२०८३ भदौ ५ , शुक्रबार 21, August 2026, Friday

जीप दुर्घटना हुँदा जाजरकोटमा एक जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । नलगाड नगरपालिका–७ दानेपिपलमा बिहीबार साँझ लु.१ च ८२२७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

डोल्पा–जाजरकोट सडकखण्ड अन्तर्गत नलगाड–९ ताँत्राबाट दल्लीतर्फ आउँदै गरेको जिप अनियन्त्रित भई सडकबाट तल खस्दा नलगाड– १० का २५ वर्षीय बालकृष्ण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

बोहरालाई नगर अस्पताल दल्लीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल, कालागाउँ (सुर्खेत) रिफर गरिएको थियो । अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर खड्काले जानकारी दिए ।

दुर्घटनामा नलगाड नगरपालिका–१० का २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन् । उनीहरूको नगर अस्पताल दल्लीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि जिप चालक नलगाड नगरपालिका–८ हलचौरका २४ वर्षीय विनोद विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ५ गते शुक्रबार