२०८३ भदौ ६ , शनिबार 22, August 2026, Saturday

‘सुपर एलनिनो’ : नेपालमा ऊर्जा संकटदेखि खडेरीसम्मको चिन्ता

विश्वव्यापी जलवायु परिवर्तनशीलताको प्रमुख चालकका रूपमा रहेको ‘सुपर एलनिनो’का नेपालमा सम्भावित जोखिमबाट ऊर्जा सङ्कट देखिन सक्ने जनाउँदै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । ‘सुपर एलनिनो’का कारण तापक्रम बढ्ने, खडेरीको सम्भावना रहने र यसले पानीको स्रोतमा समेत कमी ल्याउँदा ऊर्जा क्षेत्र सहित समग्र सामाजिक–आर्थिक प्रणालीमा उल्लेख्य प्रभाव पार्न सक्ने जनाइएको छ ।

जलस्रोत, कृषि, ऊर्जा, खाद्य सुरक्षा तथा जनजीविकामा पर्नसक्ने जोखिम न्यूनीकरणका लागि राष्ट्रियस्तरमै पूर्वतयारी आवश्यक रहेकामा यस क्षेत्रका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् । सन् २०२६को अन्त्यदेखि २०२७ को सुरुआतसम्म एल निनो थप सशक्त भई ‘धेरै बलियो’ वा ‘सुपर एलनिनो‘का अवस्थामा पुग्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको प्रारम्भिक भनाइ छ ।

‘सुपर एलनिनो’ सम्बन्धी वैज्ञानिक ज्ञान अभिवृद्धि गर्नु, विगतका एलनिनो जोखिमबाट नेपालले प्राप्त गरेका अनुभव तथा सिकाइको समीक्षा गर्न, मौसमी पूर्वानुमान तथा जलवायु सेवाको उपयोग बढाउन, जलस्रोत, हिममण्डल, कृषि र ऊर्जा क्षेत्रमा पर्न सक्ने प्रभावको मूल्याङ्कन गर्नु तथा आवश्यक नीति, अनुसन्धान र संस्थागत समन्वयका प्राथमिकता पहिचान गर्न सरोकारवाल निकायबीच छलफल सुरु हुन थालेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले एलनिनोको सम्भावित जोखिमका बारेमा अनुसन्धानकर्ता तथा कार्यान्वयनमा सङ्लग्न निकायलाई एउटै मञ्चमा ल्याएर छलफल गर्नु महत्वपूर्ण भएको बताए । उनले जलवायु तथा मौसम सम्बन्धी तथ्याङ्कमा तापक्रम, वर्षा, नदीको बहाव र पूर्वानुमानको चर्चा हुने गरे पनि ती तथ्याङ्कको प्रत्यक्ष सम्बन्ध नागरिकको जीवन, जीविकोपार्जन र अर्थतन्त्रसँग रहेको बताए ।

सचिव दवाडीले भने, ‘धान रोप्नका लागि बीउ र मलको व्यवस्थापन गरिसकेको किसानले समयमा सिँचाइ नपाउँदा त्यसको असर वर्षाको तथ्याङ्कमा मात्र सीमित हुँदैन, यसले उसको समय, आम्दानी, उत्पादन र परिवारको जीविकामा असर पार्छ ।’ उनले पहाडी क्षेत्रमा पानीका मुहान सुक्दै जाँदा स्थानीय समुदायले पानीका लागि थप समय र श्रम खर्च गर्नुपर्ने तथा नदीको बहाव घट्दा जलविद्युत् उत्पादनमा प्रत्यक्ष असर परी ऊर्जा सुरक्षामा चुनौती थपिने सक्ने जोखिम रहेको जानकारी दिए ।

उनले भने, ‘एलनिनो मौसमविद्को मात्र विषय होइन, यो विकास, जीविकोपार्जन र अन्ततः मानव जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो ।’ नेपाल जलवायु परिवर्तनका दृष्टिले जोखिममा रहेको उल्लेख गर्दै सचिव दवाडीले मुलुकमा वार्षिक करिब २२५ अर्ब घनमिटर पानी उपलब्ध भए पनि यसको समयगत र स्थानगत वितरण असमान रहेकाले कृषि अझै मनसुनमा निर्भर रहेको जानकारी दिए । उनले नेपालको ऊर्जा प्रणालीमा जलविद्युत्को भूमिका निरन्तर बढ्दै गएको र हिमाल, हिमनदी तथा हिमाली क्षेत्र नदी प्रणाली र जल सुरक्षाका महत्वपूर्ण आधार रहेको उल्लेख गरे ।

सचिव दवाडीले नेपालमा विगतका एल निनो वर्षमा वर्षा घट्ने वा बढ्ने दुवै प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले एलनिनो देखिँदैमा नेपालमा निश्चित रूपमा कस्तो मौसम हुन्छ भन्ने निर्धारण नहुने बताए । जल तथा ऊर्जा आयोगको सचिवालयका सरजुकुमार वैद्यले एलनिनो महासागरमा हुने मौसमी फेरबदल मात्र नभई नेपालको जलस्रोत र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्नसक्ने जलवायुजन्य जोखिम भएको जानकारी दिए ।

उनले भने, ‘विगतका अध्ययन तथा तथ्याङ्कले एल निनो र नेपालको वर्षाबीच सम्बन्ध देखाएको उल्लेख गर्दै उनले एलनिनोका धेरै वर्षमा नेपालमा मनसुन कमजोर भई कम वर्षा भएको इतिहास रहेको छ । कमजोर मनसुनका कारण भूमिगत जल पुनर्भरण घट्ने, पहाडी क्षेत्रका मूल तथा धाराहरू सुक्ने तथा बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रमा हिउँ र हिमनदी पग्लने दर तीव्र हुनसक्छ ।’

नेपालको ८० प्रतिशतभन्दा बढी विद्युत् उत्पादन नदीको बहावमा आधारित जलविद्युत् आयोजनामा निर्भर रहेको उल्लेख गर्दै वैद्यले नदीको बहाव घट्दा विद्युत् उत्पादनमा कमी आई राष्ट्रिय विद्युत् प्रणालीको सन्तुलनमा चुनौती आउन सक्ने बताए । सचिवालयका सहसचिव टिकाराम बरालले सुपर एलनिनोको सम्भावित प्रभावलाई सम्बोधन गर्न ठोस कार्ययोजना निर्माणका लागि गोष्ठीले सहयोग पुग्ने बताए ।

उनले वैज्ञानिक पूर्वानुमान, जोखिम मूल्याङ्कन र सम्बन्धित क्षेत्रका कार्यान्वयन निकायबीचको समन्वयलाई प्रभावकारी बनाएर पूर्वतयारीका काम अघि बढाउनुपर्नेमा जोड दिए । गोष्ठीमा सुपर एलनिनोका कारण नेपालमा पानी, खाद्य, ऊर्जा तथा विपद् व्यवस्थापनका क्षेत्रमा पर्नसक्ने सम्भावित प्रभाव, जोखिम न्यूनीकरणका उपाय, पूर्वानुमानको प्रयोग तथा संस्थागत समन्वयका विषयमा छलफल भएको थियो ।

‘एलनिनो बलियो हुँदै जाँदा कम वर्षाको सम्भावना’

जल तथा मौसम विज्ञान विभागले एलनिनोको अवस्था कमजोरदेखि बलियो हुँदै जाँदा नेपालमा मनसुनका समयमा सामान्यभन्दा कम वर्षा हुने सम्भावना बढ्दै गएको जनाएको छ । विभागका महानिर्देशक डा अर्चना श्रेष्ठले एलनिनोको अवस्था अनुसार नेपालका विभिन्न भौगोलिक तथा प्रदेशगत क्षेत्रमा वर्षाको प्रवृत्ति फरक देखिए पनि बलियो एल निनोको अवस्थामा अधिकांश क्षेत्रमा सामान्यभन्दा कम वर्षाको अवस्था देखिने बताइन् ।

उनका अनुसार कमजोर एल निनोका अवस्थामा मनसुन अवधिमा ८० प्रतिशतभन्दा बढी स्थानमा सामान्यभन्दा कम वर्षा हुने प्रवृत्ति देखिएको छ । प्रदेशगत विश्लेषणमा मधेस र बागमती प्रदेशमा यस्तो सम्भावना ६६ प्रतिशत तथा कर्णाली प्रदेशमा शतप्रतिशतसम्म देखिएको उनले बताइन् । महानिर्देशक डा श्रेष्ठले भनिन्, ‘कमजोर एलनिनोमै पनि धेरैजसो ठाउँमा सामान्यभन्दा कम वर्षा देखिन्छ । बलियो एलनिनो हुँदा त अधिकांश क्षेत्रमा सामान्यभन्दा कम वर्षा हुने अवस्था देखिन्छ ।’

प्रकाशित मिति : २०८३ भदौ ६ गते शनिबार