२०८३ भदौ १ , सोमबार 17, August 2026, Monday

तटबन्धपछि भक्ताखोलाको डुबान समस्या अन्त्य

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ साउन ३१ गते आइतबार

बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीस्थित भक्ताखोलामा तटबन्ध निर्माण गरी नयाँ निकास दिइएपछि सो क्षेत्रमा वर्षौँदेखि कायम रहेको बाढी र डुबानको समस्या समाधान भएको छ । विगतका वर्षहरूमा भक्ताखोलाको बाढी गाउँबस्तीमा पसेर ठुलो क्षति पुर्याउने गरेको थियो ।

बाढीलाई बस्तीमा प्रवेश गर्न नदिन जङ्गल क्षेत्रबाटै तटबन्ध निर्माण गरी खोलाको बहाव मोडिएको राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले बताए । उनले भने, ‘हरेक वर्षायाममा ठुलो वर्षा हुनासाथ भक्ताखोलामा आउने बाढीले गाउँबस्तीमा डुबान र कटानको समस्या निम्त्याउने गरेको थियो । यो समस्या समाधान गर्न हामीले खोलामा तटबन्ध निर्माण गरी सुरक्षित निकास दिन सफल भएका छौँ ।’

वडाध्यक्ष थारुका अनुसार अब वर्षायाममा भक्ताखोलाको बाढीले गाउँबस्ती डुबानमा पार्ने समस्या पूर्ण रूपमा अन्त्य भएको छ । उनका अनुसार लुम्बिनी प्रदेश सरकारको ५५ लाख रुपियाँको लागतमा गुरुवागाउँ नजिक रहेको आँपखोली सामुदायिक वन क्षेत्रस्थित चुरे पहाड काटेर भक्ताखोलालाई वन क्षेत्र हुँदै वसन्ता खोलामा मिसाइएको छ ।

तटबन्ध निर्माणपछि भक्ताखोला र चुके नालाबाट आउने बाढी बस्तीभन्दा बाहिरै वसन्ता खोलातर्फ बग्ने भएकाले आधा दर्जन गाउँ सुरक्षित भएका छन् । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भक्ताखोलाले वर्षौँदेखि दिँदै आएको दुःखबाट स्थानीयवासीले अब स्थायी रूपमा राहत पाएको बताए ।

उनले भक्ताखोलाको यो सफल अभ्यास गाउँपालिकाका अन्य वडाका लागि पनि नमुना बन्न सक्ने उल्लेख गर्दै चुरे क्षेत्रका बस्तीका लागि गरिएको डाइभर्सन र तटबन्ध निर्माण विपद् व्यवस्थापनको सकारात्मक उदाहरण भएको बताए । अध्यक्ष पौडेलले भने, ‘राप्ती सोनारी गाउँपालिकामा भक्ताखोलाजस्तै दर्जनौँ खहरेखोला छन्, जसले हरेक वर्ष गाउँबस्ती डुबानमा पार्ने गरेका छन् । ती सबैको दीर्घकालीन समाधानका लागि पनि पहल सुरु गरिसकेका छौँ ।’

ढकेरी बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनालले राप्तीसोनारी–९ का ढकेरी, गुरुवागाउँ लगायत आसपासका बासिन्दालाई हरेक वर्ष सास्ती दिँदै आएको भक्ताखोलामा तटबन्ध निर्माण गरी खोलाको बहाव मोडिएपछि अब डुबानको समस्या नहुने बताए । उनका अनुसार असार–साउन सुरु हुनासाथ भक्ताखोलामा आउने बाढीले स्थानीयको उठिबास लगाउने गरेको थियो ।

तर यस वर्षदेखि वर्षायाममा ढकेरीवासीले यस्तो समस्या भोग्न नपर्ने भएको छ । राप्तीसोनारी–९ का गुरुवागाउँ, खड्काटोल, पहाडीपूर्वा, थारुगाउँ, ढकेरी र पम्पबजारलाई प्रत्येक वर्ष कटान तथा डुबानको जोखिममा पार्दै आएको भक्ताखोलाले अब समस्या नदिने बताउँदै अध्यक्ष खनालले दशकौँदेखिको स्थानीयवासीको चाहना पूरा भएको बताए ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतबार