२०८३ असोज ७ , बुधबार 23, September 2026, Wednesday

देशभर भारी वर्षा, प्रमुख राजमार्गहरु अवरुद्ध, नदीहरु बाढीको जोखिम

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा भारी वर्षाको सम्भावना रहेको हो । दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ ।

राति कोसी र वाग्मती प्रदेशको पहाडी र तराई भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।

हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस तथा कोसी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती, गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको पूर्वानुमान छ । मधेस तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

१० जिल्लाका प्रमुख राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी र सडक भासिँदा यातायात प्रभावित भएको छ । केही सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने १० जिल्लाका प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ५ बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् । काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ ।

बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइएको छ । मकवानपुरको कान्ति लोकपथ पनि राति ५ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण रूपमा बन्द गरिएको छ । नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारीको राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकिएको छ ।

पहिरोले प्रमुख राजमार्ग अवरुद्ध

इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जम्दा मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । त्यहाँ वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा इकु पहिरो र लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक अवरुद्ध भएको छ । गोसाइकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा बन्द भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा पहिरो खस्दा भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक पनि बन्द भएको छ ।

सिद्धार्थ राजमार्ग र सहिदमार्ग पनि बन्द

रोल्पाको माडी गाउँपालिका–६ झकलीमा रुखसहित पहिरो खस्दा घोराही–थवाङ–रुकुम सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने बिन्दुबाट करिब १०० मिटर उत्तरतर्फ पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ । उक्त स्थानमा आज बिहान भूक्षय भएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण अवरुद्ध सडकमा अझै पहिरो तथा बाढीको जोखिम कायम रहेकाले अवस्था हेरेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न तथा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नसमेत आग्रह गरिएको छ ।

२६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम

बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरुमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाले शनिबार बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरु सतर्कता तहभन्दा तल बगिरहेका छन् ।

कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सतर्कता तहभन्दा तल नै रहेको छ । आगामी तीन दिन कोशी र नारायणी बेसिनका नदीहरुमा जलसतह उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान महाशाखाले गरेको छ। कोशी बेसिनका ससकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी र सुनकोशीमा बहाव उल्लेख्य बढ्नेछ ।

यसैगरी नारायणी बेसिन अन्तर्गत पर्ने नारायणी, त्रिशुली, बुढीगण्डकी, मस्र्याङ्दी, सेती र कालिगण्डकी नदीमा पनि जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ । कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा भने बहाव सामान्य मात्र बढ्ने अवस्था छ ।

ठुला नदीहरुबाहेक देशका विभिन्न जिल्ला भई बग्ने स–साना नदीहरुमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ । शनिबार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र डोटी आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने अवस्था छ ।

यी क्षेत्रका नदीहरुमा ‘आकस्मिक बाढी’ आउन सक्ने भएकाले मध्यम जोखिमको सम्भावना रहेको महाशाखाको भनाइ छ । यसका साथै भोलि र पर्सि गण्डकी तथा लुम्बिनी प्रदेश भई बहने केही स–साना नदीहरुमा समेत बहाव आकस्मिक रुपमा बढ्न सक्ने पूर्वानुमान छ । त्यसैले नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ६ गते शनिबार