशक पल टुरेटका अनुसार एनएसआर मुख्यतः अगस्टदेखि अक्टोबरसम्म मात्र प्रयोग गर्न सकिन्छ ।

साथै, बरफमा सञ्चालन गर्न सकिने विशेष ‘आइस–क्लास’ जहाज आवश्यक पर्ने भएकाले लागत पनि बढी हुन्छ । यसका कारण ठूला कन्टेनर जहाजहरूका लागि यो मार्ग आकर्षक नहुन सक्छ । फ्रान्सेली समुद्री ढुवानी विशेषज्ञ जेरोम डे रिकल्सका अनुसार यसै महिना निङ्बोबाट युरोपतर्फ एनएसआर हुँदै यात्रा सुरु गरेको चिनियाँ कन्टेनर जहाज ‘दुबई टावर’को क्षमता ठूला कन्टेनर जहाजको तुलनामा करिब एक–दशांश मात्र छ ।

एनएसआर हुँदै यात्रा गर्ने अधिकांश कन्टेनर जहाजलाई रुसी आणविक शक्तिबाट सञ्चालित आइसब्रेकरको सहयोग आवश्यक पर्छ । बीमा समूह ‘एलियान्ज कमर्सियल’ का अनुसार सन् २०२५ मा २३ वटा जहाजले उक्त मार्ग प्रयोग गरेका थिए, जुन सन् २०२४ को १५ वटाभन्दा बढी हो । तर स्वेज नहर हुँदै दैनिक सञ्चालन हुने जहाजको तुलनामा यो सङ्ख्या निकै कम हो । मध्यपूर्वमा द्वन्द्व जारी रहे पनि सन् २०२६ को पहिलो छ महिनामा दैनिक करिब ३५ वटा जहाजले स्वेज नहर पार गरेका थिए ।

सन् २०२३ मा हुथी आक्रमण सुरु हुनुअघि यो सङ्ख्या दैनिक ५० भन्दा बढी थियो । ‘कोफेस’का अनुसार पूर्वी एसिया, उत्तरी युरोप र उत्तरी अमेरिकाबीच हुने हालको समुद्री व्यापारको बढीमा तीन दशमलव पाँच प्रतिशत मात्र आर्कटिक मार्गतर्फ सार्न सकिने सम्भावना छ । कोफेस अध्ययनकी अर्थशास्त्री इभ बारले सन् २०३० सम्म पनि एनएसआरको व्यावसायिक सम्भावना अत्यन्त सीमित रहने र मुख्यतः कच्चा पदार्थको ढुवानीमा केन्द्रित हुने बताए ।

यद्यपि, तेल तथा तरल प्राकृतिक ग्यास बोक्ने जहाजका लागि यो मार्ग केही हदसम्म आकर्षक हुनसक्ने अध्ययनले देखाएको छ । केही अवस्थामा यस्ता जहाजले ढुवानी लागत ४५ देखि ५० प्रतिशतसम्म घटाउन सक्ने जनाइएको छ । सुक्खा थोक मालवाहक जहाजले पनि आइसब्रेकरको सहयोगमा यो मार्ग प्रयोग गर्न सक्ने सम्भावना छ । तर आर्कटिक क्षेत्रमा बढ्दो जलयातायातले वातावरणीय जोखिम निम्त्याउने चिन्ता पनि छ ।

जहाजबाट निस्कने कालो कार्बनले सूर्यको ताप सोस्ने भएकाले बरफ पग्लिने क्रम तीव्र हुनसक्छ । तेल चुहावटको जोखिम पनि उत्तिकै चिन्ताको विषय हो । फ्रान्सको सीएमए–सीजीएम, स्विट्जरल्यान्डको एमएससी र जर्मनीको हापाग–लोयड लगायत ठूला पश्चिमी ढुवानी कम्पनीले उत्तरी समुद्री मार्ग प्रयोग नगर्ने प्रतिबद्धता जनाइसकेका छन् । समग्रमा एनएसआरले विश्वव्यापी व्यापारको वर्तमान संरचनामा ठूलो परिवर्तन ल्याउने सम्भावना नरहेको बारले बताए ।

उनका अनुसार रूस, चीन र अमेरिकाबिच बढ्दो रणनीतिक प्रतिस्पर्धाका कारण आर्कटिक जलमार्गप्रतिको चासो व्यावसायिकभन्दा राजनीतिक पक्षबाट बढी प्रेरित देखिन्छ । आइएसइएमएआरका टुरेटले पनि चिनियाँ र दक्षिण कोरियाली जहाजका परीक्षण यात्रालाई सीमित महत्वको घटना भन्दै एउटा चिनियाँ कन्टेनर जहाजको यात्राले ‘ध्रुवीय सिल्क रोड’ निर्माण नहुने टिप्पणी गरे ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८३ भदौ ६ गते शनिबार