नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न प्रमुख सडक र चोकमा फेरि एकपटक ठुलो संख्यामा छाडा चौपाया देखिन थालेका छन् । व्यस्त सडक र चोकमा रहेका छाडा चौपायाका कारण आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्दै गएको स्थानीयको गुनासो छ ।
पछिल्लो समय फेरि धम्बोझी चोक, सुर्खेत रोड, बीपी चोक, भेरी अस्पताल चोक, गणेशमान चोक, पुष्पलाल चोक, त्रिभुवन चोक तथा सदरलाइन क्षेत्रमा छाडा चौपायाको बिगबिगी बढेको बताए । छाडा चौपाया नियन्त्रणका लागि लामो समयदेखि माग र प्रयास गरिए पनि नगरवासीले यस समस्याबाट मुक्ति पाउन नसकेको हो ।
नागरिक अगुवा डा.विनोद कर्णले पनि नगरको व्यस्त बजार र चोकमा फेरि चौपायाको संख्या बढ्दै गएकाले नागरिकलाई आवागमनमा समस्या हुन थालेको बताए । उनले समस्या समाधानका लागि धेरैपटक प्रयास गरिए पनि सफलता नमिलेकोमा दुःख व्यक्त गरे । नगर क्षेत्रमा फेरि ठुलो संख्यामा छाडा चौपाया देखिन थालेपछि नेपालगन्ज उपमहानगरपालिकाले तिनलाई नियन्त्रणमा लिएर कान्जिहाउस पु¥याउने अभियान सुरु गरेको जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले छाडा चौपायाका कारण नगरका विभिन्न स्थानमा समस्या भएको गुनासो आएपछि नियन्त्रण अभियान फेरि सुरु गरिएको बताए । उनले पछिल्लो १५ दिनमा मात्रै नगरका विभिन्न स्थानबाट १५० भन्दा बढी छाडा चौपायालाई नियन्त्रणमा लिएर नेपालगन्ज–२१ मा रहेको कान्जि हाउसमा पुर्याइएको बताए । बेलाबेलामा छाडा चौपायालाई सहरबाहिर रहेको कान्जिहाउसमा लगेर राख्दै आए पनि बजारमा छाडा चौपायाको संख्या घट्न नसकेकाले चिन्ता बढ्दै गएको उपमहानगरपालिकाले जनाएको छ ।
सत्यपाटी