२०८३ भदौ ३ , बुधबार 19, August 2026, Wednesday

७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ भदौ ३ गते बुधबार

हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाउने सरकारको अभियानअन्तर्गत ‘सरकारी कुरियर सेवा’ ७७ वटै जिल्लामा पुगेको छ । साउन २९ गते हुम्लामा जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयबीच सरकारी कागजात घरदैलोमा पुर्याउने सम्झौता भएपछि सेवा सबै जिल्लामा विस्तार भएको हो ।

सरकारको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’अन्तर्गत हुलाकलाई सरकारी कागजात तथा सामग्री ढुवानी र नागरिकको घरदैलोसम्म सेवा पुर्याउने माध्यमका रूपमा विकास गर्न थालिएको हो । साथै सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले हुलाकलाई रूपान्तरण गर्ने कार्यलाई आफ्नो मुख्य प्राथमिकताको काम रहेको बताउँदै आएका छन् ।

हुलाक सेवा विभागका अनुसार भदौ १ गतेसम्म दुई लाख ५१ हजार ५०१ थान राहदानी हुलाकमार्फत जिल्ला प्रशासन कार्यालयमा पुर्याइएको छ । तीमध्ये आठ हजार ७१२ थान राहदानी सेवाग्राहीको घरमै वितरण गरिएको छ । त्यस्तै, यातायात व्यवस्था विभागबाट प्राप्त १० लाख ३८ हजार ८०८ थान सवारी चालक अनुमतिपत्र सातै प्रदेशका यातायात कार्यालयमा पुर्याइएको छ भने एक हजार ९९ थान घरदैलोमै वितरण गरिएको छ ।

कर्णाली प्रदेशमा चालक अनुमतिपत्र घरमै पु¥याउने सेवा सुरु भइसकेको छ भने सुदूरपश्चिममा विस्तारको तयारी भइरहेको छ । नेपाल खुला विश्वविद्यालयसँगको सम्झौतापछि शैक्षिक प्रमाणपत्रसमेत घरदैलोमा पुर्याउने सेवा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयसँग पनि यस्तै सम्झौताका लागि छलफल भइरहेको छ । स्वास्थ्य क्षेत्रमा पनि हुलाकको प्रयोग बढेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा १७ अस्पतालका एक हजार ५१० प्रयोगशाला नमुना, स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रका ४४ हजार १८४ सामग्री र स्वास्थ्य बीमा बोर्डका १४२ बोरा स्वास्थ्य सामग्री ढुवानी गरिएको विभागले जनाएको छ । नेपाल टेलिकमका सिम कार्डबाहेकका सामग्री तथा जग्गाधनी पुर्जा र सरकारी कागजातसमेत हुलाकमार्फत ढुवानी गर्न थालिएको छ ।

सेवा छरितो बनाउन डाँक मार्ग पुनरावलोकन गरी जेठ ३१ गते स्वीकृत गरिएको छ भने हुलाक सङ्केत प्रणालीलाई सात अङ्कीय बनाइएको छ । वैदेशिक हुलाक सेवा सहज बनाउन भन्सार कार्यालय र राष्ट्रिय वाणिज्य बैंकका सेवा बिदाका दिनसमेत सञ्चालन हुने व्यवस्था तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा द्रुत चेकजाँच सेवा लागू गरिएको छ ।

सरकारले देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’ मा रूपान्तरण गर्ने क्रममा ५० वटा कार्यालय छनोट गरेको छ । साथै, सुरक्षण मुद्रण केन्द्रसँगको सहकार्यमा ३४ लाख ७४ हजार थान हुलाक टिकट छपाइ गरिएको छ । हुलाकको आन्तरिक निगरानी प्रणालीलाई राहदानी विभागसँग प्रत्यक्ष जोड्ने विषयमा अध्ययनसमेत अघि बढाइएको विभागले जनाएको छ ।

यससँगै औषधिजन्य सामग्री ढुवानी, द्रुत हुलाक, पार्सल तथा पत्र सेवा विस्तार र सङ्घ, प्रदेश तथा स्थानीय तहसँग सहकार्य बढाएर हुलाकलाई सरकारी सेवा तथा सामग्री घरदैलोसम्म पुर्याउने आधुनिक सार्वजनिक सेवा प्रणालीका रूपमा विकास गर्ने सरकारको योजना छ ।

प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार