२०८३ भदौ ३ , बुधबार 19, August 2026, Wednesday
विचार

रास्वपाको स्वीकारोक्ति : लहरदेखि संस्थागत परिपक्वतासम्म

दलभित्र आन्तरिक लोकतन्त्र, पारदर्शी निर्णय प्रक्रिया र सक्षम नेतृत्वको चयन सुनिश्चित गर्दै जनताप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिनु नै नवगठित दलहरूको दिगो भविष्यको आधारशिला हो ।
गणेश अम्गाईगणेश अम्गाई । काठमाडौं । २०८३ भदौ ३ गते बुधबार

नेपालको राजनीतिक परिदृश्यमा नयाँ दलहरूको उदय र तिनले प्राप्त गरेको जनसमर्थनले परम्परागत दलीय संरचनामा ठूलो हलचल ल्याएको छ । पुराना दलहरूप्रतिको व्यापक जनअसन्तोष, कुशासन र निराशाको पृष्ठभूमिमा उदाएका नयाँ शक्तिहरूले चुनावी प्रतिस्पर्धामा उल्लेख्य सफलता हासिल गर्दै संसद् र सरकारसम्मको यात्रा तय गर्न सफल भएका छन् । तर, निर्वाचन जित्नु वा सत्ताको साझेदार बन्नु मात्रै दल परिपक्व भएको प्रमाण होइन । नयाँ राजनीतिक दलहरूका लागि स्थापनाकालीन लहरलाई दीर्घकालीन संस्थागत परिपक्वतामा बदल्नु सबैभन्दा चुनौतीपूर्ण कार्य हो ।

विशेषगरी, विभिन्न पृष्ठभूमि र पुराना दलहरूबाट आएका नेता, सांसद तथा कार्यकर्ताहरूलाई एउटै वैचारिक र सांगठनिक साँचोमा ढाल्नु, फरक कार्यशैलीको समायोजन गर्नु र लहरको राजनीतिबाट माथि उठेर पद्धतिमा आधारित संगठन निर्माण गर्नु आजको मुख्य आवश्यकता हो । नयाँ दलहरूमा देखिने प्रमुख चुनौती भनेको आन्तरिक समायोजन, वैचारिक स्पष्टता र दलीय अनुशासनको अभाव हो । पुराना दलका अभ्यास, व्यक्तिगत महत्त्वाकांक्षा र असंगठित कार्यशैली बोकेर आएका कार्यकर्ताहरूलाई नयाँ दलको भावना र आचारसंहिता अनुसार परिचालन गर्न नसक्दा आन्तरिक किचलो र विचलन पैदा हुन्छ ।

यसका साथै, प्रविधि र डिजिटल युगको प्रभावका कारण भाइरल हुने होडबाजी, असंवेदनशील अभिव्यक्ति र सामाजिक सञ्जालमा पोखिने असन्तुष्टिले दलको गम्भीरता र विश्वसनीयतामाथि प्रश्न उठाएको छ । तसर्थ, नयाँ दलहरूले लहर र पपुलिजम्बाट अघि बढेर परिपक्वता हासिल गर्न सुदृढ सांगठनिक ढाँचा, कडा अनुशासन र स्पष्ट नीतिको अवलम्बन गर्नुपर्छ । दलभित्र आन्तरिक लोकतन्त्र, पारदर्शी निर्णय प्रक्रिया र सक्षम नेतृत्वको चयन सुनिश्चित गर्दै जनताप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिनु नै नवगठित दलहरूको दिगो भविष्यको आधारशिला हो ।

राजनीतिक दल परिपक्व हुने चरण

प्रारम्भिक लहर र स्थापनाको जग – राजनीतिक दल परिपक्वताको यात्रा पहिलो चरण अर्थात् ‘स्थापना तथा लहर चरण’बाट सुरु हुन्छ । विद्यमान राजनीतिक व्यवस्था, पुराना दलहरूको असफलता र जनस्तरमा व्याप्त निराशाका कारण नयाँ विकल्पको खोजी हुन्छ । यही पृष्ठभूमिमा नयाँ दलको उदय भई जनसमर्थन वा चुनावी लहर प्राप्त हुन्छ । यस चरणमा जनताको आक्रोश र परिवर्तनको चाहना नै दलको मुख्य शक्ति हुन्छ । तर, यो लहर अल्पकालीन हुने भएकाले दलले यसलाई तुरुन्तै सांगठनिक जगमा रूपान्तरण गर्नुपर्छ ।

संस्थागतकरण र पद्धतिको विकास – दोस्रो चरण ‘संस्थागतकरण’ हो, जहाँ चुनाव जितेपछि वा संसद्मा पुगेपछि दललाई व्यक्ति केन्द्रित नेतृत्वबाट पद्धति केन्द्रित बनाउने प्रक्रिया सुरु हुन्छ । नयाँ दलहरू प्रायः संस्थापक नेताको व्यक्तित्वमा टिकेका हुन्छन् । यस चरणमा विधान, नियमावली, विभागीय संरचना र कमिटीहरूको निर्माण गरी निर्णय प्रक्रियालाई संस्थागत बनाउनुपर्छ । व्यक्ति भन्दा विधि र नियम ठूलो हो भन्ने मान्यता स्थापित नगरेसम्म दलले परिपक्वताको बाटो समात्न सक्दैन ।

वैचारिक र नीतिगत स्पष्टता – तेस्रो चरण ‘वैचारिक तथा नीतिगत स्पष्टता’ को हो । केवल पुराना दल वा नेताको विरोध गरेर राजनीति लामो समय चल्दैन । दलले आफ्नो स्पष्ट राजनीतिक दर्शन, अर्थनीति, परराष्ट्र नीति र सामाजिक(राजनीतिक दृष्टिकोण तय गर्नुपर्छ । राष्ट्रका जटिल समस्याहरूमा दलको आधिकारिक धारणा के हो भन्नेबारे तल्लो तहका कार्यकर्तासम्म स्पष्टता हुनुपर्छ । वैचारिक स्पष्टताले मात्रै दललाई दीर्घकालीन रूपमा दिशानिर्देश गर्न सक्छ ।

आन्तरिक लोकतन्त्र र समायोजन – चौथो चरण ‘आन्तरिक लोकतन्त्र र समायोजन’ हो । यस चरणमा विभिन्न पृष्ठभूमि र पुराना दलहरूबाट आएका नेता तथा कार्यकर्ताहरूलाई एउटै दलीय संस्कृतिमा ढाल्ने काम हुन्छ । दलभित्र वैचारिक भिन्नतालाई सम्मान गर्दै छलफल र बहसका लागि लोकतान्त्रिक मञ्चहरू उपलब्ध गराइन्छ । फरक–फरक कार्यशैली बोकेका व्यक्तिहरूलाई प्रशिक्षण र अभिमुखीकरण मार्फत नयाँ दलको आचारसंहिता र अनुशासनभित्र समाहित गराइन्छ ।

स्थायित्व र दीर्घकालीन परिपक्वता – अन्तिम तथा पाँचौ चरण ‘स्थायित्व र परिपक्वता’ हो । यस चरणमा पुगेपछि दल सरकारमा हुँदा जिम्मेवार शासन सञ्चालन र विपक्षमा हुँदा रचनात्मक भूमिका निर्वाह गर्न सक्षम हुन्छ । क्षणिक पपुलिजम् वा सस्तो नारा भन्दा माथि उठेर दीर्घकालीन राष्ट्रिय हितका आधारमा नीति निर्माण गरिन्छ । यस चरणमा पुगेको दलले आन्तरिक संकटहरू सजिलै समाधान गर्छ र जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्छ ।

आन्तरिक समायोजन र सांगठनिक सुदृढीकरण

सक्षम नेतृत्वको चयन र उचित जिम्मेवारी – नयाँ दललाई गतिशील र प्रभावकारी बनाउन योग्य, दक्ष र निष्ठावान व्यक्तिहरूको खोजी गर्नु प्राथमिक आवश्यकता हो । विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका सक्षम व्यक्तिहरूलाई दलमा आकर्षित गर्दै उनीहरूको क्षमता अनुसारको उचित जिम्मेवारी दिने परिपाटी बसाल्नुपर्छ । पुराना दलबाट आएका वा नयाँ प्रवेशीहरूलाई केवल भाषण वा पहुँचका आधारमा नभई उनीहरूको विज्ञता र आचरणका आधारमा पदभार दिदा संगठनको कार्यक्षमता अभिवृद्धि हुन्छ ।

सञ्चारमा आधिकारिक धारणा र अनुशासन – महत्त्वपूर्ण र संवेदनशील राष्ट्रिय तथा सामाजिक विषयहरूमा पार्टीका सांसद, नेता तथा कार्यकर्ताले व्यक्तिगत धारणा भन्दा पहिले पार्टीको आधिकारिक दृष्टिकोण पर्खनुपर्छ । दलीय अनुशासन कायम राख्न आधिकारिक निर्णय आएपछि मात्र सार्वजनिक रूपमा बोल्ने परिपाटी बसाल्नु आवश्यक छ । जथाभावी अभिव्यक्ति दिने अभ्यासले पार्टीको छवि धमिल्याउने भएकाले नीतिको स्पष्टता र संगठनको गम्भीरताका लागि आधिकारिक सञ्चार प्रणाली लागू गर्नुपर्छ ।

शीर्ष नेतृत्वबीच द्रुत छलफल संयन्त्र – नयाँ दलमा नीतिगत अस्पष्टता हुनु स्वाभाविक भएकाले जनसरोकारका विषयमा तुरुन्त प्रतिक्रिया दिन शीर्ष नेताहरूको भर्चुअल वा प्रविधिमैत्री समूह (जस्तै ह्वाट्सएप) गठन गरिनुपर्छ । सामाजिक सञ्जालमा उठेका वा राष्ट्रिय राजनीतिमा उत्पन्न मुद्दाहरूमा नेतृत्व तहमा तत्काल छलफल गरी निष्कर्षमा पुग्ने र त्यसलाई आधिकारिक विधिबाट सार्वजनिक गर्ने अभ्यास सुरु गर्दा भ्रम सिर्जना हुन पाउँदैन ।

जिम्मेवार आचरण र सुन्ने बानी – जुनसुकै दलका लागि पनि पहिलो प्राथमिकता जनता र देशप्रतिको जिम्मेवारी हुनुपर्छ । यसका लागि धेरै बोल्ने वा आक्रामक प्रचार गर्ने भन्दा पनि जनताका समस्या, सुझाव र आलोचना ध्यानपूर्वक सुन्ने बानीको विकास गर्नुपर्छ । जनप्रतिनिधि र नेताहरूले आफूलाई शासक नभई सेवकका रूपमा प्रस्तुत गर्दै जिम्मेदार राजनीतिक व्यवहार प्रदर्शन गर्दा मात्र आम नागरिकको वास्तविक विश्वास जित्न सकिन्छ ।

कडा अनुशासन र कारबाहीको व्यवस्था – विधि, विधान र स्थापित पद्धति भन्दा बाहिर गएर गैरजिम्मेवार व्यवहार गर्ने, गुटबन्दी गर्ने वा जथाभावी अभिव्यक्ति दिने जो–कोहीलाई पनि कारबाही गर्न दल पछि पर्नु हुँदैन । आन्तरिक नियमको उल्लंघनले संगठनलाई कमजोर बनाउने भएकाले अनुशासनहीनताप्रति शून्य सहनशीलताको नीति अपनाउनु अनिवार्य हुन्छ । निष्पक्ष र कडा अनुशासन संयन्त्रले नै दललाई सुशासित बनाउँछ ।

डिजिटल युग र सार्वजनिक व्यवहार

डिजिटल आचारसंहिता र साक्षरता – डिजिटल युगमा भाइरल हुने होडबाजी, सस्तो लोकप्रियता र असंवेदनशील अभिव्यक्तिलाई नियन्त्रण गर्न पार्टीले कडा सामाजिक सञ्जाल आचारसंहिता लागू गर्नुपर्छ । साथै, सार्वजनिक पदमा रहेका व्यक्तिहरूका लागि मिडिया साक्षरता, तथ्य जाँच र जिम्मेवार डिजिटल संवादबारे नियमित प्रशिक्षण दिनुपर्छ । यसले क्षणिक प्रचारका लागि पार्टीको गम्भीरतामाथि आँच आउन दिदैन ।

आन्तरिक असन्तुष्टिको आन्तरिक व्यवस्थापन – लोकतान्त्रिक दलभित्र वैचारिक भिन्नता र असन्तुष्टि हुनु स्वाभाविक हो । तर, त्यस्ता असन्तुष्टिहरूलाई फेसबुक वा अन्य सामाजिक सञ्जालका पानामा पोख्नुको सट्टा पार्टीको आधिकारिक आन्तरिक मञ्च र बैठकहरूमा छलफल गर्ने वातावरण बनाउनुपर्छ । सार्वजनिक रूपमा दलको छवि बिगार्ने परिपाटीलाई रोक्न आन्तरिक संवादका लागि सुरक्षित डिजिटल वा सांगठनिक मञ्चहरू उपलब्ध गराउनुपर्छ ।

जनप्रतिनिधि र नागरिक स्वतन्त्रताको सीमा – सामान्य नागरिकका रूपमा पाइने अनियन्त्रित अभिव्यक्ति स्वतन्त्रता र जनप्रतिनिधि वा दलीय पदमा रहँदा पालना गर्नुपर्ने मर्यादा बीच ठूलो भिन्नता हुन्छ । सार्वजनिक पदमा पुगेपछि हरेक निर्णय र अभिव्यक्तिमा जिम्मेवारी, परिपक्वता र कानुनी सीमा झल्किनुपर्छ । पदीय दायित्व बुझेर मात्र सार्वजनिक जीवनमा प्रस्तुत हुने संस्कार बसाल्नु डिजिटल युगको प्रमुख आवश्यकता हो ।

कार्यसम्पादनको मापदण्ड परिवर्तन – नेता तथा कार्यकर्ताको मूल्याङ्कन सामाजिक सञ्जालको ‘लाइक’, ‘भ्यूज’ र ‘फलोअर्स’ का आधारमा नभई संसद्, नीति निर्माण, संगठन निर्माण र जनताको सेवामा पु¥याएको वास्तविक योगदानका आधारमा गर्ने परिपाटी लागू गर्नुपर्छ । भर्चुअल उपस्थितिलाई नै सफलता ठान्ने भ्रमबाट मुक्त भई वास्तविक धरातलमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।

संकट नियन्त्रण र धैर्यताको विकास – सामाजिक सञ्जालमा कुनै अफवाह वा भ्रम फैलिन बित्तिकै दलको डिजिटल टोलीले तुरुन्तै तथ्य सार्वजनिक गरी स्थिति नियन्त्रणमा लिने दक्ष संयन्त्र तयार राख्नुपर्छ । आलोचना आउनासाथ उत्तेजित भएर प्रतिक्रिया दिइहाल्ने वा डिजिटल ट्रेलिङमा उत्रिने सट्टा धैर्यपूर्वक सुन्ने, तथ्य बुझ्ने र परिपक्व निर्णय लिने राजनीतिक संस्कारको विकास गर्नुपर्छ ।

निष्कर्ष तथा सुझाव

नयाँ राजनीतिक दलहरूको उदयले नेपाली राजनीतिमा रूपान्तरण र विकल्पको नयाँ आशा जगाएको छ । तर, प्रारम्भिक चुनावी सफलता र जनलहरलाई दीर्घकालीन संस्थागत परिपक्वतामा बदल्न नसकेमा यस्ता दलहरू छिट्टै ओझेलमा पर्ने वा पुरानै दलहरूको पुनरावृत्ति बन्ने जोखिम रहन्छ ।

विभिन्न पृष्ठभूमिबाट आएका कार्यकर्ताहरूको समायोजन, वैचारिक स्पष्टता र दलीय अनुशासन नै नयाँ दलका लागि परिपक्वताका कसी हुन् । डिजिटल युगको तीव्र प्रभाव र भाइरल संस्कृतिले सिर्जना गरेका चुनौतीहरूलाई सही व्यवस्थापन गर्दै, लहरको राजनीतिबाट माथि उठेर विधि, पद्धति र संस्थागत संरचनामा आधारित राजनीति सञ्चालन गर्नु आजको अपरिहार्य आवश्यकता हो ।

सुझाव १, ‘पार्टी स्कुल’ र निरन्तर प्रशिक्षण – विभिन्न दल र पृष्ठभूमिबाट आएका कार्यकर्ताहरूलाई नयाँ दलको नीति, विचार र संस्कृतिमा ढाल्न अनिवार्य ‘पार्टी स्कुल’ सञ्चालन गरिनुपर्छ । पार्टीमा प्रवेश गर्नासाथ दलीय आचारसंहिता, संसदीय अभ्यास, कानुन निर्माण र सार्वजनिक संवादबारे नियमित अभिमुखीकरण र तालिम दिने व्यवस्था मिलाउनुपर्छ ।

सुझाव २, पद्धतिमा आधारित नेतृत्व र मूल्यांकन – दललाई व्यक्ति वा संस्थापक नेताको प्रभावबाट मुक्त गरी समिति, नियमावली र पद्धतिमा आधारित बनाउनुपर्छ । नेता तथा सांसदहरूको कार्यसम्पादन मूल्याङ्कनका लागि स्पष्ट मापदण्ड बनाई सोही आधारमा जिम्मेवारी र अवसरको बाँडफाँड गर्ने प्रणाली पारदर्शी रूपमा लागू गर्नुपर्छ ।

सुझाव ३, अनुशासन र प्रविधि व्यवस्थापन – सामाजिक सञ्जालमा आन्तरिक विवाद पोख्ने, गैरजिम्मेवार अभिव्यक्ति दिने वा दलीय मर्यादा उल्लंघन गर्नेहरूका लागि शून्य सहनशीलताको नीति अपनाउँदै कडा अनुशासन समिति मार्फत कारबाही गरिनुपर्छ । आन्तरिक असन्तुष्टिका लागि दलभित्रै भर्चुअल वा प्रत्यक्ष छलफलका सुरक्षित मञ्चहरू निर्माण गरिनुपर्छ ।

प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार