२०८३ असोज ५ , सोमबार 22, September 2026, Tuesday

आजदेखि पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता

पब्जी मोबाइलको आधिकारिक राष्ट्रिय प्रतियोगिता ‘पीएमएनसी’ आज (शनिबार)देखि काठमाडौंमा सुरु हुँदैछ । ई–स्पोट्र्स एसोसिएसन अफ नेपाल (ईशान) र ई–स्पोट्र्स काउन्टीको आयोजनामा प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालका उत्कृष्ट १६ पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) सम्म पुग्ने आधिकारिक प्रतियोगिताका रूपमा रहेको पीएमएनसीमा डीआरएससहित १६ टोली सहभागी हुनेछन् । लोकप्रिय टोली होरा ई–स्पोट्र्स भने यसअघि नै अर्को चरणमा प्रवेश गरिसकेको आयोजकले जनाएको छ । प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको छ ।

विजेताले ४००, उपविजेताले २५० र तेस्रो हुने टोलीले १५० अमेरिकी डलर प्राप्त गर्नेछन् । चौथो र पाँचौँ स्थानमा रहने टोलीले क्रमशः १२० र ८० डलर पुरस्कार पाउनेछन् । प्रतियोगिताबाट शीर्ष १२ टोली ‘२०२६ पब्जी मोबाइल नेशनल च्याम्पियनसिप–साउथ एसिया फल’का लागि छनोट हुनेछन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृतिमा आयोजना हुने प्रतियोगितामा खेलसँगै दर्शकका लागि मनोरञ्जनात्मक कार्यक्रम, गीत–संगीत, फुड स्टल र विभिन्न गेमिङ जोनसमेत राखिएको आयोजकले जनाएको छ । दुई दिनसम्म चल्ने प्रतियोगिताले नेपालका पब्जी मोबाइल खेलाडी तथा ई–स्पोट्र्स टोलीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकको भनाइ छ ।

प्रकाशित मिति : २०८३ भदौ ६ गते शनिबार